२८ असोज - १० कार्तिक २०७५ | 14-27 October 2018

पाहा बचाउने कसले ?

Share:
  
- कमल मादेन
अन्नपूर्ण गाउँपालिका–४ का तीन युवाले गत भदौमा एकै रात ५६ वटा करीब तीन भिन्न प्रजातिका पाहा मारे। त्यहाँ पाहा मार्न हुन्न भन्ने थाहा छैन।

उच्च पहाडी तथा हिमाली भेगमा पाइने भ्यागुतो जस्तो ‘पाहा’ बारे २०औं शताब्दीको अन्त्यतिर विशेषतः जर्मन वन्यजन्तुविद्हरूबाट नेपालमा अध्ययन, अनुसन्धान भएको थियो । उक्त कार्यमा त्रिभुवन विश्वविद्यालयका करणबहादुर शाह विद्यावारिधि गर्दै थिए । जर्मन विज्ञसँग खटपट भएर शाहले विद्यावारिधिको अध्ययनलाई निरन्तरता भने दिएनन् । पछि मेची क्याम्पसका कालुराम खम्बूले तिनै जर्मन विज्ञको सुपरीवेक्षणमा नेपालको सरीसृप विशेषतः भ्यागुता, पाहा आदिबारे विद्यावारिधि गरे । खम्बूको अध्ययन क्षेत्र पूर्वी नेपाल थियो । खम्बू आँखाको समस्याका कारण हिजोआज अध्ययन, अनुसन्धान गर्न सक्ने अवस्थामा छैनन् । उनी पछि कसैले पनि भ्यागुता, पाहामा रुचि राखेर काम गरिरहेको थाहा भएको छैन ।

करणबहादुरले जर्मन विज्ञसँग विद्यावारिधि गर्दै गर्दाको काम र त्यसपछिको केही थप कामलाई लिएर हरपेटोफाउना अफ नेपाल (सन् २००४) पुस्तक लेखे । इन्टरनेशनल यूनियन फर कन्जर्भेसन अफ नेचर (आईयूसीएन) नेपालका तत्कालीन नेपाल प्रतिनिधि सागेन्द्र तिवारीको पनि उक्त पुस्तकमा लेखकका रूपमा नाम छापियो । विज्ञ, जानकार र काममा संलग्न नभए पनि हाकिम भएकै भरमा सम्बन्धित कार्यालयले प्रकाशन गर्ने पुस्तक तथा लेखहरूमा उसको नाम राख्नैपर्ने लाजमर्दो चलन नेपाल सरकारको विभिन्न मन्त्रालय तथा विभागमा अझै छ ।

शाह र तिवारी लिखित पुस्तकमा नेपालमा पाइएका २० भिन्न जन्तु प्रजातिलाई पाहा भनिएको छ । तीमध्ये कतिपयको हिजोआज वैज्ञानिक नाम फेरिएका छन् । पाहालाई अत्यन्तै स्वादिष्ट मासुका रूपमा उपभोग गर्ने प्रचलन छ । उच्च पहाडी तथा हिमाली भेगका बासिन्दा पाहाको मासु नखाने शायदै छन् ।

ठूला जन्तुको पछाडि

डा. तीर्थबहादुर श्रेष्ठ लिखित पुस्तक नेपालः नखुलेका पाटाहरू (२०६६) मा नेपालका प्राकृतिक सम्पदा र जैविक विविधताबारे सविस्तार बयान छ । २०५७ सालदेखि हिमाल मा प्रकाशित लेखहरू समाविष्ट पुस्तक विशेषतः जैविक विविधताप्रति रुचि राख्नेका निम्ति एक दस्तावेज हो ।

