कुस्ती ब्युँताउने प्र्रयास

Share:
  
- चन्द्रकिशोर
कुस्ती खेल संरक्षण र प्रवद्र्घन थालेको महागढीमाई नगरपालिका ‘खलिफाहरूको नगर’ बन्न सक्छ।

बारा जिल्लामा प्र्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला प्र्रसिद्ध छ । त्यहाँ रहेको गढीमाईको पुरानो मन्दिरलाई मूल मन्दिर मानिन्छ । किनभने बारा जिल्लाकै सिमरा र रौतहटमा पनि गढीमाई नामका मन्दिर छन् । यिनै मन्दिरको नाममा स्थानीय तहको नाम रहन गयो— बारामा महागढीमाई नगरपालिका र रौतहटमा गढीमाई नगरपालिका । जितपुर सिमरा उपमहानगरपालिकालाई समेत गढीमाई नाम दिइएकोमा पछि सच्याइयो । मूल गढीमाई मन्दिर रहेको क्षेत्र हाल महागढीमाई नगरपालिकामा छ ।

महागढीमाई नगरपालिकाले स्थानीयस्तरका पारम्परिक खेलहरू ब्युँताउने योजना अन्तर्गत कुस्तीको प्रशिक्षण शुरू गरेको छ । नगर प्रमुख उपेन्द्र यादवका अनुसार, नगरपालिका कार्यालय परिसरमै कुस्तीको खेलमैदान ‘अखडा’ निर्माण गरिएको छ । दुई जना प्रशिक्षक नियुक्त गरिएका छन् । नियमित अभ्यासमा आउनेहरूलाई दूध, अण्डा र फलफूल दिइन्छ । खेलाडीहरूलाई कुस्ती खेल्दा विशेष रूपमा प्र्रयोग गरिने ‘लङ्गोटा’ समेत बाँडिएको छ ।

नगरपालिकाले कुस्ती खेल नै किन रोज्यो ? नगर प्रमुख यादव स्थानीय तहले आफ्नो क्षेत्रको पारम्परिक कला, संस्कृति र खेललाई प्रोत्साहन गर्ने जिम्मेवारी अनुसार अघि बढेको बताउँछन् । भन्छन्, “हाम्र्रो गाउँमा सत्येन्द्र यादव र शिवलाल यादव जस्ता राष्ट्रियस्तरका कुस्ती खेलाडी छन् । कुनै जमानामा यो क्षेत्रका प्रायः गाउँहरूमा ‘अखडा’ थियो । त्यसैले यो खेल संरक्षण गर्ने नीति लियौं ।”

नगरपालिकाको प्रयास बारे एक समयका कुस्ती खेलाडी बरियारपुरका भागवतप्रसाद यादव (६५) भन्छन्, “नगरपालिकाले राम्रो काम गरेको छ । कुस्ती खेलले युवाहरूमा सामूहिक भावना र सकारात्मक सोचको विकास गर्छ ।” अर्का पुराना कुस्ती खेलाडी शम्भुप्रसाद यादव (५२) का अनुसार, स्थानीय तहको अग्रसरतापछि नियमित अभ्यासमा आउने युवाहरूको संख्या बिस्तारै बढ्दै गएको छ ।

प्रायः दुई व्यक्ति बीचमा प्रतिस्पर्धा हुने तथा मनोरञ्जक खेल कुस्ती बारे पुराना खेलाडी भागवत भन्छन्, “कुस्तीका निम्ति नियमित अभ्यास, शारीरिक सुगठन र सीपहरूको जानकारी हुनैपर्छ । यसमा हतियारको प्रयोग हुँदैन, शारीरिक बलले आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्नुपर्ने हुन्छ ।”

