पञ्चायतलाई जिताउन सूर्यबहादुरको जुत्ति

Share:
  
- भैरव रिसाल
जनमत संग्रहको परिणाम आएको केही समयपछि समाचार खोज्ने क्रममा मन्त्रिपरिषद् सचिवालय पुग्दा आफूले थाहै नपाएको विषयमा प्रधानमन्त्रीबाट जस पाएको थिएँ।

राजा वीरेन्द्रले दरबारियाहरूसँग सल्लाह नै नगरी १० जेठ २०३६ मा जनमत संग्रहको घोषणा गरेका थिए, ‘सुधार सहितको पञ्चायत कि बहुदलीय व्यवस्था ?’ त्यसमा निर्वाचन भएर १ जेठ २०३७ मा परिणाम आइसकेको थियो । म राष्ट्रिय समाचार समिति (रासस) को प्रमुख समाचारदाता थिएँ । महŒवपूर्ण समाचार नभएर दिक्क लागिरहँदा केही भेटिन्छ कि भनेर मन्त्रिपरिषद् सचिवालय गएको थिएँ । मुख्य सचिव भोगेन्द्रनाथ रिमाल बाटैमा भेटिए । समाचार लिन आएको भन्दा उनले एकछिन पर्खन भने । प्रधानमन्त्री सूर्यबहादुर थापाकहाँ गएर भनेछन्, “भैरवजी खबर लिन आइसके ।” तब प्रधानमन्त्री थापा आश्चर्य मान्दै कड्केछन्, “कति चाँडो थाहा पाउँछन् उनी यस्ता कुरा !”

के कुरा हो, मैले त सुइँको समेत पाएको थिइनँ । भएको के रहेछ भने, जनमत संग्रहको घोषणा गरेपछि देशभर व्यापक आन्दोलन भइरहँदा दरबारिया आत्तिइसकेका थिए । एक दिन दरबारमा शाही परिवारको बैठक बोलाइएछ । बैठकमा प्रधानमन्त्री थापा पनि सहभागी थिए । सबै दरबारियाले आफूसँग भएका गहनाका पोका ल्याएछन् र प्रधानमन्त्रीसँग भनेछन्, “जसरी भए पनि पञ्चायतलाई जिताउनुपर्‍यो । कति खर्च लाग्छ, हामीसँग भएका सुनचाँदी ल्याएका छौं ।”

राजा वीरेन्द्र केही नबोली मुसुमुसु हाँसेछन् । राजा नबोलेको अर्थ बुझन सूर्यबहादुर जस्ता चतुर मानिसलाई गाह्रो पर्ने कुरै भएन । थापाले गहनाको प्रस्ताव अस्वीकार गर्दै ‘अहिले यो दुःख नगरौं, म व्यवस्था मिलाउँछु । नपुगे बिन्ती गर्नेछु’ भनेछन् ।

अब थापालाई राष्ट्रिय सम्पत्तिको चरम दुरुपयोग गर्ने इजाजत स्वतः प्राप्त भयो । उनले विकाससँग सम्बद्ध सचिवहरूको बैठक गरी जेजे निकासी–पैठारी गर्ने हो, लाइसेन्स दिएर रकम जम्मा गर्न अह्राए । यो काममा उद्योग वाणिज्य, कृषि, जलस्रोत र सञ्चार सचिवहरू प्रयोग गरिए । ६० लाख क्युविक फिट काठ, आठ हजार टन मुसुरोको दाल, मयूरको प्वाँख, चिनी जस्ता वस्तुका निकासीको भरमार अनुमति दिई थुप्रै रकम जम्मा गरियो । यस्तै, व्यापारमा फाइदा बढाउन अमेरिकी डलरको दुई वटा सटही दर रु.१६.१० र रु.१४.१० बनाइयो । अन्ततः जनमत संग्रहमा ४ लाख २५ हजार ४८७ मत बढी ल्याउँदै पञ्चायतले जित्यो ।

बर्खास्त गर्नू भनिएकालाई पुरस्कार !

राजा वीरेन्द्रलाई लागेछ, निर्दलको लागि पैसा जम्मा गर्न प्रयोग गरिएका ती सचिवहरूले फेरि पनि पैसा उठाएर खान सक्छन्, त्यसैले पदबाट हटाउनुपर्‍यो । उनले प्रधानमन्त्री थापासँग चारै जना सचिवलाई अवकाश दिन भने । सूर्यबहादुरले बिन्ती बिसाएछन्, “यिनलाई जागिरबाट हटाउँदा गोप्य कुरा खोलिदिन सक्छन् । बरु म सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने जुक्ति सोच्छु ।”

प्रधानमन्त्री थापाले ती सचिवहरूलाई राष्ट्रिय योजना आयोगको सह–सदस्य बनाएर थन्क्याउने उपाय निकाले । मर्यादाक्रम बढाउने तर अधिकार शून्य हुने । त्यसै अनुसार मन्त्रिपरिषद्ले निर्णय गर्‍यो । त्यसरी सह–सदस्य हुनेहरूमा पशुपतिप्रताप शाह, शंकरकृष्ण मल्ल, वेदबहादुर खड्का र सूर्यप्रसाद श्रेष्ठ थिए । मल्ल भने सह–सदस्यका साथै आयोगको सचिवमा पनि राखिए ।

मन्त्रिपरिषद्को निर्णय लगत्तै म समाचार लिन पुग्दा प्रधानमन्त्री थापाले ‘कसरी थाहा पायो’ भनेर आश्चर्य मानेका रहेछन् । थाहै नपाएको कुरामा मैले जस पाएँ । मुख्य सचिव भोगेन्द्रजी आएर प्रधानमन्त्रीसँग भएको संवाद मलाई सुनाए । उनले एउटा विज्ञप्ति दिंदै भने, “प्रधानमन्त्रीज्यूले भन्नुभएको छ, यो समाचार जस्ताको तस्तै छाप्नू रे !”

रासस पुगेर समाचार बनाएँ । आकर्षक पनि भयो । समाचारसँगै अन्त्यमा विज्ञप्तिको विवरण पनि राख्ने त्यसबेलाको चलन थियो । पत्रकारिता यात्रामा कहिलेकाहीं यति सजिलै गतिला समाचार भेटिन्छन्, तर खोज्ने हुटहुटी भइरहनुपर्छ । आफूलाई रत्तिभर थाहा नभएका विषयमा पनि स्वयं प्रधानमन्त्रीले ‘यस्ता कुरा उनी कसरी थाहा पाउँछन्’ भनी मलाई सहयोग गरेका छन् ।

comments powered by Disqus

रमझम