यी बालबालिकालाई दशैंको टीकाको दिन विद्यालयले विदा दिन्छ । बर्लिङ्गटन स्कूल डिस्ट्रिक्ट र पेन्सलभेनियाको पिट्सवर्ग स्कूल डिस्ट्रिक्टले आफ्नो शैक्षिक क्यालेण्डरमा अक्टोबर १९ लाई ‘विजयादशमी’ वा ‘दशैं’ उल्लेख गरेका छन् । यस दिन स्कूल विदा नभए पनि दशैं मनाउने विद्यार्थी नआउँदा गयल भएको मानिंदैन । संवेदनशील स्कूल नीतिले यस्ता दिनमा विद्यार्थी गयलको विषयमा धार्मिक आवश्यकतालाई प्राथमिकतामा राखेको छ ।
बालबच्चा स्कूल जानु नपरेको सजिलो आफ्नो ठाउँमा छ भने बाबु–आमालाई कामबाट छुट्टी लिनुपर्ने अवस्था पनि छ । केन्टकी राज्यको लुइभिलका डा. लक्ष्मीनारायण ढकाल भन्छन्, “विदा तानतुन गरी मिलाएर दशैं मनाउनु यहाँको विशेषता भएको छ ।” केन्टकीमै बस्ने राजु तिमल्सिना पनि दशैं विदाको आशमा छन् । लेक्जिङ्गटनस्थित अमेजनको वितरण भण्डारमा काम गर्ने उनी भन्छन्, “हाम्रो ठूलो चाड हो भनेर विदा मिलाउन व्यवस्थापनसँग प्रस्ताव राखेका छौं । व्यवस्थापनले सकारात्मक मानेको छ ।”
दशैंको फरक अनुभव
अमेरिकामा नेपालीका साथै नेपालीभाषी भूटानी र बर्मेलीको पनि बसोबास छ । उनीहरूका दशैं अनुभव फरक–फरक छन् ।
पिसकोर स्वयंसेवकलाई नेपाली भाषा र संस्कृति पढाउन सन् १९६५ अक्टोबरमा वासिंटनको सियाटल शहर आएका होम क्षेत्रीले केही वर्ष दशैं मनाउन पाएनन् । सन् १९६९/१९७० मा भने नेपालीमध्ये सबैभन्दा पाका व्यक्तिले सबैलाई टीका लगाइदिएको र संयुक्त रूपमा खानपिन गरेको उनी सम्झ्न्छन् । दशैं मनाउन सन् १९८१ र १९८७ मा सपरिवार नेपाल गएका उनी पछिल्ला वर्ष भने अमेरिकामै दशैं मनाइरहेका छन् । भन्छन्, “भतिजाहरू यतै आएकाले उनीहरूलाई टीका लगाइदिन नयाँ रूपमा दशैं शुरू भएको छ ।”
उत्तर अमेरिकी देश क्यानडाको अट्टावामा बस्ने तारा कार्की मान्यजनको हातबाट टीका थाप्ने दशैंको महत्ता अनुसार, पाको उमेरका बुबा–आमा भएको घरमा गएर टीका लगाउने गरिएको बताउँछिन् । “पोहोरको दशैंमा मेरी सासूआमाको हातको टीका लगाउने ४५ जना थिए” उनी भन्छिन्, “आमाले नेपालको तराई घरमा मनाएको दशैं जस्तो महसूस गर्नुभयो ।”
भूटानी शरणार्थीका लागि तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका आएपछि युग दवाडी सहितका नेपालीभाषी भूटानीहरू दशैंको बेला अलमलमा परे । संस्कृतिकै कारण भूटानबाट लखेटिएका उनीहरूलाई नयाँ ठाउँमा आफ्नो चाड मनाउन हुने हो कि होइन भन्ने समस्या पर्यो । द्विविधाकै बीच सन् २००८ मा उनीहरूले सामूहिक दशैं मनाए, पार्कमा भेला भई टीका लगाएर, खाजा खाएर । त्यसपछिका वर्षमा उनीहरूले अझ् व्यवस्थित रूपमा दशैं कार्यक्रम गर्न थाले । “तर, सन् २०१२ पछि भने बसाइँसराइका कारण सामूहिक दशैं मनाउने क्रम टुट्यो र पारिवारिक उत्सवमा सीमित भयो”, दवाडी भन्छन् ।
ठाउँ फेरिंदा दशैंको स्वाद पनि फेरिएको उनको अनुभव छ । भन्छन्, “पहिले दशैंको बेला आफन्तजन भेला हुँदा दुःख–सुख, गृहस्थी, खेतीपाती आदिका कुरा हुन्थे भने यहाँ आएपछि कुन गाडी लिएको छ, बैंक ब्यालेन्स कति छ, घर किनियो कि किनिएन जस्ता कुरा हुन्छन् ।”
लुइभिलमा बस्ने डा.लक्ष्मीनारायण ढकाल भूटानमा छँदा धुमधामका साथ मनाएको दशैं हरेक वर्ष झ्लझ्ली सम्झ्न्छन् । “शरणार्थीका रूपमा नेपाल आएपछि भने हाम्रा मान्छेमा व्यस्तता बढेर दशैं अलि खुम्चियो” डा.ढकाल भन्छन्, “रमाइलो गर्ने विकल्प बढ्नाले पनि दशैंलाई कतिपयले महŒव दिन छाडे ।”
अमेरिकामा दशैंको बेला नेपाली समुदाय बढीजसो पार्टीमा अल्मलिएको देखिन्छ । नेपालीभाषी भूटानीमा भने पूजापाठ गर्नेको बहुलता कायमै छ ।
पूर्वी समय अनुसार साइत
अमेरिकाका नेपाली, नेपालीभाषी भूटानी तथा बर्मेलीहरूले बडादशैंमा नेपालको पञ्चांग निर्णायक समितिले निकाल्ने घटस्थापना र टीकाको साइतलाई स्वीकारेको पाइन्छ । तर, नेपालीभाषी भूटानी ज्योतिषीहरूले नेपाली ज्योतिषीसँग मिलेर अमेरिका र क्यानडाका लागि छुट्टै पात्रो बनाएका छन् । केन्टकी राज्यमा दर्ता भएको ज्योतिष एवं आध्यात्मिक अनुसन्धान केन्द्रले बनाएको ‘मारुतिनन्दन’ पात्रोले विवाद पनि झ्ेलेको छ । विद्यालयहरूले अक्टोबर १९ का दिन ‘विजयादशमी’ भन्दै विदा दिए पनि केन्द्रले भने अक्टोबर १८ मै टीका लगाउनू भनेको छ ।
केन्द्रको पञ्चांग निर्णायक समितिले विजयादशमी अक्टोबर १८ तारिख बिहीबार उल्लेख गरेको छ । टीका लगाउने साइत पहिलो, सूर्योदयदेखि ९:१९ बजेसम्म र अर्को दिउँसो १:२८ देखि २:५१ बजेसम्म तोकिएको छ । यो मुहूर्त पूर्वी टाइम जोनका आधारमा निर्धारण गरिएको संस्थाले जनाएको छ ।
(कोइराला, अमेरिकामा ‘अक्षरिका’ नेपाली न्यूजलेटर सम्पादन गर्छन् ।)