अहिले पनि तराईका विभिन्न ठाउँमा कुस्ती प्रतियोगिता आयोजना हुन्छन्, जसलाई ‘दंगल’ भनिन्छ । दशैं, छठ र महाबीरी झ्ण्डा मेला लगायतको अवसरमा दंगल गराउने प्र्रचलन छ । दंगलमा भिड्न तराई र छिमेकी मुलुक भारतबाट ‘खलिफा’ अर्थात् कुस्ती खेलाडीहरू निम्त्याइन्छ । दंगल हुने दिन भन्दा पहिलेदेखि नै खलिफाहरूको नाम प्रचार गरिन्छ ।

पहिले गाउँघरमा दशैंको बेलादेखि अखडा सञ्चालनमा ल्याइन्थ्यो । यस्तो अखडा गाउँको देवस्थान वा आँपको बगैंचामा बनाइन्थ्यो । अखडाका लागि अलि फराकिलो जग्गा र नरम माटो हुनुपर्छ । बढी चिस्यान वा बलौटे भयो भने उपयुक्त मानिंदैन ।

अनुभवीहरूका अनुसार, कुस्तीका लागि कठिन अभ्यास गर्नुपर्ने हुन्छ । खेलाडीहरूले जीउमा फुर्ती र तागत कायम राख्न ‘दण्डबैठकी’ गर्छन् । व्यायामसँगै खेलाडीहरूलाई खुराक पनि चाहिन्छ । यो खेलमा तागतसँगै प्रतिस्पर्धीलाई पराजित गर्ने कला पनि आवश्यक पर्छ । यही कलाका कारण कतिपय अवस्थामा बढी तौलका खेलाडीलाई तुलनात्मक रूपमा पातलो खेलाडीले पराजित गरेको देखिन्छ । कुस्तीका अनेकौं कला हुन्छन्, जसलाई ‘दाउ’ भनिन्छ ।

पहिले खलिफाहरूको सामाजिक प्रतिष्ठा थियो । निजी सुरक्षाकर्मी आवश्यक पर्दा खलिफाहरूलाई नै उपयुक्त मानिन्थ्यो । तर, समयसँगै यो खेल ओरालो लाग्यो । कुस्ती खेलाडीहरूले लामो समयसम्म सरकारी संरक्षण पाएनन् । मेलाको बेला आयोजकले दिने पुरस्कारको सीमित रकम र दर्शकबाट प्राप्त हुने बक्सिस बाहेक आम्दानीको अर्को स्रोत हुँदैनथ्यो । बलियो हुनुको नकारात्मक पक्ष के थियो भने, कतिपय गाउँघरमा चोरी–डकैती हुँदा खलिफाहरूकै नाम मुछिन्थ्यो । खलिफा मल्हु भन्छन्, “माओवादी द्वन्द्व बढेपछि खलिफाहरू झ्न् दोहोरो निशानामा परे ।” साथै, जीविकाको मुख्य आधार रेमिटेन्स हुन थालेपछि युवाहरू विदेश ओइरिने क्रम बढ्यो । कुस्तीको अभ्यास कम हुँदै गयो ।

नयाँ पुस्तामा पारम्परिक खेलहरूप्रति रुचि देखिंदैन । इन्टरनेट र मिडियाको प्रभावले उनीहरू बरु क्रिकेट, फूटबल जस्ता खेलप्रति आकर्षित छन् । महागढीमाई नगरपालिकाका प्रमुख यादवका अनुसार, पारम्परिक खेलहरू मनोरञ्जनका माध्यम मात्र नभई सामुदायिक संवादको मञ्च पनि थिए । “यी खेलभित्र हाम्रो समाजको सांस्कृतिक समभाव पनि भएकोले कुस्ती ब्युँताउनु जरूरी देखियो”, उनी भन्छन् ।

कुस्ती खेलप्रति युवा आकर्षण बढाउँदै लगिए राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगिताका निम्ति खेलाडी उत्पादन हुन सक्छन् भन्ने स्थानीयको विश्वास छ । यसले निरन्तरता पाएमा गढीमाई मन्दिरबाट पाएको चिनारी जस्तै महागढीमाई ‘खलिफाहरूको नगर’ को रूपमा चिनिनेछ ।

comments powered by Disqus

रमझम