२१-२७ असोज २०७५ | 7-13 October 2018

कागजविहीन घर

Share:
  

घरमा कागज प्रयोग नगर्नेहरु कमै होलान् । विभिन्न पेशागत, व्यक्तिगत र शैक्षिक लगायत उद्देश्यले घरमा कागज प्रयोग गरिन्छ र राखिएको हुन्छ । खासगरी विभिन्न सूचना, जानकारी र तथ्यांक लगायतको विवरण राख्न घरमा कागज–कलम हुन्छ नै । नेपालका सरकारी कार्यालयमा त अझै पनि कागजपत्रको प्रयोग प्रचुर मात्रामा भइरहेको छ ।

सरकारले मन्त्रिपरिषद् बैठक पेपरलेस बनाउने घोषणा गरेपछि अहिले सबै मन्त्रीका हातहातमा ल्यापटप देखिन्छन् । यस्तै, देशका विभिन्न स्थानमा संघीय र प्रादेशिक सरकारले निःशुल्क वाईफाई उपलब्ध गराउन थालेपछि त्यसले पनि कागजविहीनतालाई नै प्रोत्साहन गरेको छ । यसबाहेक होटल, शपिङ मल, ब्यांक, रेस्टुराँ जस्ता स्थानमा त वाईफाई अनिवार्य आवश्यकता जस्तै भइसकेको छ । यी सबै कारण र प्रभावले आवासीय घरहरु पनि कागजविहीन बन्नेतर्फ अग्रसर छन् ।

फाइदा

साहित्यकार एवं पत्रकार आन्विका गिरीले हातले लेख्न छोडेको १० वर्ष भयो । गिरी दशक पहिलेसम्म कागजको डायरीमा लेख्थिन् । “अहिले लेख्नका लागि कम्प्युटर प्रयोग गर्छु, हतारमा कति कुरा मोबाइलमै नोट गर्छु”, उनी भन्छिन् ।

अनुसन्धानका क्रममा कसैको अन्तर्वार्ता लिनु परे पनि मोबाइलमा रेकर्ड गर्ने र कम्प्युटरमा उतार्ने उनको बानी छ । भन्छिन्, “पाण्डुलिपिदेखि अन्तिम रचनासम्म कम्प्युटरमै तयार पार्छु ।” ग्याजेट्स र इन्टरनेटले पढ्न, अभिलेख राख्न, चाहिएको बेला फेला पार्न कागजमा भन्दा निकै सजिलो भएको उनको बुझाइ छ ।

कम्प्युटर, स्मार्ट फोन जस्ता ग्याजेट्समा सहजै उपलब्ध हुने एक्सल जस्ता प्रोग्राम तथा एपहरुले त कापी मात्र होइन क्याल्कुलेटरलाई नै विस्थापित गरिदिएका छन् । यस्तै, एमएस वर्ड, नोट प्याड जस्ता प्रोग्रामका कारण विद्यार्थीलाई होमवर्क गर्न विद्यालयले नै भनेको अवस्थामा बाहेक कापीमै भर पर्नु नपर्ने भएको छ । लेखेको मेटाउन, पुनर्लेखन गर्न, अभिलेख राख्न, चाहिएको बेला तुरुन्तै फेला पार्न र सुरक्षित राख्न कागजमा भन्दा कम्प्युटरमा कैयौं गुणा सहज हुन्छ ।

बेफाइदा पनि उत्तिकै

कम्प्युटर, मोबाइल जस्ता ग्याजेट्समा लामो समय बिताउँदा विभिन्न स्वास्थ्य समस्या निम्तिने जोखिम हुन्छ । चिकित्सकहरुका अनुसार यस्ता ग्याजेट्समा धेरै समय बिताउनेहरुमा ढाड तथा आँखामा समस्या आउने, टाउको र गर्धन दुख्ने सम्भावना अत्यधिक हुन्छ । बालबालिकाको कल्पनाशीलता र सिर्जनशीलता पनि यस्ता सामग्रीले निकै कम बनाइदिन्छन् ।

ग्रान्डी अस्पतालका कल्सल्ट्यान्ट फेमिली फिजिसियन डा. विश्वराज दवाडी विद्यालय जाने उमेरका बालबालिकाले लामो समय मोबाइल र कम्प्युटर जस्ता विद्युतीय सामग्रीमा बिताउन थाले भने उनीहरुको श्रवणशक्तिमा कमी आउने, एकाग्रता नहुने मात्र होइन मनोरोगको समेत जोखिम हुने बताउँछन् । उनी भन्छन्, “मोबाइल, ट्याब, ल्यापटपमा धेरै समय बिताउने बालबालिकामा कल्पनाशीलता र सिर्जनशीलता हराउँछ ।”

अहिलेको युगमा एकातिर कम्प्युटर, मोबाइल जस्ता सामग्री आधुनिक जीवनको अनिवार्य आवश्यकता भइसकेका छन् भने अर्कोतिर यसको अति प्रयोगले समस्या समेत निम्तिरहेको छ । त्यसैले यस्ता सामग्रीको ठिक्क र सचेत प्रयोग नै उपयुक्त हुन्छ ।

प्रस्तुतिः रामु सापकोटा

comments powered by Disqus

रमझम