१८ कार्तिक - १ मंसिर २०७५ | 4-17 November 2018

सही विश्लेषण

Share:
  

‘संक्रमणले शिथिल नेकपा’ (११–१७ कात्तिक) आवरण विश्लेषणले निराश तुल्यायो । देश र जनताको भविष्यसँग जोडिएको नेकपाको शिथिलताले राम्रो संकेत गर्दैन । चाँडोभन्दा चाँडो नेकपाको संगठन र कार्यदिशालाई चुस्तदुरुस्त बनाइएन भने भोलि कसैले पनि नेकपालाई बचाउन सक्ने छैनन् । हिमाल को विश्लेषणलाई नै केन्द्रमा राखेर सर्वत्र देखिएको अन्योल समाधान गर्न नेतृत्वपंक्ति अर्थात् अध्यक्षद्वय निस्वार्थ भावनाले लाग्नु नै श्रेयष्कर देखिन्छ । एकतापछिको संक्रमणको भुमरीबाट पार्टीलाई जति छिटो निकास दिन सक्यो त्यति नै पार्टी र जनताको हितमा हुन्छ । चाडपर्वको माहोलमा पार्टीको संक्रमणकाल मिहिन रूपमा औंल्याइदिएर सुशासनको लागि घच्घच्याउने हिमाल लाई धेरै–धेरै धन्यवाद ।

प्रद्युम्न शर्मा, अनलाइनबाट

मधेशको यथार्थ !

‘चकमन्न मधेश’ (११–१७ कात्तिक) देहात संवादले समग्र मधेशको यथार्थ मिहिन रूपमा पस्किएको छ । अतिवादतर्फको अस्वाभाविक आकर्षणबाट मधेशलाई बचाउन मध्यमार्गी धार बलियो हुनै पर्छ । वर्तमान शक्तिशाली सरकारले मधेशकेन्द्रित दलहरूलाई अल्झउने र झुकाउने रणनीतिमा नभई उनीहरूका जायज माग सम्बोधन गरी मधेशका असन्तुष्टि निराकरण गर्नुपर्छ । अर्कोतिर आन्दोलन र निर्वाचनको मोर्चामा अगाडि देखिएका मधेशकेन्द्रित दलहरू पनि अहिलेको स्थितिमा एक कदम अगाडि बढेर मधेशमा आफ्नो पराजयको मनोविज्ञानलाई हटाई राष्ट्रिय मूलधारमा गाँसिनै पर्छ । त्यसले मात्रै मधेशमा अतिवादी शक्तिलाई परास्त गर्न सकिन्छ ।

हाल मधेशमा सम्भावित द्वन्द्व र त्यसबाट उत्पन्न हुने सन्त्रासबाट मधेशीजनलाई आश्वस्त तुल्याउनु नै सबैको हितमा छ । प्रदेश–२ सरकार र मधेशकेन्द्रित दलहरूले सेवा, विकास र आत्मीयताबाट जनविश्वास जित्न सके भने अतिवाद झंगिनबाट रोकिनेछ । जातीय, सामाजिक, सांस्कृतिक र भाषिक विविधता नै मुलुकको यथार्थ हो ।

प्रवेश यादव, अनलाइनबाट

आश होइन, निराशाको थुप्रो !

‘सिर्जित विचलनको दुष्परिणाम’ (११–१७ कात्तिक) निर्मला हत्या प्रकरणसम्बन्धी टिप्पणी पढ्दा आश होइन, निराश मात्र पार्‍यो । स्रोत–साधनमा कमजोर रहेकाले नेपाल प्रहरीले सही अनुसन्धान गर्न सकेन भन्नु झ्नै नालायकी हो । अनुसन्धानमा हदैसम्मको अकर्मण्यता र लापरबाही गर्ने प्रहरी कुनै पनि कोणबाट क्षमाको पात्र हुन सक्दैन । प्रहरी प्रशासनबाट भएको कमजोरीले आश होइन, निराशा मात्र हात लागेको छ । स्रोत–साधन छैन भनेर काम नगर्ने हो भने तलबभत्ता खुवाउन र जनतालाई तर्साउन मात्र किन चाहियो प्रहरी ? निर्मला घटनालाई मानक मानेर स्रोत–साधन भएन भन्ने होइन, आत्मबल बढाएर प्रहरी संगठनलाई परिचालित गर्नुपर्छ । संगठनलाई हिरो या जिरो के बनाउने हो, नेतृत्वकै हातमा छ ।

वासुदेव शर्मा, अनलाइनबाट

बेथिति अन्त्यका लागि आत्मबल

‘कालोधनको रजाइँ’ (११–१७ कात्तिक) रिपोर्टले कालोधन थुपार्नेमाथि खोजबिन र अनुसन्धान गरी कानूनी कठघरामा उभ्याउनुपर्ने आवश्यकता औंल्याइदिएको छ । हुन त आफैं पर्ने खाल्डो कसले पो खन्छ र ! सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट मात्र होइन, अन्य प्रकारबाट पनि कालोधन माथि अनुसन्धान हुनुपर्छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कर्मचारीहरूमा पनि यस्तो भय सिर्जना होस् कि हामीले अनुसन्धानमा कमजोरी गरे अरूले पनि त्यसमा ओभरटेक गरिदिन्छन्, हामी पनि त्यसमा पर्छौं । एउटाले नसक्ने काममा अर्कोले पनि अनुसन्धान गर्ने र कारबाही हुने परिपाटी स्थापित भएमा यस्तो बेथिति हुने थिएन कि ! सरकारमा आत्मबल हुने हो भने बेथितिको जरैदेखि अन्त्य हुनेछ ।

विन्देश तामाङ, अनलाइनबाट

समाचार–शत्ति

‘मलेशिया–काठमाडौं नेक्सस पुष्टि’ (११–१७ कात्तिक) पढिसकेपछि पत्रिकामा प्रकाशित समाचारको प्रभाव गतिलै हुनेरहेछ भन्ने स्थापित भएको छ । लेखेर के नै पो हुन्छ र भन्नेहरूलाई पनि बेथितिविरुद्ध समाचार छापिनुपर्ने रहेछ भन्ने परेको छ । राज्यको नीतिनिर्माण तहमै छुने गरिका यस्ता समाचार आइरहनुपर्छ, यो नै मिडियाको प्राण हो । समाचार प्रभावले समाचारको शक्ति स्थापित भएको छ ।

देवीचरण काफ्ले, अनलाइनबाट

सन्ततिलाई लामो आयु दिऊँ

‘पर्यावरणका मित्र’ (११–१७ कात्तिक) विद्युतीय सवारी साधन सम्बन्धी रिपोर्ट पढेर खुशी लाग्यो । प्रदूषणको मारमा परिरहेका काठमाडौं उपत्यकावासीलाई त यसले ज्यानै भरेको हुनुपर्छ । जनस्वास्थ्य र शहर अनुकूल यस्ता सवारी साधनको संख्या बढाउन पेट्रोलियमका सवारी साधनको विस्थापनतिर सरकार र निजी क्षेत्र अघि बढिहाल्नुपर्छ । समृद्ध र सुन्दर शहर, अनि उज्यालो देश निर्माणका लागि विद्युत् नै भरपर्दो विकल्प हो । पर्यावरणका मित्र विद्युतीय सवारी साधनको विकासमा ढिला नगरौं ।

मनु श्रेष्ठ, अनलाइनबाट

comments powered by Disqus

रमझम