११-१७ कार्तिक २०७५ | 28 Oct - 3 Nov 2018

यूपीभीसीको छानो

Share:
  

करीब डेढ दशकअघि नेपाल भित्रिएको यूपीभीसी (अनप्लास्टिसाइज्ड पोलिभिनाइल क्लोराइड) प्रविधि अहिले झ्यालढोका र छानो समेत बनाउन धेरैका लागि आकर्षक विकल्प बनेको छ । जडान गर्न सहज, हेर्दा आकर्षक र खेर नजाने मात्र होइन अरु थुप्रै गुणले पनि यसको प्रयोग बढ्दो छ । खासगरी फलामको ट्रस राखेर बनाउने घरहरूमा त यसको प्रयोग निर्विकल्प जस्तै बन्न थालिसक्यो । प्रिफ्याबको भित्तामा यूपीभीसीका झ्यालढोका र छानो राखेर घर बनाउने क्रम १२ वैशाख २०७२ को भूकम्पपछि ह्वात्तै बढेको यसका बिक्रेताहरू बताउँछन् ।

बोलीचालीको भाषामा ‘जस्ता’ भनिने ग्याल्भेनाइज्ड आइरन (जीआई) सीटको विकल्पमा प्रयोग गरिने भए पनि आजकाल ढलानको छानोको विकल्पमा समेत यसको प्रयोग बढ्न थालेको छ । “भूकम्पपछि मानिसहरू साना घर बनाउन थालेका छन्”, सनराइज यूपीभीसी उत्पादन गरिरहेको अपूर्व इन्टरनेशनलका मार्केटिङ प्रमुख रूपक श्रेष्ठ भन्छन्, “ढलान घरमा तला थप्दा पनि लोड कम गर्नका लागि यूूपीभीसीको प्रयोग बढेको छ ।”

यूपीभीसीमा खिया नलाग्ने हुँदा यसको आकर्षण वर्षौंसम्म कायम रहन्छ । बाह्य तापक्रमको प्रभाव जस्तापाता भन्दा धेरै कम पर्ने हुँदा यसले गर्मीमा कोठा धेरै तात्ने र जाडोमा अत्यधिक चिसो हुने समस्या आउन दिंदैन । यसले जस्ताको तुलनामा आवाजको प्रवाहलाई ९० प्रतिशतसम्म कम गर्छ । रसायन प्रतिरोधी हुने हुँदा यूपीभीसीको प्रयोग औद्योगिक क्षेत्रमा पनि बढ्दो छ । श्रेष्ठको अनुमानमा अहिले नयाँ बनिरहेका छानामध्ये करीब ५ प्रतिशतमा यूपीभीसी प्रयोग भइरहेको छ ।

नेपाली बजारमा अहिले आयातित र घरेलु उत्पादन गरेर विभिन्न किसिमका यूपीभीसी छानाहरू उपलब्ध छन् । नेपालमा यूपीभीसी आयात गरिने प्रमुख देश चीन हो भने नेपालमै दुई उद्योगले उत्पादन गरिरहेका छन् । अपूर्व इन्टरनेशनलले ‘सनराइज यूपीभीसी’ ब्रान्डमा उत्पादन गरिरहेको छ भने एआई मेटलले ‘इको यूपीभीसी’ ब्रान्डमा उत्पादन गरिरहेको छ । आयातित यूपीभीसी बेच्नेमध्येको एक क्षमादेवी कन्स्ट्रक्सन प्रालिले फाइबर राखेको यूपीभीसी छानोलाई प्रति वर्गफिट रु.१३० मा बिक्री गरिरहेको छ । फाइबर नराखेको यूपीभीसीको मूल्य चाहिं प्रतिवर्गफिट रु.११५ र रु.१०० छ । रु.१०० दरको यूपीभीसीमा वारेण्टी भने हुँदैन । बाँकी दुई गुणस्तरमा २५ वर्षको वारेण्टी छ ।

स्वदेशी उत्पादन सनराइजले उच्च गुणस्तरको यूपीभीसीको मूल्य प्रति वर्गफिट रु.१५२ र न्यून गुणस्तरको यूपीभीसीको मूल्य रु.११८ तोकेको छ । जस्ताको तुलनामा यसको मूल्य दोब्बर नै पर्ने भए पनि हरेक आकारमा उपलब्ध हुने भएकाले खेर जाने सम्भावना हुँदैन । त्यसकारण पूरै छाना छाउँदा जस्तापातामा भन्दा ३० देखि ३५ प्रतिशत बढी मूल्यमा यूपीभीसी प्रयोग गर्न सकिने श्रेष्ठको भनाइ छ ।

आयातित यूपीभीसी नीलो, रातो (पेराकोटा) र हरियो रंगमा उपलब्ध छ । नेपालमै नीलो र रातो रंगमा उत्पादन भइरहेको र अब गाढा हरियो रंगमा उत्पादनको तयारी थालिएको श्रेष्ठ बताउँछन् ।

यूपीभीसीको गुणस्तर मापन चाहिं यसको तौलबाट गर्न सकिन्छ । सबै यूपीभीसीको मोटाइ तीन मिलिमिटर हुने भएकाले तौल नगरी यसको गुणस्तर थाहा हुन्न । सनराइजले अहिले प्रतिवर्ग फिट २६० ग्राम र १२० ग्राम तौलका यूपीभीसी उत्पादन गरिरहेको छ । बढी तौल हुने यूपीभीसीको भारवहन क्षमता पनि बढी हुन्छ । ‘ग्लास फाइबर मेस’ अर्थात् सिसाको जाली राखेर बनाइएको यूपीभीसी बढी तौलको र बलियो हुन्छ ।

सामान्यतया हिमपात वा बढी गर्मी हुने ठाउँमा बढी फाइबर भएको अर्थात् गह्रौं खालको यूपीभीसी प्रयोग गर्नुपर्छ । सामान्य मौसममा हलुका र सस्तो यूपीभीसी पर्याप्त हुन्छ ।

comments powered by Disqus

रमझम