बिर्सन नमिल्ने द्वन्द्वका घाउ

Share:
  
- सेवा भट्टराई
१० वर्षे सशस्त्र द्वन्द्वका क्रममा भएका अपराधका घटनालाई ओझेलमा पर्न नदिन र पीडितलाई न्याय दिलाउन राजधानीमा कला प्रदर्शनी गरिएको छ।

सेवा भट्टराई
अँध्यारो कोठामा किताबहरु छरिएका छन् । फुटेको घैंटोका टुक्रा, च्यात्तिएका लुगा र असरल्ल सामानले कुनै कहालीलाग्दो घटना भएको प्रष्ट हुन्छ । कीराको एकोहोरो आवाजसँगै महिलाको चित्कारले वातावरणलाई झनै भयानक बनाएको छ ।

दशवर्षे सशस्त्र द्वन्द्वका बेला सुरक्षाकर्मीले महिलालाई हिरासतमा लिएर बलात्कार गरेको घटनालाई नेपाल आर्ट काउन्सिल ग्यालरीमा प्रतिस्थापन कला मार्फत पुनर्जागृत गरिएको दृश्य हो यो ।

२० असोजसम्म चलेको ‘सम्झना, सत्य र न्याय’ नाम दिइएको यो प्रदर्शनी भ्वाइसेस अफ वुमेन, मिडिया एण्ड कनफ्लिक्ट ले आयोजना गरेको थियो । प्रदर्शनीमा द्वन्द्वका दुवै पक्षबाट पीडित १०० भन्दा बढी कथाहरु प्रदर्शन गरिए । त्यसमध्ये केही श्रव्यदृश्य, केही तस्वीर र अन्य कलाका विभिन्न माध्यमबाट अभिव्यक्त गरिएको थियो ।

“युद्धलाई अहिले धेरैले बिर्सन थालेका छन्, त्यसैले यी कथाहरु हामीले प्रदर्शन गर्यौं”, परियोजना व्यवस्थापक बिक्की स्थापित भन्छन् । सरकार र नेताहरुले अपराधलाई मात्र होइन पीडितलाई समेत बेवास्ता गरेको, न्याय समेत बेवास्तामा परेको भन्दै स्थापितले युद्धका सम्झना पूरै मेटिनु अघि नै न्यायका लागि जनतालाई जागरुक बनाउन जरुरी रहेको बताए ।

१० वर्षे सशस्त्र द्वन्द्वका क्रममा १७ हजार ८८६ जना मारिए, १,५३० बेपत्ता पारिए भने ८,१९१ अपाङ्ग र लाखौं विस्थापित भए । समाज, परिवार र व्यक्तिमा यो द्वन्द्वले गहिरो घाउ बनाएको छ । विस्फोटमा परेर कैयौं निर्दोषको अंगभंग भयो, हजारौंलाई यातना दिइयो, महिला र बालिकाहरु यौन हिंसाको चपेटामा परे, बाल लडाकूले आफ्नो बालापन त्याग्नु पर्‍यो, अहिले उनीहरु त्यागिएको अवस्थामा छन् ।

प्रदर्शनीमा द्वन्द्व पीडितहरुले गुमाएका प्रियजनको पहिलो तलबले किनेको शर्ट, कैदबाट चाउचाउका पोकाभित्र लुकाएर पठाइएको चिठी, खाना खाने थाल कचौरा जस्ता सामग्री पनि प्रदर्शन गरिएको थियो । “द्वन्द्वको शिकार बनेकाहरुलाई न्याय दिन हामीले केही गर्न सकेका छैनौं, यो कति लज्जास्पद हो भन्ने प्रदर्शनीले बुझाइदिएको छ,” राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्ती भन्छन्, “यो मुद्दा यहाँ प्रदर्शन भएका १०० जनाको कथासँग मात्र सम्बन्धित छैन, यो त सम्पूर्ण राष्ट्रकै मुद्दा हो ।”

कृष्णको अधुरो सपना

तस्वीरहरुः ‘सम्झना सत्य र न्याय’

दोलखाका कृष्ण घिसिङलाई आज पनि एउटा धुनले तर्साउँछ । कोरिया जानका लागि पासपोर्ट बनाउन उनी काठमाडौं गएका थिए । फर्कंदा २८ कात्तिक २०५९ मा उनी चढेको बस एम्बुसमा पर्‍यो । उनी भन्छन्, “म १९ दिनपछि होशमा आउँदा रेडियोमा समाचारको धुन बजिरहेको थियो । त्यो धुनले अहिले पनि तर्साउँछ ।” स्पाइनल–कर्ड इन्जरीका कारण उनको शरीरको आधा भाग चल्दैन । “कोरिया जाने कुरै भएन, यहीं पनि सकस मात्रै छ” घिसिङ भन्छन्, “छोरालाई ठूलो मान्छे बनाउन चाहन्थें तर द्वन्द्वका कारण म आफैं अरुको सहारा विना चल्न नसक्ने भएँ ।” १५ वर्षदेखि उनी ह्विलचेयरको सहारामा छन् ।

छोरो पर्खंदै शर्मिला

१७ वर्षको उमेरमा बेपत्ता पारिएका जगरामकी आमा शर्मिला चौधरी भन्छिन्, “गएको १६ वर्षदेखि सधैं खाना खाने बेला छोराको थालमा पनि खाना राखिदिन्छु । दाङको डुरुवा–५ कि शर्मिलालाई छोरो अझै पनि खान खाने बेला आइपुग्छ कि जस्तो लाग्छ ।”

बाललडाकू शोभा

११ वर्षकै उमेरमा नुवाकोटकी शोभा रायमाझीका हातमा माओवादीले बन्दूक थमाइदिएपछि उनले पढाइ छोड्नु पर्‍यो । लडाकू समायोजनका बेला पनि उनी बहिर्गमनमा परिन् । उनी जस्ता आफ्नो बालावस्था गुमेका र अहिले बेरोजगारीको अवस्था भोगिरहेका हजारौं बाललडाकूको अधिकार सुनिश्चित गर्न शोभा र साथीहरु लागिपरेका छन् । लामो संघर्षको परिणामस्वरुप सरकारले प्रत्येक बहिर्गमित बाल सेनाका लागि रु.२ लाख दिने निर्णय गरे पनि उक्त निर्णय विरुद्ध अदालतमा मुद्दा परेकोले त्यो रकम उनीहरुले पाउन सकेका छैनन् ।

परम्पराको डायरी

चुनबाङ, रुकुमका सन्दीप पुनकी आमा परम्परा गौतम र बुवा सूर्यप्रकाश पुन माओवादी कार्यकर्ता थिए । उनीहरु सुरक्षाकर्मीबाट मारिए । सन्दीप भन्छन्, “आमाले त्यसबेलाका घटना र मलाई सम्झेर डायरीमा केही लेख्नुभएको छ । त्यो पढेर हजुरआमा धेरै रुनुभएको थियो । मैले त्यो डायरी पल्टाउने आँट अझै गरेको छैन ।

comments powered by Disqus

रमझम