अलपत्र अनुसन्धान

Share:
  
- राजेन्द्रसिंह भण्डारी
अनुसन्धानको ‘अफ ट्र्याक’ रणनीतिलाई गृह प्रशासनले भिन्न ढंगले बुझिदिंदा ३३ किलो सुन काण्ड अनुसन्धान प्रकरण सफल हुनसकेको छैन।

‘३३ किलो सुन काण्डबारे अनुसन्धानका क्रममा शुरू अदालतले गरेको आदेश नमिलेको, संगठित अपराधको प्रकृति र स्वभावसँग संकलित सबुतको सम्बद्धता नदेखिएकोले घटनामा दोषी देखिएका कतिपय अभियुक्तहरू साधारण तारेखमा छुट्न थालेका छन् । नेपाल प्रहरीकै अनुसन्धानकर्मीबाट संकलित केही तथ्यलाई संग्रह गरी गृह प्रशासन स्वयंबाट अस्वाभाविक रूपमा बहुप्रचारित गरिएको उक्त अनुसन्धानलाई आफूहरूले तार्किक निष्कर्षमा पुर्‍याएको र भविष्यमा सबै ‘ठूला माछा’ पक्राउ गरिने दाबी छानबिन समितिका पदाधिकारीहरूले गरेका थिए । यस्तो दाबी गरेका समितिका सदस्यले लाभको पद हासिल गरे पनि ‘ठूला माछा’ पक्राउ गरी तस्करी र संगठित अपराधको जालो तोडिने भनी गरेको उद्घोष अलपत्र मात्रै होइन, भविष्यमा ‘ठूला माछा’ हरू सोही आपराधिक कार्यमा सक्रिय रहन सक्ने सम्भावना ज्यूँका त्यूँ देखिन्छ ।

‘जो गरजते हैं वो बरसते नहीं’ भनेझैं तत्कालको वाह्वाहीका लागि प्रचारमा ल्याइएको ‘ठूला माछा’ को प्रसंग अहिले भद्दा मजाकको विषय बन्न थालेको छ । गृहमन्त्री स्वयंको सक्रियतामा थालिएको अनुसन्धानको ‘नौलो निजामती अभ्यास’ ले कुनै उपलब्धि हासिल नहुने पूर्वानुमान हामी केही पूर्व प्रहरी अधिकारीले पहिले नै गरेका थियौं । हाम्रो अनुभवमा आधारित रायलाई बहस र छलफलको विषय बनाउनुको सट्टा गृह प्रशासनले उल्टै हामीलाई तर्साउने गरी विज्ञप्ति जारी गर्‍यो ।

यद्यपि हामीले दिवेश लोहनी लगायत केही अनुसन्धान अधिकारीको भूमिकालाई अपराधजन्य कार्यसँग नजोड्न आग्रह गरिरह्यौं । अनुसन्धानका विभिन्न विधि र अपराधीसँगको निगोसिएसनको विषयलाई अन्यथा ढंगले बुझिदिंदा अनुसन्धान संयन्त्रलाई कमजोर बनाउने हाम्रो राय थियो । यसले अनुसन्धानकर्मीको मनोबल खस्कने जोखिम उठाउन नचाहने र समग्रमा नेपाल प्रहरीको अनुसन्धान प्रणाली कमजोर हुनेतर्फ पनि हामीले सचेत गराएका थियौं । त्यसको सान्दर्भिकता अहिले उजागर हुँदै गइरहेको देखिन्छ । संगठित अपराध अनुसन्धान तत्कालै तथ्य स्थापित भइहाल्ने विषय होइन, यो राज्यको यथेष्ट लगानी, तयारी, नेपाल प्रहरी र त्यसको व्यावसायिकताको विकासमा निर्भर रहन्छ ।

