३० भदौ २०७० | 15 September 2013

सुत्केरी सेवा नपाएर मृत्यु

Share:
  
चेतना र दक्ष स्वास्थ्यकर्मीको अभावले बाजुराका दलित र गरीब महिलाको सुत्केरी सेवा नपाएर मृत्यु भइरहेको छ ।

तस्वीरः प्रकाश सिंह
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसूति भवन बाढीले बगाउँदा खुला चौरमा सुत्केरीलाई जाँच गर्दै स्वास्थ्यकर्मी ।
२०६९ मा बाजुराका २८ वर्षभन्दा कम उमेरका ९ जना महिलाको सुत्केरी हुँदा राम्रो उपचार नपाएर मृत्यु भयो । २०६८ मा पनि त्यही कारण त्यहाँका चार जना महिलाको मृत्यु भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र दवाडी अस्पतालको उपचार नपाएर दुर्गम गाउँका महिलाले ज्यान गुमाउनु परेको बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराकी स्टाफ नर्स धर्मा रोकाया सुत्केरी व्यथाबाट मृत्यु हुनेमा अधिकांश दलित समुदाय र गरीब परिवारका रहेको बताउँछिन् । सम्पन्न परिवारकाले सुत्केरी हुनुअघि नै सुविधासम्पन्न ठाउँमा स्वास्थ्य सेवा लिने गरेको र त्यस्ता ठाउँमा जान नसक्ने दलित र गरीब परिवारका महिलाको उपचारको अभावमा मृत्यु हुने गरेको सदरमुकाम मार्तडीकी स्वयंसेविका सीता विकको अनुभव छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, सुत्केरी हुनुअघि र बच्चा जन्माएको चार पाँच दिनमा महिलाहरूको मृत्यु हुने गरेको छ ।

दक्ष जनशक्तिको अभाव

अनमी लल्ता थापाको विचारमा गर्भवती भएपछि स्वास्थ्य जाँच नगराउनु र जिल्लामा उपचारका लागि दक्ष जनशक्ति नहुनु महिला मृत्युको मुख्य कारण हो । विकट गाउँबाट सदरमुकाम आइपुग्न समस्या हुने भएकाले त्यहाँका अधिकांश महिलाले गाउँ घरमै सुत्केरी गराउने गरेको उनी बताउँछिन् । सुत्केरी व्यथा लाग्दा धामीझँक्रीको भर पर्नु, सुत्केरी हुँदा पनि बाँच्नका लागि कडा परिश्रम गर्नुपर्ने बाध्यता महिलाको ज्यान जाने अरू कारण रहेको देखिन्छ । दुर्गम गाउँ दहकोट मल्दुगनकी धना रोकाया भन्छिन्, “काम नगरे खान नपाइने भएकाले सुत्केरी हुँदा पनि यहाँका महिलाले कडा परिश्रम गर्नुपर्ने बाध्यता छ ।”

यहाँका गाउँमा सुत्केरी सेवा दिने दक्ष जनशक्ति नहुँदा स्वयंसेविकाको भर पर्नुपर्ने स्थिति छ भने कैयौं गाउँमा गर्भवती महिला र बच्चाले खोप समेत पाएका छैनन् । गाउँमा स्वास्थ्यकर्मी बस्न नमान्ने हुँदा लामो समय स्वास्थ्य चौकी बन्द हुने गरेको छ । रुगिन, बिच्छँया, गोत्री, काँडा, डोगडी, तोली, छतारा, साप्पाटा, दहकोट, मनाकोट गाविसको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको सिनियर अहेब दीपक शाह नै स्वीकार्छन् ।

बाजुराको उत्तरी क्षेत्रका ११ गाविस, मुगु र हुम्लालाई पनि सेवा दिनुपर्ने कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा नै विगत डेढ वर्षदेखि डाक्टर छैनन् । अहेब शाह सरकारी तथा गैरसरकारी संस्थाले गर्भवती महिलाका लागि करोडौं रुपैयाँ खर्च गरेको भए पनि महिलाको अवस्थामा परिवर्तन नआएको बताउँछन् ।

प्रकाश सिंह, बाजुरा


सीसीटीभीबाट आशा

तस्वीरः ईश्वरचन्द्र झा
जनकपुरको रामानन्द चोकमा १८ वैशाख २०६९ मा मिथिला राज्यको माग गर्दै धर्नामा बसेका पाँच जनाको मृत्यु र दुई दर्जन घाइते हुने गरी बम विस्फोट हुँदाको दृश्य जिल्ला प्रहरी कार्यालयमा विद्युत् नरहेकाले सीसीटीभीमा कैद भएन । क्यामरा जडित पोलमा बिजुली हुँदा पनि नियन्त्रण कक्षको सिस्टमले काम नगरेकोमा जनकपुरवासीबाट व्यापक विरोध भएपछि अहिले जिल्ला प्रहरी कार्यालयमा विद्युत्को ब्याकअप राखिएको छ ।

वैशाख तेस्रो साता विद्यापति चोकको रोशन मोबाइल सेन्टरबाट रु.१ लाखभन्दा बढी मूल्यका मोबाइल सेट र अन्य सामान चोरी हुँदा पनि नियन्त्रण कक्षको कमजोरीले सीसीटीभीले रेकर्ड गर्न सकेको थिएन । जबकि, १२ वटा चोकमा राखिएका ३७ क्यामरामा हरेकले डेढ सय मिटर दूरीको दृश्य खिच्न सक्छन् ।

