अपराधी सुपुर्दगी सन्धि

Share:
  
- ज्ञानमणि नेपाल
बहादुर शाहले श्यामर्पा र उनका साथी समेतलाई शरण दिएर राखे। भोटका काजीले श्यामर्पालाई सुम्प भनेर तारन्तार गर्दा पनि ‘शरणको मरण गर्नुहुँदैन’ भनेर नेपालले श्यामर्पालाई सुम्पेन।

भोटले खासा सीमाको जमीन धेरै मिच्यो भनेर कास्यालका काजी र चिनियाँ प्रतिनिधि अम्बाहरूलाई नेपालले बारम्बार लेखिपठाएपछि दुवैतर्फका प्रतिनिधि खासामै भेला भई निक्र्योल गरी सन्धि गरेको बेहोरा गताङ्कमा उल्लेख गरियो । यसपछि तिनै प्रतिनिधिको भेलाले अपराधी सुपुर्दगी सन्धि पनि गरिहालौं भन्ने सरसल्लाह गरेर सो काम पनि त्यसै बेला सकाए ।

भोटका तासी ल्हुन्पो मठका महन्त पाल्देन येशे चीनका बादशाहका गुरु थिए । बादशाहलाई आशीर्वाद दिन गएका गुरु उतै बिते । उनलाई बादशाहले दिएको भेटी/दक्षिणा र अरू उपहार उनकै गुम्बामा ल्याएर राखियो । नयाँ औतारी लामा खोज्न केही वर्ष लाग्यो । त्यस अवधिमा मठको कारबार भएर उनकै भाइ श्यामर्पा लामा बसे । पछि नयाँ औतारी लामा ठेगान भएर मठमा बस्न आए, उनको मान्छेले ढिकुटीको सम्पत्तिको बुझ्बुझरथ गर्दा धेरै सम्पत्ति हिनामिना भएको देखियो र त्यसै निहुँमा श्यामर्पा लामालाई कैद गरे । केही दिनपछि श्यामर्पा लामा पन्ध्र जना सहयोगीका साथ पाएसम्मको सम्पत्ति कुम्ल्याएर जेलबाट भागी सुखिम (सिक्किम) आएर नेपालसँग शरण मागे । बहादुर शाहले पाडे काजीलाई पठाएर श्यामर्पा र उनका साथी समेतलाई ल्याएर शरण दिएर राखे । उनीहरूले ‘भोट चीन माया मार्यौं नेपालको पिछा पर्यौं’ भन्ने कबोल गरी काठमाडौं सिम्भू क्षेत्रमा बस्न थाले । उता भोटका काजीले श्यामर्पालाई सुम्प भनेर तारन्तार गर्न लागे । शरणको मरण गर्नुहुँदैन भनेर नेपालले श्यामर्पालाई सुम्पेन ।

एक त टक (मुद्रा) को कुरो मिल्न नसकेको छँदैथियो, अब झ्न् श्यामर्पाको समस्या बल्झ्यिो । युद्धै शुरू भयो । नेपालसँगको यो पहिलो युद्धमा भोटले चीनसँग सहायता माग्यो । चीन बादशाहले च्याचुङ्गको नेतृत्वमा सहायताका लागि सैनिक दल पठायो । चिनियाँले भोट र नेपाली दुईतर्फकै कुरा बुझी भोटकै अर्घेलो ठहर्‍याई भोटले वर्षेनि नेपाललाई ५० हजार रुपैयाँ तिर्नुपर्ने, नेपालले जितेको भोटको जमीनमा दाबी नगर्ने शर्तमा मिलापत्र गराएर गए । भोटले एक वर्ष पचास हजार रुपैयाँ तिर्‍यो । अर्को साल तिर्न मानेन । मिनाहा माग्न आएका भोटेकाजीका नेतृत्वको दलले कुनै जुक्तिले श्यामर्पालाई पक्रेर लैजाने सुर बुझेपछि उसैलाई पक्रेर नेपालले विधिपूर्वक युद्ध छेड्यो । काजी दामोदर पाडेको नेतृत्वमा गएको सैनिक दलले जित्तै गएर दिगर्चा मठको सम्पत्ति कुम्ल्याएर पूर्वको बाटो टिष्टासम्म सर गरी नेपाल फिर्‍यो । यति भएपछि भोटले पुनः चीनको सहायता माग्यो ।

बादशाहको आदेशले बडा बजीर टुङ्गथ्वाङ भोटको सहायताका लागि स–सैनिक आएपछि घमासान युद्ध भयो । उनको माग ‘श्यामर्पालाई सुम्प, अरू बादशाहले दिएको भेटी र उपहार फिर्ता देऊ’ भन्ने थियो । श्यामर्पाले आत्महत्या गरेकोले नेपाललाई मिल्न सजिलो भो । श्यामर्पाको लास बुझइयो । ‘श्यामर्पाले मासेछ’ भनेर बाँकी उपहारमा आएको सम्पत्ति यति हो भनेर थोरबहुत दिएर विदा गरियो र झ्गडा शान्त पारियो ।

