अँध्यारो आकाशको महत्व

Share:
  
- कनकमणि दीक्षित
प्रकाश प्रदूषणलाई नियन्त्रण गरी रातको आकाशलाई अँध्यारोमै हेर्न पाइयोस् ।

सगरमाथा आधारशिविरमा रातको आकाश ।
नेपाल तुलनात्मक रूपमा अँध्यारो मुलुक हो । हाम्रो पहाड–तराईमा जनघनत्व हुँदाहुँदै बिजुलीको पहुँच नपुग्दा अन्तरिक्ष यानबाट हेर्दा अँध्यारो देखिन्छ, आवादी नभएको ठाउँ जस्तो । बिजुली नहुनुको अर्थ यस्तो हुन्छ कि जसरी उत्तर र दक्षिणकोरियाको सिमाना रातको बेला उज्यालो र अँध्यारो बीचको रेखाले दर्शाउँछ, त्यसैगरी नेपाल र भारतको बिहार÷उत्तरप्रदेशको सीमा पनि आजसम्म छुट्याउन सकिन्छ ।

आउँदा वर्षमा नेपालको जलविद्युत् आयोजना सञ्चालनमा आउँदै जाँदा अँध्यारो हट्नेछ, जनतालाई सुविधा हुनेछ, यसमा शंका छैन । तर, यो पनि हो— बिजुली प्रवद्र्धन हुँदा नेपालले पृथ्वीको भौगर्भिक र मानवीय ऐतिहासिक महत्व बोकेको रातको प्राकृतिक अँध्यारो गुमाउनेछ ।

रातको उज्यालो भन्नुको अर्थ नेपाली जनताको लागि विकासको सुविधा प्राप्त हुनु हो । तर, यति भन्दै गर्दा ठाउँठाउँमा विश्व र मानव उत्पत्तिसँगै गाँसिएको ‘अँध्यारो क्षेत्र’ सुरक्षित राख्न सके राम्रो हुन्थ्यो ।

आश्चर्यको कुरा, यस्ता अँध्यारो क्षेत्र त पर्यटकीय दृष्टिकोणले पनि आकर्षक मानिंदोरहेछ । कतिपय देशमा ‘अँध्यारो रात अभियान’ चलेको छ, ठाउँ–ठाउँमा ‘अँध्यारो रात आरक्ष’ घोषित छन् । त्यहाँ पर्यटकको घुइँचो लाग्न थालेको छ । नेपालमा ‘अविकास’ लगायतका कारण अझै पनि धेरै अँध्यारा क्षेत्रहरू छन्, जसलाई अब अँध्यारै राखेर विकासको अभियानमा जोड्नु आवश्यक भयो ।

आज पर्यटकहरू अँध्यारो आकाशको खोजीमा संसारका विभिन्न कुना (उत्तर र दक्षिण अमेरिका, चीन, प्रशान्त महासागरका टापु इत्यादि) चहार्न थालेका छन् । कारणः १) मानव उत्पत्तिको प्राचीन अवस्था र अनुभवसँग आफूलाई जोड्न; २) ताराहरूको अवलोकन गर्न (‘स्टार गेजिङ’); र ३) ग्रह/नक्षत्रमाझ पृथ्वीलाई सूक्ष्म रूपमा बुझ्न ।

अँध्यारो आकाशसँग सम्बन्धित पर्यटनले आम्दानी भिœयाउने हुनाले यसमा उत्साह जाग्दै गएको देखिन्छ । एउटा ‘अन्तर्राष्ट्रिय अँध्यारो आकाश संघ’ समेत खडा भएको छ, जसले ‘प्रकाश प्रदूषण’ विरुद्ध लड्छ र संसारभर ‘अँध्यारो आकाश आरक्ष’ स्थापना गर्न अग्रसरता लिएको छ ।

मानव सभ्यताको थालनीदेखि नै कौतुहलका साथ रातको आकाश हेर्दै सभ्यताको विकास भएको हो । यसरी अँध्यारो आकाशले सभ्यता निर्माणमा सहयोग पुर्‍यायो । बोटबिरुवा र जीवजन्तुको उत्पत्तिका क्रममा धेरै जाति, उपजाति अँध्यारोको आडमा बचेका र बाँचेका छन् । अँध्यारो आकाश प्राकृतिक उत्पत्तिसँग मात्र नभई मानव संस्कृतिसँग पनि गाँसिएको भन्नुपर्‍यो । यसैले प्रकाश प्रदूषण नभएको अर्थात् उज्यालोले नबिथोलिएको रातको आकाशलाई पनि हाम्रो पुरातात्विक सम्पदा भन्न मिल्छ, भन्नुपर्छ ।