जनकपुर शिवचोकमा संचार उद्यमी अरुण सिंघानियाको हत्या भएपछि जनकपुरका उद्यमी–व्यवसायीले चन्दा उठाएर प्रहरीलाई २६ वैशाख २०६८ मा सीसीटीभी जडान गर्न लगाएका थिए । तर, धेरै आशा गरेर जडान गरिएको सीसीटीभीले अहिलेसम्म कुनै घटनाको अनुसन्धान गर्न सहयोग पु¥याएको देखिएको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक गोविन्द पुरी भने सीसीटीभीले अपराधीहरूमा मनोवैज्ञानिक त्रास सिर्जना गरेकाले अपराध घटेको बताउँछन् । सीसीटीभी राखिएपछि चोकहरूबाट साइकल र मोटरसाइकल चोर्ने गिरोह पत्ता लागेको उनको भनाइ छ । उद्योग वाणिज्य संघ जनकपुरका महासचिव ललित साह पनि सीसीटीभी जडान भएपछि दुई वर्षअघि जस्तो भूमिगत सशस्त्र समूहको भय नरहेको बताउँछन् ।

सीसीटीभीले अपराधीमा पारेको प्रभाव धेरै नदेखिए पनि चोकमा तैनाथ सुरक्षाकर्मीलाई अनैतिक काम गर्न रोकेको घटनाले देखाएका छन् । प्रहरी निरीक्षक पुरी भन्छन्, “चोकहरूमा ड्यूटीमा खटाइएका प्रहरीका गतिविधि हेरेर नराम्रो गर्नेलाई कारबाही गर्न सकिएको छ ।”

रु.४० लाख खर्च गरेर जडान गरिएका क्यामरामा अहिले १८ वटा मात्र काम लाग्ने छन् । स्रोत नभएकाले दुई महीनाअघि बिग्रिएका १९ क्यामरा बनाउन नसकिएको प्रहरी निरीक्षक पुरी बताउँछन् । ५ मेगापिक्सेलका सीसीटीभी क्यामरा राति बत्ती गएको वेलामा पनि खिच्न सक्ने क्षमताका छन् ।

ईश्वरचन्द्र झ, जनकपुर


दूधबाट दाम

पोखराका रेशमराज पन्थीले दूध डेरी शुरू गरेर लोभलाग्दो कमाइ गरेका छन् ।

जागिर खान रसुवामा पर्ने गणेश हिमालको फेदीमा रहेको खानी र जस्ता उद्योगमा पुग्दा लेक लागेर फर्किएपछि कास्की शिशुवा ढोडबेसीका रेशमराज पन्थीले पोखरामा सियोधागो पसल खोले । त्यसले उँभो नलगाउने देखेपछि मिठाई पसल शुरू गरेका उनले त्यसबाट पनि राम्रो कमाइ नभएपछि घरछेउमै बोर्डिङ स्कूल शुरू गरे । त्यसले पनि सफलता नदिलाउने लागेपछि र बुबाले विदेश पनि जान नदिएपछि उनले पोखराको पृथ्वीचोकमा आइसक्रिम पसल थापे । २०४५ मा थापेको त्यही पसल अहिले ‘पन्थी डेरी’ बनेको छ । जसले, उनलाई अहिले रु.९ करोडको मालिक बनाएको छ ।

पोखराको दूध तथा दुग्धजन्य उत्पादनमा ब्रान्ड बनेको ‘पन्थी डेरी’ रेशमराजले २०५४ मा दर्ता गरेका थिए । पोखरा–४ गैह्रापाटनको गल्लीमा मुख्य बिक्री केन्द्र रहेको डेरीको उद्योग पोखरा औद्योगिक केन्द्रमा छ । अहिले ६५ जनालाई रोजगारी दिएको डेरीको शुरूका दिन सम्झ्ँदै रेशमराज भन्छन्, “४० लिटर दूध हुने एक क्यान कुँडहरबाट आफैंले ल्याएर आइसक्रिम बनाउन थालेको हुँ ।” आइसक्रिम बनाउने मशीन भारतबाट ल्याउन घरजग्गा धितो राखेर नेपाल ब्याङ्कबाट लिएको रु.१ लाख पठाएकै वेला २०४५ मा भारतले नाकाबन्दी लगायो । नाकाबन्दीका कारण मशीन नआएपछि ब्याङ्कलाई हारगुहार गरेर थप ऋण लिएको रु.५० हजार पठाएपछि मात्र उनको मशीन आइपुग्यो ।

त्यसरी स्थापना गरेको आइसक्रिम पसलले नाफा दिन थालेपछि डेरी चलाउन शुरू गरे पनि २०६० सम्म उनको डेरीले त्यति उन्नति गरेको थिएन । सरकारी दुग्ध विकास संस्थान (डीडीसी) को पोखरा दुग्ध वितरण आयोजना निजीकरण भएपछि भने डेरीबाट उन्नति हुन थालेको बताउँदै रेशमराज भन्छन्, “डेरीको उन्नति देखेर अहिले विश्व ब्याङ्कले पनि पाँच वर्षमा फिर्ता लैजाने गरी ४५ प्रतिशत शेयर लिएको छ ।” शेयर बापत विश्व ब्याङ्कले पाँच वर्षको नाफा पाउने र पाँच वर्षपछि सम्पूर्ण शेयर बेचेर जाने सहमति भएको पनि उनले बताए ।

पन्थी डेरीले अहिले दैनिक १० हजार लिटर आइसक्रिम उत्पादन गर्छ । २०० र ४०० मिलिलिटरको दही प्रतिघण्टा २ हजार ५०० कप बनाउन सक्ने सो डेरीले पनिर, चीज, दही, आइसक्रिम, दूध पनि उत्पादन गर्छ । दिनमा तीन हजार लिटर दूध बेच्ने गरेका रेशमराज भन्छन्, “सरकारले पशुपालनलाई प्रोत्साहन गर्ने हो भने डेरी उद्योगको भविष्य राम्रो छ ।”

माधव बराल, पोखरा

comments powered by Disqus

रमझम