१८ कार्तिक - १ मंसिर २०७५ | 4-17 November 2018

आफैंले निम्त्याएको समस्या

Share:
  
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकको सुझाव विपरीत आवश्यक आराम नगर्ने र भीडभाड हुने कार्यक्रममा सहभागी भइदिंदा स्वास्थ्यमा समस्या आउने गरेको छ।

तस्वीरः थाहाखबर
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र तत्कालीन राजाले जस्तै यस पटकको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिए, त्यो पनि दशमीदेखि चतुर्दशीसम्म चार दिन लगातार । प्रधानमन्त्री ओलीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीका अनुसार त्रयोदशी र चतुर्दशीमा मात्र ओलीले दुई हजारभन्दा बढी सर्वसाधारणलाई टीका लगाइदिएका थिए । उनको सचिवालयले सर्वसाधारणलाई टीका लगाइदिने कार्यतालिका नै सार्वजनिक गरेपछि टीका लगाउनेको भीड झ्न् बढेको थियो ।

विगत पाँच वर्षदेखि प्रधानमन्त्री ओलीको उपचारमा संलग्न प्राध्यापक डा.दिव्यासिंह शाहका अनुसार, उमेर र स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री ओलीलाई बढी आराम चाहिन्छ । तर, उनले टीका थाप्न आउने सबैलाई उभिएरै टीका लगाइदिए, त्यसबाट धपेडी बढ्यो । सल्लाहकार मैनाली भन्छन्, “आफूभन्दा ठूला मान्छे र मान्यजनका हातबाट टीका थाप्न आउने हाम्रो संस्कार हो, बाहिर गेटमा आएकालाई रित्तो निधार फर्काउन सकेनौं, सबैलाई टीका लगाउँदा प्रधानमन्त्रीलाई आराम पुगेन ।”

जिद्दी स्वभाव

धपेडीकै कारण छातीमा संक्रमण भई श्वासप्रश्वासमा समस्या भएपछि १२ कात्तिकमा प्रधानमन्त्री ओली उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भए । मिर्गौला प्रत्यारोपण गरेका कारण संक्रमणबाट जोगिनु र स्वास्थ्यप्रति बढी सजग हुनुपर्ने व्यक्ति अस्पताल भर्ना भएपछि उनी गम्भीर बिरामी भएको आशंका गरियो । उसो त १० कात्तिकमा नेकपाले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान समारोहमा प्रधानमन्त्री ओली नजानुको कारण उनको स्वास्थ्य अवस्था मात्र भनिंदा पनि त्यस्तो आशंकालाई बल पुग्यो ।

डा.शाहका भनाइमा, प्रधानमन्त्री ओलीलाई लागेको रुघाखोकी हो । तर, नाक–घाँटी हुँदै छातीसम्म पुगेको संक्रमणले श्वासप्रश्वासमा समस्या गराएपछि उनलाई अस्पताल भर्ना गर्नुपर्‍यो । चिकित्सकहरूका भनाइमा, छातीमा संक्रमण भएपछि निमोनियाको सम्भावना बढी हुन्छ । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको रोग प्रतिरोधी क्षमता कम हुने भएकाले संक्रमण पनि चाँडै हुन्छ । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका ओलीमा मधुमेहको समस्या पनि छ । रुघाखोकी लागेर अरुचि भएपछि प्रधानमन्त्रीले खाना नखाएको र त्योसँगै इन्सुलिन पनि नलिंदा शरीरमा चिनीको मात्रा बढ्न गई अस्पताल भर्ना गर्नुपरेको डा.शाह बताउँछिन् । उनका अनुसार मधुमेहका बिरामीलाई संक्रमण भयो भने, शरीरमा चिनीको मात्रा बढ्छ र त्यस्तो अवस्थामा कीटाणु चाँडै फैलिने सम्भावना हुन्छ ।

प्रधानमन्त्री ओलीको जिद्दी स्वभाव र आराम नगर्ने बानी पनि उनको स्वास्थ्यमा समस्या आउनुको एउटा कारण रहेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् । चिकित्सकहरूले उनलाई सकेसम्म भीडभाड हुने ठाउँमा नजान र भेटघाटलाई कम गर्न सुझव दिंदै आएका छन् । तर, प्रधानमन्त्री ओली त्यसको पर्वाह नगरी भेटघाट र सार्वजनिक कार्यक्रमलाई निरन्तरता दिइरहेका हुन्छन् । “उहाँको सर्वसाधारणसँग बढी रमाउने बानीले हामीले नचाहँदा पनि भेटघाट गर्नेको भीड हुन्छ”, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार मैनाली भन्छन् । आफूले महत्वपूर्ण भेटघाटका लागि मात्र समय मिलाउने प्रयास गरे पनि त्यो सम्भव नभएको उनी बताउँछन् ।