वायु प्रदूषण, जल प्रदूषण र ध्वनि प्रदूषणको कुरा गर्दै आएका हामीमध्ये कतिलाई ‘प्रकाश प्रदूषण’ भन्ने नै नमिले जस्तो लाग्न सक्छ । तर, प्रकाश प्रदूषण यथार्थ हो, किनकि रातको बेलामा अत्यधिक प्रकाशले प्राकृतिक प्रक्रियाहरूलाई बिथोलेको हुन्छ । ‘अँध्यारो आकाश’ का अभियन्ताहरू बिजुली बत्तीको उज्यालो चाहिने भन्दा बढी सकेसम्म नफैलियोस् भन्ने चाहन्छन् । त्यस्तो प्रकाश फैलिन जाँदा वायुमण्डलका स–साना धूलोका कणसँग ठक्कर खाएर रातको आकाशलाई उज्यालोले प्रदूषित पारिदिन्छ । प्रकाशले जमीन र आकाशलाई नचाहिंदो हिसाबले जति उज्यालो पार्छन्, तारा÷नक्षत्र अवलोकन गर्न उति नै असहज हुन्छ, र हामी पुरातात्विक अवस्थाबाट उति नै दूर हुन्छौं ।

नेपालका धेरैजसो भाग आजसम्म पनि प्रकाश प्रदूषणमुक्त छन् । ‘बिजुलीमय’ हुने अपेक्षा गरिएको आउँदो दशकमा हामीले दुई काम गर्नुपर्ने भयो १) प्रकाश प्रदूषण न्यूनीकरण गर्न अगाडि बढ्ने । २) नेपालमा पनि पर्यटक आकर्षण गर्ने हेतुले वन्यजन्तु आरक्ष क्षेत्र र राष्ट्रिय निकुञ्ज जस्तै विभिन्न ठाउँमा ‘अँध्यारो आकाश आरक्ष’ स्थापना गर्ने ।

अमेरिकाको ग्राण्ड क्यान्यन राष्ट्रिय निकुञ्ज ‘अँध्यारो आकाश’ कै लागि परिचित छ । विश्वभरि यस्ता करीब ६० वटा ‘डार्क स्काई पार्क’ ले मान्यता पाएका छन् । यिनीहरूभन्दा नेपालका ‘अँध्यारो आकाश आरक्ष’ झनै आकर्षक हुने पक्का छ । किनकि यहाँ त रातको आकाश तारा/नक्षत्र मात्र होइन, हिमाली चुचुरा तथा पहाडी शृङ्खलाले पनि सुसज्जित हुन्छन् । अन्यत्र भन्दा फरक, गाउँबस्तीबाटै अँध्यारो आकाश महसूस गर्न पाइने अवस्थालाई बिजुली बत्ती पुग्दा पनि यथावत् राख्न सकिन्छ, प्रकाश प्रदूषण न्यून गरेर ।

सगरमाथा बेसक्याम्प भन्नुस् वा ढोरपाटन शिकार आरक्ष वा पूरै डोल्पा जिल्ला, उत्तरी मुस्ताङ, कञ्चनजंगा क्षेत्र या त खप्तड क्षेत्र– प्रत्येक ठाउँलाई ‘अँध्यारो आकाश आरक्ष’ को मान्यता दिलाउँदै नयाँ खालका पर्यटक भिœयाउन सकियोस् । यसले ‘नेपाल भ्रमण वर्ष २०२०’ को लक्ष्य प्राप्तिलाई पनि सहयोग पुगोस् ।

अँध्यारो आकाश निकुञ्ज अथवा आरक्ष स्थापना गर्दै पर्यटकीय फाइदा लिनुमा शायद कसैको विमति नहोला । त्यसभन्दा पनि महत्वपूर्ण कुरा, ऐतिहासिककालदेखि हाम्रा पूर्वजले जसरी रातको आकाश देखेथे, त्यसरी नै देख्न हामीले पनि पाउनुपर्छ । यसैले बिजुलीको खपत बढाउँदै गर्दा प्रकाश प्रदूषणलाई नियन्त्रणमै राखौं ।

comments powered by Disqus

रमझम