‘दात्रीरस’ र ‘अग्निरस’ को राजनीति

Share:
  
- भैरव रिसाल
राजा वीरेन्द्रले ‘सुधारसहितको पञ्चायत वा बहुदल’ छान्न जनमतसंग्रहको घोषणा गरेसँगै ‘दात्रीरस’ र ‘अग्निरस’ को अभियान चल्यो। त्यसमा केही युवा सार्वजनिक रूपमै देखिए, पर्दाभित्र भने कुन–कुन शत्तिाm वा व्यत्ति थिए भन्ने थाहा भएन।

स्व. राजा वीरेन्द्र ।
पञ्चायत राजनीतिको अवसान उन्मुख एउटा कालखण्डमा ‘दात्रीरस’ र ‘अग्निरस’ भन्ने शब्द जल्दोबल्दो रूपमा उपस्थित भए । यी नव आविष्कृत शब्दहरूको शाब्दिक अर्थ, व्याख्या र विश्लेषण नहुँदै जसरी सहसा उत्पत्ति भएका थिए, त्यही प्रक्रियाबाट विलीन भए ।

यी दुई शब्द सँगसँगै जस्तो अर्को शब्द ‘जिञ्जर–ग्रुप’ पनि ‘क्वाइन’ भएको थियो । तर, शब्द आविष्कारक व्यक्तिको अवसानअघि नै ‘जिञ्जर–ग्रुप’ हरायो ।

‘दात्रीरस’ बुझ्निे शब्द हो भने ‘अग्निरस’ को विशेष अर्थ लगाउन सकिन्छ । निर्दलीय पञ्चायत प्रणालीलाई ‘प्रजातान्त्रिक पञ्चायत व्यवस्था’ भने जस्तै अग्नि वा आगो रसविहीन शब्द हो । आगोको धर्म नै रससहितको पदार्थ वा वस्तुलाई रसविहीन नीरस पारी भष्म पार्नु हो । ईश्वरवल्लभको ‘आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्’ भन्ने कविता जस्तो ।

१ पुस २०१७ मा शिशु प्रजातन्त्रको घाँटी अँठ्याएपछि २२ पुसमा राजा महेन्द्रले भने, “अरूले शताब्दी लगाएर गरेको विकास हामीले १०–२० वर्षमै गर्नुपर्ने खण्ड परेको छ । देशको सर्वतोमुखी विकास तथा निर्माणको निम्ति आज एउटा नयाँ शक्तिको मूल फुटाउनुपरेको छ ।” उनले ‘हाम्रो शताब्दीदेखिको दरिद्रता, अज्ञानता र पिछडिएको अवस्थालाई हटाई यही नेपालको माटोमा जरा हाल्न सक्ने यहाँकै हावापानी सुहाउँदो प्रजातन्त्रको बिरुवा फुलाउन फलाउन’ भन्ने अनेकौं सुन्दर शब्दावली प्रयोग गर्दै पञ्चायत ल्याएका हुन् ।

त्यसरी ल्याएको निर्दलीय पञ्चायतले १८ वर्ष धानेपछि २०३५ सालको अन्त्यदेखि धर्मराउन लाग्यो । १० जेठ २०३६ मा राजा वीरेन्द्रले ‘सुधारसहितको पञ्चायत वा बहुदल’ छान्न जनमतसंग्रहको घोषणा गरे । यही सन्दर्भमा ‘दात्रीरस’ र ‘अग्निरस’ को अभियान नै चल्यो । त्यसमा केही युवा सार्वजनिक रूपमै देखिए, पर्दाभित्र भने कुन–कुन शक्ति वा व्यक्ति थिए भन्ने थाहा भएन । तर, यी शब्द रहस्यमै आए, गए ।