जे घटना भएको छ, सोही विषय नै स्थापित नभई अनुसन्धान अघि बढ्न नसक्ने फौजदारी न्याय प्रणाली र अनुसन्धानको सर्वमान्य नियम हो, जसलाई ‘करपस डिलिक्टी’ को सिद्धान्त भनिन्छ । विषयगत र वस्तुगत दुवै रूपमा कायम हुन नगएको ३३ किलो सुनको अनुसन्धानलाई केही तथ्यांकका आधारमा मात्र अघि बढाउन सकिन्न भन्ने बुझेका व्यावसायिक अनुसन्धानकर्मीले अपराधीसँग निगोसिएसन गरेका थिए र यो विषय उनीहरूले तत्कालीन प्रहरी प्रमुखलाई जानकारी समेत गराएका थिए ।

अनुसन्धानको यो ‘अफ ट्र्याक’ को रणनीतिलाई गृह प्रशासनले भिन्न ढंगले बुझिदिंदा वा गृहमन्त्रीमा रहेको द्वन्द्वकालीन ‘ह्याङओभर’ का कारण सिर्जित प्रहरीप्रतिको पूर्वाग्रही सोचले अनुसन्धानलाई विचलनमा पार्‍यो । गृह प्रशासनको यस किसिमको अपरिपक्वताले ३३ किलो सुन मात्रै होइन, संगठित अपराध अनुसन्धानको मर्म नै मर्माहित हुन गएको देखिन्छ ।

कुनै पनि उपलब्धि हासिलका आफ्नै विधि, परम्परा र मान्यता हुन्छन् । अनुसन्धानबाट हासिल हुने उपलब्धिको हकमा घटना विशेषको ‘लिंक–अप’ मा रहेका विषयका आधारमा मात्र सत्य–तथ्य स्थापित गर्न सकिन्छ ।

अनुसन्धानलाई सस्तो लोकप्रियताभन्दा कानूनी विधि र कारबाहीको विषय बनाइनुपर्छ । कानून बमोजिम बाहेक पनि कसैका व्यक्तिगत रहरका विषय होलान्, तर ती कानून कार्यान्वयन वा ठहरको विषय बन्न सक्दैनन् । अनुसन्धानकै विधि र मर्म मिचेर गरिएको ‘निजामती अनुसन्धान’ बाट तत्कालका लागि प्रहरीलाई खुच्चिङ गर्न सकिएला, अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन भने सकिंदैन ।

अपराधी पत्ता लगाउनकै लागि स्थापित राज्यको वैधानिक संयन्त्र नेपाल प्रहरीलाई कमजोर बनाई ‘ठूला माछा’ समात्ने दिवास्वप्नमा रमाउने प्रवृत्ति रणनीतिक हो वा अज्ञानतावश भन्ने पनि अनुसन्धान हुन आवश्यक देखिन्छ । समग्रमा गृह प्रशासनले अख्तियार गरेको संगठित अपराध अनुसन्धानको रणनीति र कार्य प्रकृति जसलाई पनि तर्साउने खालको मात्र रहेछ भन्ने प्रमाणित हुँदै गइरहेको छ । वास्तवमै ‘ठूला माछा’ लाई पक्राउ गर्ने रणनीति सरकारले लिएको भए, ‘जोरका धक्का धिरे से लगे’ को रणनीति अनुरूप धक्काको कम्पनलाई सक्रिय गराउने ढंगले ‘ठूला माछा’ विरुद्ध कारबाही लक्षित गर्नुपथ्र्यो । अनुसन्धानका क्रममा तयार गरिएका सबुतजन्य धक्का र कम्पनले नै अपराध र अपराधीलाई अदृश्यबाट दृश्यमा ल्याउने हो । यसका लागि द्रष्टा अर्थात् अनुसन्धानकर्मीको दृष्टिकोणकै स्वाभाविक प्रयोग हुन आवश्यक छ । संगठित अपराध अनुसन्धानको भाव नबुझने, ‘भाउ’ मात्र बुझने प्रवृत्तिले अनुसन्धानमा अस्वाभाविक परिणाम मात्र हासिल हुनेछ भन्नेतर्फ समयमै ध्यान जान आवश्यक छ ।

comments powered by Disqus

रमझम