३० भदौ २०७० | 15 September 2013

‘तत्कालीन लक्ष्य सुपर सिक्स हो’

Share:
  
- सन्त गाहा मगर
१९ भदौमा राष्ट्रिय खेलकुद परिषद्बाट सर्वोत्कृष्ट प्रशिक्षकको पुरस्कार पाएका क्रिकेट प्रशिक्षक जगत टमटा भन्छन्, “नेपाल क्रिकेट संघले क्रिकेट लिग शुरु गर्ने पहलमा ढिलाइ गर्नुहुँदैन ।”

सन्त गाहा मगर
सर्वोत्कृष्ट प्रशिक्षकको पुरस्कार किन पाएँ भन्ने लाग्छ ?

विगत १८ वर्षदेखि क्रिकेटको प्रशिक्षक छु भने १२ वर्षयता राष्ट्रिय टीमको सहायक प्रशिक्षक । लामो समयको योगदान र क्रिकेटमा मेरो लगावको मूल्याङ्कन गरेर पुरस्कृत गरेको भन्ने लागेको छ । मूल्याङ्कनका लागि परिषद्, जुरी टीम र सदस्यसचिवप्रति आभारी छु ।

तपाईंको करिअरको सबैभन्दा ठूलो उपलब्धि के हो जस्तो लाग्छ ?

अन्डर–१९ टीम सन् २०१२ मा वल्र्डकप खेल्नु मेरो प्रशिक्षणको महत्वपूर्ण उपलब्धि हो भन्ने लाग्छ । त्यस्तै टी–२० मा सन् २०१४ को वल्र्डकपका लागि छनोट चरण खेल्न पाउनु अर्को उपलब्धि हो । तर हामी त्योभन्दा ठूलो उपलब्धिको सँघारमा छौं । अहिले बन्द प्रशिक्षणमा रहेको टीमबाट धेरै आशावादी छु ।

नेपाली क्रिकेटले प्रगति गर्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?

आशावादी होइन विश्वस्त छु । टी–२० मा वल्र्डकप र ५० ओभरमा सुपर सिक्समा पुग्ने तत्कालको लक्ष्य हो, जुन टाढा छैन । सुपर सिक्स पुगेपछि आईसीसीबाटै सेवा–सुविधा पनि पाइन्छ ।

नेपाली टीमको मुख्य कमजोरी के हो ?

ब्याटिङ हो । तर, त्यो पनि सुधारोन्मुख छ । भौतिक पूर्वाधार अहिलेको सबैभन्दा ठूलो चुनौती हो ।

क्रिकेटको थप विकासका लागि के गर्नुपर्ला ?

नेपाल क्रिकेट संघले क्रिकेट लिगका लागि आजैदेखि पहल थाल्नुपर्दछ । लिग नभई खेलाडीहरूलाई खेलमै इङ्गेज गर्न गाह्रो हुन्छ । पछिल्लो समयमा पाएको सफलताको एउटा महत्वपूर्ण कारण ६–६ महीनामा प्रतियोगिता भइरहनु पनि हो । अहिलेको राष्ट्रिय टीमको विकल्पमा आउन सक्ने युवा खेलाडी धेरै छैनन् । विकल्पमा ९० प्रतिशत खेलाडी हुनुपर्दछ ।

comments powered by Disqus

रमझम