डा. श्रेष्ठले लेखे जस्तो हाम्रा जैविक विविधताको वास्तविक अवस्थितिबारे सरोकारवाला माझ पुर्‍याउनुपर्ने कैयौं सन्दर्भ ठाउँ विशेषमा प्रशस्तै भेटिन्छन् । यस्ता सन्दर्भ देख्दा लाग्छ, नेपालमा जीवजन्तु अध्ययन, अनुसन्धान तथा संरक्षणसँग सम्बन्धित सरोकारवालाहरूले गर्न धेरै बाँकी छ । यसो हुनुको कारण, हामीकहाँ विशेषतः ‘वन्यजन्तु संरक्षण’ भनेर हात्ती, गैंडा, बाघ, भालु, हिमचितुवाको संरक्षणलाई मात्रै बुझ्नु हो । किनभने, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, वल्र्ड वाइड फन्ड (डब्लुडब्लुएफ) नेपाल, जुलोजिकल सोसाइटी लण्डन, नेपाल शाखा, आईयूसीएन, राष्ट्रिय प्रकृति संरक्षण कोष आदिले उल्लिखित जन्तुहरूबाहेक अन्यलाई महत्व दिंदैन । उनीहरू ठूला जन्तुका प्रजातिलाई भने ‘फ्लागसिप स्पेसिस’ भन्दै महत्व दिन्छन् । विडम्बना भन्नुपर्छ, सम्बन्धित सरकारी निकाय, संघ–संस्था र अनुसन्धानकर्ताहरू समग्र वन्यजन्तु संरक्षणमा होइन, सीमित ठूला जन्तुका पछि कुदिरहेका छन् ।

उपरोक्त अन्तर्राष्ट्रिय संस्थाहरूले वन्यजन्तु संरक्षण लगायत काममा वार्षिक अर्बौं रुपैयाँ खर्च गर्छन् । हाम्रा वन्यजन्तु संरक्षण सम्बन्धी नीति–निर्माताहरू पनि उल्लिखित संघ–संस्थाहरूको रुचि अनुसार ठूला जन्तुहरूको मात्रै अध्ययन, अनुसन्धान र संरक्षण हुनुपर्ने ठान्छन् । सानो वन्यजन्तुमा हिउँचितुवासम्म परेकाले हामीकहाँ पछिल्लो दशक यसको पछिलाग्ने थुप्रै वन्यजन्तुविद् छन् । यसैले हामीकहाँ पाइएका थरीथरीका चितुवा प्रजातिका नाम नेपालको संरक्षण सम्बन्धित निर्देशिका आदिमा समावेश भइसकेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ वन्यजन्तु संरक्षण सम्बन्धी हाम्रो मुख्य ऐन हो । यसमा ‘वन्यजन्तु भन्नाले घरपालुवा बाहेक जुनसुकै जातिको स्तनधारी जन्तु, पक्षी, घस्रिने जन्तु, माछा, भ्यागुता जाति र कीरा–फट्याङ्ग्रालाई सम्झनुपर्ने र फुल पार्ने जन्तुको फुल समेतलाई जनाउने’ उल्लेख छ । यो ऐन अनुसार पनि ठूला जनावर बाहेक अन्य हजारौं वन्यजन्तुबारे हामीकहाँ खोजीनिती गर्न आवश्यक रहेको देखिन्छ ।

पाहाको शिकार

अन्नपूर्ण गाउँपालिकाका युवाले एकै रात मारेका ५६ वटा पाहालाई सुकाइँदै ।
उपरोक्त ऐनले प्राकृतिक वातावरणको संरक्षण र प्राकृतिक स्रोतको सन्तुलित उपयोगका लागि एकीकृत योजना अनुसार व्यवस्थापन गरिने क्षेत्रलाई ‘संरक्षण क्षेत्र’ भनेको छ । म्याग्दीस्थित अन्नपूर्ण गाउँपालिका अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ ।

त्यहाँ पाहा मार्न हुन्न भन्ने सर्वसाधारणलाई मात्र होइन, वन्यजन्तु संरक्षण अभियन्ताहरूलाई समेत थाहा छैन । उनीहरू निष्फिक्री पाहा मारेर खाने गर्छन् । स्थानीयवासीले पाहा विशेषतः असार, साउन र भदौमा मार्ने गर्छन् ।