दशैंको टीका लगाउन आउने व्यक्तिबाटै ओलीमा संक्रमण भएको हुनसक्ने चिकित्सकहरूको अनुमान छ । एक वर्षअघि सम्पन्न आम निर्वाचनका वेला ओलीलाई चिकित्सकहरूले आराम गर्न सुझएका थिए । तर, त्यसवेला उनले देशदौडाहा गरे । “प्रधानमन्त्रीको आफ्नै खालको जिद्दी स्वभाव छ” शाह भन्छिन्, “कार्यकर्तासँग बढी घुलमिल हुँदा आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ र प्रधानमन्त्रीको संवेदनशीलतालाई पनि कार्यकर्ताले बुझ्दििनुपर्दछ ।”

उमेर र स्वास्थ्य अवस्थाका हिसाबले प्रधानमन्त्री ओली दैनिक न्यूनतम सात घण्टा सुत्नुपर्ने चिकित्सकहरूको सुझव छ । तर, ओली आफैं चारदेखि पाँच घण्टा मात्रै सुत्ने गरेको बताउँछन् । गएको भदौमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियाका बेला उनले आफू राति दुई बजेपछि मात्रै सुत्ने गरेको खुलाएका थिए । निजी सचिवालयका अनुसार राति अबेरसम्म उनी भेटघाट र लेखपढमै व्यस्त रहन्छन् भने बिहान ६ बजे उठिसक्छन् । निद्राबाट ब्युँझ्निका लागि उनलाई ‘अलार्म’ नचाहिने निकटस्थहरू बताउँछन् । श्रीमती राधिका शाक्यले प्रधानमन्त्री ओलीलाई बेलैमा खाना र औषधि खुवाउने र निरन्तर उनको स्वास्थ्य अवस्थामा ध्यान दिइरहने हुँदा ओलीको आत्मविश्वास भने तुलनात्मक रूपमा बढी भएको डा.शाह बताउँछिन् ।

मुकेश पोखरेल


‘प्रधानमन्त्रीले नमस्ते मात्रै गरे हुन्थ्यो’

प्राध्यापक डा. दिव्यासिंह शाह, मिर्गौला रोग विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको स्वास्थ्यमा कस्तो जोखिम हुन्छ ?

मिर्गौला प्रत्यारोपण गरेपछि शरीरको रोग प्रतिरोधी क्षमताले प्रत्यारोपण गरिएको अंग आफ्नो नभएको तुरुन्तै जानकारी पाउँछ । उसले प्रत्यारोपित मिर्गौलालाई शत्रुको रुपमा चिन्ने भएकोले प्रत्यारोपण गरिएको मिर्गौला जोगाउनका लागि विशेष औषधि दिइन्छ । पछि गएर प्रत्यारोपण गरिएको अंगलाई शरीरले विस्तारै स्वीकार्न थाल्छ ।

पहिलो एक वर्षमा संक्रमणको जोखिम एकदमै उच्च हुन्छ । यस्तो बेला सामान्य अवस्थाका मानिसलाई छुन नसक्ने र स्वस्थ व्यक्तिको शरीरमा रहने कीटाणुले पनि आक्रमण गर्दछ । जस्तै सामान्य अवस्थामा फंगस शरीरमा रहँदा फरक नपर्न सक्छ तर, रोग प्रतिरोधी क्षमता कम भएका बेला यसबाट पनि संक्रमणको जोखिम धेरै हुन्छ । त्यसकारण सफाइ र खानामा निकै ध्यान दिनु जरुरी छ ।

सामान्य मानिसले पचाउन सक्ने खाना पनि मिर्गौला प्रत्यारोपण गरेका मानिसले पचाउन सक्दैनन् । यस्ता व्यक्तिमा झाडापखालाले पनि ज्यानकै जोखिम गराउँछ ।

मिर्गौला ‘फेल’ हुने कारण के हो ?

हालसम्मको अध्ययन अनुसार मिर्गौला ‘फेल’ हुनुको पहिलो कारण मधुमेह हो भने दोस्रो उच्च रक्तचाप र तेस्रो ग्लोमेरुलोनेफ्राइटिस । प्रोटिनको मात्रा बढी भएर पिसाबबाट चुहिने रोगलाई ग्लोमेरुलोनेफ्राइटिस भनिन्छ । यो रोग लागेको सजिलै भेउ पाइँदैन । अन्त्यमा यसले मिर्गौलालाई ‘ड्यामेज’ गर्छ ।

मिर्गौला फेल हुन थालेको पहिल्यै थाहा पाउन सकिंदैन ?

अहिलेसम्मको ‘ट्रेण्ड’ नै अन्तिम चरणमा अस्पताल आउने छ । समय–समयमा स्वास्थ्य परीक्षण गराउने, मधुमेह, उच्च रक्तचाप र ग्लोमेरुलोनेफ्राइटिसबाट बच्न सावधानी अपनाउने हो भने अन्तिम अवस्था भन्दा पहिल्यै जानकारी पाउन सकिन्छ । र, त्यसको सहज उपचार पनि सम्भव छ ।

मिर्गौला प्रत्यारोपण गरेका मानिसले के के कुरामा बढी ध्यान दिनुपर्छ ?