‘जिञ्जर–ग्रुप’ को गठन

व्यवस्था निर्दलीय थियो । तर, यी दुई रसले भित्ते प्रचार शुरू गरे । दात्रीरसको नामबाट डा. तुलसी गिरीको पक्षमा प्रचार गरियो । यस अन्तर्गत ‘डा. गिरी पञ्चायतको नेता हो । डा. गिरी चुप नबस । डा. गिरी माथिको अख्तियार दुरुपयोग निवारण आयोगको मुद्दा भारतमा श्रीमती इन्दिरा गान्धी माथिको जस्तो हो’ भन्ने थिए । ‘अग्निरस’ को नामबाट भने गिरीको विरोधमा अर्को शक्ति उभियो । ‘डा. गिरी धोकेवाज, अपराधी हो । डा. गिरीले पञ्च र पञ्चायत नष्ट गर्‍यो, डा. गिरीलाई उचित दण्ड दे’ आदि नारा लेखिए । कतैकतै अश्लील नारा पनि लेखिएका थिए ।

त्यसैताका डा. हर्क गुरुङको पक्षमा पनि लमजुङ, तनहुँका ढुंगाहरूमा नारा लेखिन थाले । ती नारामध्ये एउटा नारा अहिले पनि यो पंक्तिकारलाई सम्झ्ना छ– ‘डा. गुरुङ हर्क, लमजुङ फर्क ।’

जनमतसंग्रहपछि ती दुवै ‘रस’ सुके । दात्रीरस पनि रसविहीन भयो, अग्निरस त झ्न् अघि नै सुक्यो । दात्रीरसका एउटा प्रमुख पात्र ललितपुर लुभू लामाटारका शिवहरि पौडेल असमयमै बिते । यी दुवै रसको व्याख्या हुन पाएन ।

यसै अनुक्रममा राष्ट्रिय पञ्चायत सदस्य द्रोणशमशेर राणाले ‘जिञ्जर–ग्रुप’ नामको समूह बनाए, जसको प्रचार र संगठनको काममा पूर्व सहायक मन्त्री हीरालाल विश्वकर्मा र राष्ट्रिय पञ्चायत सदस्य बमबहादुर कठायत थिए । पञ्चायत राजनीतिको सिद्धान्तमा निर्दल भए पनि व्यवहारमा पञ्चहरूका अनेक समूह थिए । उदारवादी र अनुदारवादी पञ्चहरू दुवैको उस्तै सशक्त समूह थियो । यी समूहमध्ये एउटा सत्तामा भएका बेला अर्कोले जुलूस समेत निकाल्थ्यो । यदाकदा त यस्ता विरोधबाट प्रधानमन्त्री नै फेरिन्थे पनि । पञ्चायतको निर्दलीय राजनीतिले झ्ण्डै तीन दशक गर्नु–नगर्नु गर्‍यो ।

राजाका सपना कविता भए

‘अरूले शताब्दी लगाएर गरेको विकास हामीले १०–२० वर्षमै गर्नुपर्ने खण्ड परेको छ’ भनी पञ्चायत ल्याइएको भए पनि व्यवहारमा त्यस्तो देखिएन । अरूले १०–२० वर्षमै गरेको विकास पञ्चायतले अर्धशताब्दी वा शताब्दी लगाएको जस्तो परिणाम आयो । ‘हावापानी सुहाउँदो प्रजातन्त्रको बिरुवा’ भनी अतिरञ्जनापूर्ण परिभाषा गरी ल्याइएको पञ्चायत राजनीतिले नेपाली माटोमा न जरा हाल्न सक्यो, न त यहाँको हावापानी पचाउन ।

१ जेठ २०३७ को जनमत परिणामले २० लाखभन्दा बढी नेपालीले पञ्चायतलाई हल्लाएका थिए भने २६ चैत २०४६ मा त ‘पञ्चायती रूख’ लाई सबै जरा झ्किी उखेलेर जलाए । पञ्चायती शासनका तीन दशकसम्म राजाको सपना अनुसारको विकास र नयाँ शक्तिको मूल फुटेन, दरिद्रता, अज्ञानता र पिछडिएको अवस्था पनि हटेन । अन्ततः पञ्चायत थला बस्यो र राजाको सपना कविता भए ।

comments powered by Disqus

रमझम