२८ असोज - १० कार्तिक २०७५ | 14-27 October 2018

दोकानदार

Share:
  
- गोविन्द नेपाल

रकमी मुस्कानमा पोको पारेर

दोकानदार

मसला मात्र बेच्दैन

त्यसमा मिसाएर

एकमुठी विश्वास बेच्छ

एक पसर इमान

र, एक अञ्जुली सत्यता पनि बेच्छ !

यो चाहिं ‘पियोर’ हो

यो चाहिं ताजा छ

यसमा त घाटैघाटा छ

यो त साउँको साउँ

वर्षौंदेखि यसरी नै ऊ

महँगोमा झूट बेचिरहेछ !

के गरोस् बिचरा

तितो नरिवल भिडाउन

गुलिया गफ गर्छ

मोटा चामल बिकाउन

चिल्ला गफ गर्छ

कमसल चिज कटाउन

शानदार गफ गर्छ

बोल्नेको पीठो बिक्छ

सामानमा मिसाएर दोकानदार

अलिअलि गफ पनि बेच्छ !

बेच्ने क्रममा उसले

नबेच्नुपर्ने धेरै कुरा बेच्छ

आखिर बिक्रेता हो

बेच्नु उसको धर्म

यसै क्रममा ऊ

श्रीमतीका बैंसालु रहरहरू बेच्छ

आफ्नै कलकलाउँदो उमेर बेच्छ

सँगसँगै बेचिन्छन्

केटाकेटीका सपना र चाहनाहरू !

रकमी मुस्कानमा पोको पारेर

दोकानदार सामान मात्र बेच्दैन

बेच्दाबेच्दा उसले

आफ्नो सिङ्गै जिन्दगी नै बेचिसक्छ !!

comments powered by Disqus

रमझम