यस्ता व्यक्तिले सेवन गर्ने औषधिले शरीरमा चिनीको मात्रा तलमाथि बनाउँछ र मोटोपन पनि बढाउन सक्छ । त्यसकारण खानामा निकै सावधानी अपनाउनुपर्छ । प्रत्यारोपण गरिएका व्यक्तिमा मुटु रोगको सम्भावना अरुलाई भन्दा बढी हुन्छ । नूनको मात्रा पनि मिलाएर सेवन गर्नुपर्दछ । मिर्गौला रोगीले अचार, निम्की, भुजिया जस्ता बजारिया र नुनिला पदार्थ खानुहुँदैन ।

रोग प्रतिरोधी क्षमता कम हुने हुँदा प्रत्यारोपण गरिएका व्यक्ति रुघाखोकीले मात्रै पनि अरुभन्दा चाँडै सिकिस्त हुन्छन् । नियमित औषधि लिइरहने हुँदा ज्वरो कम आउँछ र रोगको लक्षण अरु व्यक्तिमा भन्दा ढिलो देखिन्छ । तर, रोगले भित्रभित्रै असर गर्ने हुँदा समयमै उपचार गरिएन भने निको पार्न एकदमै गाह्रो हुन्छ ।

प्रधानमन्त्रीलाई अहिले भएको के हो ?

प्रधानमन्त्रीलाई रुघाखोकी लागेको हो । संक्रमण बढ्दै गएर छातीसम्म पुग्यो र श्वासप्रश्वासमा समस्या देखियो । प्रत्यारोपणपछि लिने औषधिले उहाँको शरीरमा चिनीको मात्रा बढी हुन्छ । त्यसको नियन्त्रणका लागि इन्सुलिन लिइरहनुभएको छ । रुघाखोकी लागेर खान मन नलागेपछि प्रधानमन्त्रीले मधुमेहको औषधि बन्द गर्नुभएको रहेछ, त्यसले शरीरमा चिनीको मात्रा बढायो र सँगै संक्रमण पनि चाँडै फैलियो ।

नियमित अनुगमन गर्न सजिलो हुने भएकाले उहाँलाई अस्पतालमा भर्ना गरिएको हो । इन्फेक्सन भएको बेलामा खाना नखाए पनि मधुमेहको औषधि लिनुपर्दछ, औषधि नखाँदा पनि समस्या आएको हो ।

दशैंको बेला धेरै जनासँग सम्पर्कमा आउँदा पनि प्रधानमन्त्री बिरामी भएको चर्चा छ, त्यस्तो हो ?

कतै न कतैबाट शरीरमा भाइरस प्रवेश नगरी संक्रमण हुँदैन । दशैंमा धेरै मानिसलाई टीका लगाउँदा रुघा लागेकाहरू पनि आएको र त्यहींबाट भाइरस सरेर बिरामी भएको हुने सम्भावना धेरै छ ।

अब संभावित संक्रमणको जोखिम कसरी कम गर्ने ?

प्रधानमन्त्री र अन्यको हकमा पनि रुघाखोकी वा अन्य संक्रमण भएका व्यक्ति नजिक नआउन सूचना प्रकाशित गर्न सकिन्छ । भेटघाटका बेला ‘मास्क’ को प्रयोग गर्न सकिन्छ । फेरि हात मिलाउँदा र छुँदा पनि संक्रमण सर्ने सम्भावना हुन्छ । त्यसैले प्रधानमन्त्रीले अरुसँग हात मिलाउने काम पनि बन्द गर्नुपर्छ । नमस्ते गर्दा नै पुग्छ ।

विगत पाँच वर्षदेखि प्रधानमन्त्रीको उपचारमा संलग्न हुनुहुन्छ, स्वास्थ्यप्रति उहाँ कति सजग हुनुहुन्छ ?

मानव शरीरलाई आराम पुगेन भने तनाव बढ्छ । तनावले रक्तचाप र मधुमेह बढाउँछ । उमेरका हिसाबले प्रधानमन्त्री कम्तीमा पनि ६–७ घण्टा सुत्नुपर्दछ । तर उहाँले यी कुरालाई ध्यान दिएको देखिंदैन । उहाँको अधिकांश समय सधैं भीडभाड र ब्रिफिङमा बित्छ ।

प्रधानमन्त्रीको सचिवालयले महत्वपूर्ण भेटघाटको मात्रै समय मिलाउने र राजनीतिक नेता कार्यकर्ताले पनि प्रधानमन्त्रीलाई भेट्न मरिहत्ते गर्ने कामलाई बन्द गर्नुपर्छ ।

comments powered by Disqus

रमझम