टुङ्गथ्वाङ फर्केर जाँदा उनको एक सैनिकले एक नेपालीकी स्वास्नी फकाएर लगेछ । ल्हासा पुगेपछि अम्बाले थाहा पाएछन् र नेपालका श्री ५ लाई लेखेछन्– ‘हाम्रो बदमास सिपाहीले तपाईंका मान्छेको स्वास्नी फकाएर ल्याएछ । त्यसलाई नसिहत दिएर त्यो स्वास्नीलाई हिफाजतसाथ फर्काइपठाइदिएको छ, त्यहाँ तपाईंहरूले अर्कासँग पोइल गएकी स्वास्नी हो भनेर हेलाँ, गाली कुटपिट नगर्नुहोला, यस स्वास्नीको केही दोष छैन, यसको बैंसको दोष हो यो । बैंसको दोषले यो यहाँ आइछ, साथी लाएर हिफाजतसाथ पठाइदिएको छ । यसको पोइलाई यो स्वास्नी सुम्पिदिनुहोला, कुनै दुःख सास्ती यो स्वास्नीले नपाओस् ।’

एउटा नेपालीको स्वास्नीको विराम माफ गरेर चिनियाँ अम्बाले कति इज्जतसाथ नेपालमा सुम्पिपठाइदिए । स्त्रीप्रतिको यो कति राम्रो व्यवहार गरे । यो चाहिं सुपुर्दगीको पुरानो घटना भयो । यस्तै कार्यका लागि जंगबहादुरका पालामा पनि सुपुर्दगी सन्धि भएको थियो ।


स्वस्ति श्री गोर्खा महाराजका हुकुमले बडा बजीर श्रीप्राइम्मिनिष्टर यान् कम्पाडर इन चीफ जंगबहादुर कुवर राणाजीका मर्जीले आयाका भारदार र श्रीचीनभोट सर्कारका हुकुमले आएका भारदारहरू खासा दोसाधमा बसी बन्दोबस्त गर्यौं ।

उप्रान्त आजसम्म गोर्खा भोटका साध सिमानामा बस्न्या गैह्रलाई एकातर्फबाट बलपनपक्षे गर्दा दोस्रो तर्फका रैयत विपक्षेका हुनाले बरोबर निसाफ नपाउदा साह्रै बिनिसाफमा परी कराउथ्या. अब उप्रान्त भोट तर्फका र भोटमा खुन केही उपद्रवखत लागन्या कुरा गरी खतुकी भै भागि भोटबाट गोर्खाको अम्बलमा आयो भन्या त्यस्तालाई भोटतर्फबाट फलानु विराम विझइ गरी फलानुु मानिस फलाना जगामा बस्याको छ, तलास गराई पठाइ देउ भन्या लेखत आयो भन्या तेस्तालाई पक्रि जताबाट लेखिआयो वही सपुर्त गरी पठाइदिनु. औ गोर्खातर्फबाट गोर्खामा खुन चोरी उपद्रव खत लागुन्या कुरो गरी खतुुकी भै गोर्खाबाट भोटका अमबलमा आयो भन्या तेस्तालाई पक्री जताबाट लेखिआयाको छ उही सपुुर्दगरी पठाइदिनु. औ भोटतर्फका रैयतको र गोर्खातर्फका रैयतको सिवानाको र अरू कौनै कुराको झ्ैझ्गडा केही परिआयो भन्या दोसाधमा २ तर्फका मानिस बसी पुर्पक्षे गरी डंड जिताउरी जो पर्छ, गोर्खाको रैयतको डंड जिताउरी गोर्खाले खानु भोटका रैयतको डंड जिताउरी भोटले खानु भन्या स्थिति बन्दोबस्त गरी छिन्यौ. यस स्थिति बन्दोबस्तमा सिवानामा रहन्या मानिस छोटा बडा रैयत गैह्रले यो लेख्या बमोजिम नमानी लंघन गर्नामा जो पस्ला तेस्तालाई २ सर्कारबाट सजाय होला. यस बेहोरामा खतुकीहरूलाई आफ्ना आफ्ना जिल्लामा छदाछदै दबाउना छपाउनामा जो पस्ला उसलाई डंड भारी सासना होला भन्या स्थितिको बन्दोवस्त गर्यौं.

तपसील

श्री ५ गोर्खा तर्फ भारदार

काजी उमाकान्त उपाध्याय १

कप्तान सताराम खत्री १

कप्तान जबर कार्की १

डिठ्ठा मानसरवर १

भोट मुन्सी धिनरसिं १

भोटतर्फका भारदार

लावाङ छ्यानजोय, च्याड्थ्वाय् ल्हावाङ् गोन्वो १

कुतीका ढेवा मेनछुवा १

कुतीका ढेवा हिजिन ताना १

कारोबारी नाम्घ्याल छेटेन १

दोभास्या इस्ये १

दोभास्या कार्साङ १

खासाको मिझर जिंवधर १

खासाको ल्हाप्चेन् १

शाके १७२५ संवत् १९१० साल मिति श्रावण शुदि १ रोज ६ मुकाम खासा शुभम्

यही बेहोराको भोट्या अक्षर पनि छ ।

comments powered by Disqus

रमझम