पाहा शिकारीका अनुसार, पाहा मार्न रातको समयमा उपयुक्त हुन्छ । पाहा ढुंगाको कापबाट रातमा चर्नका लागि निस्कन्छ । यसरी बाहिर निस्केको पाहालाई उज्यालो देखायो भने एकनास हेरिरहन्छ । शिकारीले टर्चलाइटको उज्यालो देखाएर पाहालाई सजिलै समाउँछन् । बत्ती निभाउँदा भने पाहा तुरुन्तै उफ्रेर भाग्छ ।

कुन–कुन प्रजातिको पाहा पाइन्छ भनेर अन्नपूर्ण गाउँपालिकाको वनमा यो पंक्तिकार २०७४ को भदौयता पाँचपटक पुगेको छ । गएको जेठमा त्यहाँ पुग्दा वर्षेनि पाहा मार्न जानेहरूलाई पाहाको नमूना राखिदिन विशेष अनुरोध गरेका थियौं । मिरिस्ती खोला जलविद्युत् परियोजनाको वातावरण शाखा कार्यालयमा प्रत्येक प्रजातिको एक–एक वटा नमूना उपलब्ध गराउन भन्दै विशेष रसायन र बट्टा छाडिएको थियो ।

पछिल्लो पटक त्यहाँ पुग्दा, अन्नपूर्ण गाउँपालिका–४ का नाच्र्याङ बेसी गाउँका तीन जना युवाले गएको भदौमा एकै रात ५६ वटा करीब तीन भिन्न प्रजातिका पाहा मारेको थाहा भयो । शिकारीहरूसँग भेटघाट गर्दा आफूहरूले पाहा मारे पनि वातावरण शाखा कार्यालयमा दिन नसकेको बताए । नमूना नराखिदिएकोमा भन्दा पनि यत्रो संख्यामा पाहा मारेको सुनेर हामी मर्माहत भयौं ।

ती युवाले नाच्र्याङ लेक गाउँबाट उत्तरतर्फ रहेको झण्डै एक दिनको पैदल दूरीमा अवस्थित एक ओडारमा बास बसेर पाहाको शिकार गरेका रहेछन् । त्यहाँ नीलगिरि हिमाल र अन्नपूर्ण प्रथम हिमालबाट बगेर आउने खोला मिसिएर बनेको निकै ठूलो खोला छ । त्यो ठाउँसम्म हम्मेसी कुनै गाउँले पुग्दैनन् । जन्तुविज्ञका रूपमा पहिलो पटक कुलप्रसाद लिम्बू र राजेन्द्र बसौला गएको जेठमा त्यहाँ पुगेका थिए । त्यसबेला उनीहरूले एउटा पनि पाहा भेटेनन् ।

भलाकुसारीका क्रममा ती युवाहरूले कतै नाम उल्लेख नगर्ने शर्तमा पाहा मार्दै गरेको र सुकुटी बनाएको तस्वीर दिन सहमत भए ।

उनीहरूका अनुसार, उच्च हिमाली भेगबाट ल्याइएका पाहाहरू गाउँलेहरूले तँछाड–मछाड गर्दै किन्दा रहेछन् । एउटा ताजा पाहा गाउँमा रु.५०० देखि रु.६०० सम्ममा बिक्री हुँदोरहेछ । बिक्री नभएको औषधिका लागि सुकुटी बनाएर राखिंदो रहेछ । हामीले नमूना राखिदिनेलाई २–४ सय रुपैयाँ दिने भनेका थियौं । कम दाम दिने भनेकैले नराखिएको भन्ने बुझ्यौं । भनेको दाम दिने भनेपछि उनीहरूले अर्को साल बर्खामा मारेको पाहा राख्ने बताएका छन् ।

अन्नपूर्ण गाउँपालिकामा हामीले यसपटक पाहा मार्ने एक टोली मात्र भेटेका हौं । त्यहाँ त्यस्ता कति टोलीबाट वर्षेनि कति संख्यामा पाहा मारिन्छन् ? त्यहाँ दुर्लभ प्रजातिका पाहा भएको भए यसरी शिकार गर्दै जाँदा तिनीहरू जानकारीमै नआई लोप हुन सक्छन् । यसबारे ध्यान दिन जरूरी छ ।

comments powered by Disqus

रमझम