२३ भदौ २०७० | 8 September 2013

अभयकुमारको विश्वगान

Share:
  
- अनुशील

हामी मानव हौं, यो संसार हाम्रो घर... गायिका श्रेया सोताङको स्वरमा रेकर्ड भएको भारतीय कवि÷चित्रकार अभयकुमारको यो ‘अर्थ एन्थम’ यू ट्यूब (http://youtu.be/A1feY9L6yLc) मार्फत सार्वजनिक गरिएको छ । विश्वलाई एउटै घर मान्ने यो गीत संसारको सौन्दर्य र मानव जीवनबाट प्रभावित भएर लेखेको काठमाडौंस्थित भारतीय दूतावासमा प्रथम सचिव रहेका अभयकुमार बताउँछन् ।

तीन महीनाअघि काठमाडौंको पर्पल स्टुडियोमा रेकर्ड गरिएको यो विश्वगानका संगीतकार सपन घिमिरे हुन् । यो गीत अंग्रेजी, अरबिक, फ्रेञ्च, रसियन, स्पेनिस, चाइनिज र हिन्दी भाषामा पनि गाइएको छ । गायिका श्रेयाले गीतमा धेरै भाषाका शब्द भएकोले उच्चारणमा निकै मिहिनेत परेको बताइन् । कविताका पाँच र संस्मरणका तीन पुस्तक लेखिसकेका अभयकुमार २०१३ को सार्क रिटलेचर अवार्ड विजेता पनि हुन् । उनको पेन्टिङमा पनि पृथ्वीको सौन्दर्य प्रधान पक्ष हुन्छ ।

नेपाली, भारतीय, चिनियाँ, पाकिस्तानी आदि भनेर फँसिरहेको अभयकुमार बताउँछन् । यसभित्र पनि बाहुन, लिम्बू, गुरुङ, बिहारी, बंगाली, साउथ इन्डियन, एशियन भनेर झन् साँघुरो परिचय निकालिएको बताउने उनी जात, ठाउँ र देशभन्दा माथि अर्को परिचय हुने बताउँछन् । “हामी मानव हौं र संसार हाम्रो घर हो”, उनी भन्छन्, “साँघुरो घेरा माथि विश्व शान्ति ल्याउने ठूलो सामूहिक परिचय छ ।”

आफूलाई ‘ग्लोबलिष्ट’ मान्ने अभयकुमार दक्षिण एशियाली देशका भाषा समेटेर दक्षिण एशिया गान पनि लेखिरहेका छन् । काठमाडौंलाई कला–संस्कृतिको केन्द्र मान्ने उनले यस्ता कार्यक्रमहरुलाई महत्व दिएका छन् । भारतीय दूतावासले हरेक महीना आयोजना गर्ने कविता सम्बन्धी ‘पोयमाण्डु’, नेपाली फिल्म सम्बन्धी ‘सिनेमाण्डु’ र अन्तरक्रियात्मक ‘भ्वाइसेस’ कार्यक्रम उनकै सक्रियतामा शुरु भएका हुन् । अब नेपालगञ्ज, पोखरा, वीरगञ्ज, जनकपुर र विराटनगरमा पनि ‘कल्चर नगरी’ कार्यक्रम चलाउने तयारी भइरहेको जानकारी उनले दिए ।

शब्द/तस्वीरः अनुशील

comments powered by Disqus

रमझम