३० भदौ २०७० | 15 September 2013

मनोवैज्ञानिक दबाब नदिऊँ

Share:
  

हिमाल (१६ भदौ) मा प्रकाशित अढाइ वर्ष नपुग्दै छोराछोरीलाई स्कूल पठाउने अभिभावकले आफ्ना सन्तानको कलिलो मस्तिष्कमा परिरहेको असरबारे बेखबर भएको ‘शिशुलाई सास्ती’ समाचार पढेपछि हामीले बालबालिकामाथि कतिसम्मको अन्याय गरेका रहेछौं भन्ने प्रष्ट हुन्छ । आधुनिकताका नाममा कलिला बालबालिकालाई च्याउसरी उम्रेका मन्टेसरी, प्लेग्रुप, चाइल्ड केयर सेन्टरमा पठाउने अभिभावकहरूले उनीहरूमाथि गरेको मानसिक अपराधबारे एकपल्ट गम्भीर भएर सोच्नुपर्छ । तोतेबोलीमा अंग्रेजी बोल्दा दंग पर्ने अभिभावकहरूले यसबाट छोराछोरीमा पर्ने मनोवैज्ञानिक दबाबबारे आजै ध्यान दिनुपर्छ, होइन भने भोलि पछुताउनुको विकल्प हुँदैन ।

हरि शर्मा, कीर्तिपुर, काठमाडौं

‘शिशुलाई सास्ती’ समाचार मन छुने खालको छ । यसले हाम्रो परिवार, समाज र सिंगो देशको बाल शिक्षाको अवस्थालाई प्रष्ट पारेको छ । बालशिक्षा तथा विकासको सवालमा सम्झ्ँदा त विकास नभएको गाउँ नै ठीक हो कि जस्तो लाग्न थाल्यो । किनकि गाउँमा त बालबालिकालाई ६ वर्ष पुगेपछि मात्र विद्यालय पठाउने चलन छ । गाउँको विकास गरेर शहर बनाउने प्रयासमा लागेका हामी शहरी बालबालिकालाई अढाइ वर्षदेखि विद्यालय पठाएर दंग परेका छौं । वरिष्ठ मनोविज्ञ डा. गंगा पाठकको भनाइ अनुसार हाम्रो परिवार र समाजको बालबालिकाप्रतिको व्यवहार उल्टो छ । यसो हो भने हाम्रा बालबालिका भविष्यमा कस्ता होलान् ।

राजु घिमिरे, सालु–५ रामेछाप, हालः काठमाडौं


लाइसेन्स खारेज गर्नुपर्छ

हिमाल (१६ भदौ) मा आधुनिक भगवान मानिने डाक्टर बारे प्रकाशित ‘डाक्टर नाम बदनाम’ शीर्षकको अनुभूति पढेपछि नेपालका डाक्टरहरूले पैसाका लागि कुन हदसम्मको काम गर्दा रहेछन् भन्ने प्रष्ट हुन्छ ।

हुन त ‘धन देख्दा महादेवका तीन नेत्र’ भन्ने उखान नै छ । तर आधुनिक भगवान अर्थात् डाक्टर, जसले मान्छेको ज्यान बचाउँछन् उनीहरूका धेरै नेत्र देखिएका छन् । त्यसो त डाक्टरलाई मात्रै दोष दिएर पनि हुँदैन, किनभने उनीहरू एक करोडसम्म खर्च गरेर डाक्टर बनेका हुन्छन् । तर सरकारले उनीहरूलाई महीनाको रु.५० हजार पनि दिएको छैन । यस्ता विकृति भित्रिनु त्यसैको परिणाम हो । यदि यस्तो विकृति रोक्ने हो भने सरकारले एक जना डाक्टरको तलब मासिक कम्तीमा रु.१ लाख पु¥याउनुपर्छ । यति तलब पु¥याएपछि पनि त्यस्तो काम गर्ने डाक्टरको लाइसेन्स खारेज गर्ने कानून बनाउनुपर्छ । होइन भने ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ जस्तै हुनेछ ।

उत्तरमान लामा, इमेलबाट


वैद्यको नर्क–पथ

हिमाल (१६ भदौ) मा प्रकाशित ‘यसकारण गोलमाल’ शीर्षकको विश्लेषण पढेर केही कुरा लेख्न मन लाग्यो । मोहन वैद्यको घोकन्ते शास्त्र र उनकै दलका अर्का नेता नेत्रविक्रम चन्दको वान म्यान आर्मीको सपनाले मुलुकमा हुनेवाला केही पनि छैन । माओवादीहरू ठोस परिस्थितिको दिग्भ्रमित दृष्टिकोणबाट मूल्यांकन गरी नर्कको बाटोमा जाँदैछन् । संचारको बृहत् विकास र पहुँचका कारण नेपालीहरू हरेक विषयमा आफ्नो दृष्टिकोण बनाउन र दमित स्वर ओकल्न सक्ने भइसकेका छन् ।

अब नेपालको अगाडि विकास र आर्थिक प्रगति बाहेक अरू केही हुनै सक्दैन । बहुल र खुल्ला समाजमा वैद्य माओवादीले भने जस्तो युद्ध र विद्रोहको अब कुनै काम छैन र त्यो सम्भव पनि छैन । यस्तो धम्की दिनुको साटो वैद्य माओवादीले विकास र आर्थिक प्रगति गर्न आतुर युवाहरूलाई गोलबद्ध गराउनेतर्फ लाग्नुपर्छ । होइन भने ‘एकादेशमा वैद्यले नेतृत्व गरेको माओवादी थियो, गलत नीति र बाटोले गर्दा मूलधारबाट नामोनिसान मेटियो’ भन्ने दिन आउने छ ।

एमबी श्रेष्ठ, इमेलबाट


समाचार सत्य होइन हिमाल (१६ असार) मा प्रकाशित ‘कुलपूजा भवनमा लगानी’ समाचारका सम्बन्धमा शान्ति कोष सचिवालयको ध्यानाकर्षण भएको छ । समाचारमा उल्लेख भए जस्तो शान्ति कोषको रकमबाट पाल्पामा रायमाझी कुलपूजा भवन निर्माणाधीन र रसुवामा गेस्टहाउस निर्माण भएको भन्ने समाचार सत्य नभएको स्पष्ट पार्न चाहन्छु । शान्ति कोषको रकम विभिन्न सरकारी निकायबाट पेश भई स्वीकृत भएका शान्ति प्रवद्र्धन सम्बन्धी आयोजनाको लागि उपलब्ध गराउँदै आएका छौं । यस्ता समाचारले दिगो शान्ति प्रवद्र्धन र विस्तृत शान्ति सम्झैता २०६३ कार्यान्वयनमा समेत असर पर्ने भएकाले हिमाल जस्तो आम पाठकमाझ विश्वासिलो पत्रिकाले आगामी दिनमा सत्यतथ्य समाचारमा ध्यान दिन आग्रह गर्दछौं ।

लक्ष्मीदत्त कलौनी, उपसचिव

comments powered by Disqus

रमझम