१८ कार्तिक - १ मंसिर २०७५ | 4-17 November 2018

नेता बन्ने बाटो

Share:
  
- चन्द्रकिशोर
सामूहिक निर्णय र सहभागितामा काम गर्नेलाई प्रोत्साहन गर्ने बुझाइ भुइँसतहमा नभएसम्म माथिबाट फुक्र्याइएकाहरू नै नेता बनिरहन्छन्।

भानु भट्टराई
तराईका गाउँमा ‘नेताजी’ भनेर सम्बोधन गरिने व्यक्ति बग्रेल्ती भेटिन्छन् । प्रत्येक वडा वा टोलमा दुई–चार जना यस्ता व्यक्ति भेटिन्छन्, जसलाई तिनका ‘लाभार्थी’ हरूले ‘नेताजी’ सम्बोधन गर्छन् । सर्वसाधारणको मस्तिष्कमा नेता भन्ने बित्तिकै कस्तो विम्ब आउँछ ? कस्तो व्यक्ति आममान्छेबाट ‘नेताजी’ मा रूपान्तरित हुन्छ ? यी प्रश्नको खोजीनिती गर्दा रोचक तथ्य फेलापरे ।

वीरगञ्ज नगवाका सामाजिक अभियन्ता मनोज चौरसिया ‘नेताजी’ भनेर चिनिनेहरूको चालढाल र भेषभूषा बेग्लै हुने बताउँछन् । उनका अनुसार, जब कसैले आम मानिसबाट राजनीतिकर्मीको रूपमा चिनारी पाउने क्रम शुरू हुन्छ, उसले कुर्ता–पाइजामा लगाई काँधमा गम्छा हालेर हिंड्छ । त्यस्तै, अरूलाई चालक बनाई आफू मोटरसाइकलको पछाडि बस्छ । पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायणप्रसाद रौनियार (२९) को अनुभव भने भिन्न छ । उनको अनुभवले भन्छ, “जनताले पत्याउने काम गरेपछि मात्रै नेता भइन्छ ।”

मधेश आन्दोलनमा सक्रिय भए पनि रौनियारलाई स्थानीय नागरिकले पत्याएका थिएनन् । पहिलो संविधानसभामा मधेशी जनअधिकार फोरम सरकारमा गयो, उनले चिनेका नेताहरू पनि मन्त्री बने । उनी भन्छन्, “मैले निरन्तरको भनसुनबाट आफ्नो क्षेत्रमा कृषिका लागि केही बजेट पारें । अनि मात्रै जनताले मलाई पत्याउन थाले ।” वीरगञ्जमा सहायक प्रमुख जिल्ला अधिकारीसँग चिनजान भएकाले उनले पोखरियाबाट आउने सर्वसाधारणका काम छिटो र सहज तरिकाले गराइदिन थाले । उनी भन्छन्, “यसले जनतामा मप्रतिको विश्वास बढायो ।”

पर्साको तत्कालीन निर्मलबस्ती गाविसका पूर्व उपाध्यक्ष गोविन्दप्रताप श्रेष्ठ भुइँसतहदेखि दुई किसिमका मानिसहरू नेतृत्वमा आउने बताउँछन् । पहिलोः जसले तृण तहमा परम्परागत रूपमा वर्चस्व जमाएका छन्, उनीहरूका सदस्य राजनीतिमा सक्रिय हुन्छन् । दोस्रोः धन वा बलको आडमा राजनीतिमा छिर्नेहरू । विद्यालय, उपभोक्ता समिति, वन संरक्षण जस्ता कामहरूमा संलग्न भई पहिचान बनाएर राजनीतिमा छिर्नेहरू पनि छन् । स्थानीय प्रशासनले पत्याएका आधारमा पनि जो–कोही छोटो समयमा राजनीतिमा स्थापित हुनसक्ने उनको बुझइ छ ।

बारा, पचरौताका युवा नेता जितेन्द्र सिंह स्थानीय प्रशासनमा पहुँच र प्रभाव भएकाको अगाडि असल मुद्दासहित आन्दोलनमा लागेकाहरू फिका हुने बताउँछन् । उनी भन्छन्, “यदाकदा आन्दोलनमा संघर्ष गरेका वा जनताको सुख–दुःखमा इमानदारीपूर्वक लागेकाहरूलाई पनि जनताले पत्याउँछन् । तर, यो बाटो लामो छ ।”

उनका अनुसार सदरमुकाममा रहेका सिडियो र एसपीले मात्रै होइन, गाउँको प्रहरी चौकीको प्रमुखले पनि आफूले रुचाएकालाई जनताबीच प्रभावशाली बनाइदिन्छ । पत्यारिलो मान्छे मार्फत कुनै खिचलो लिएर प्रहरीचौकी पुग्दा तत्काल सुनुवाइ मात्रै हुँदैन, पक्षमा फैसला गरी विपक्षीलाई डाँटडपट गरिदिने काम पनि हुन्छ । बृहत्तर सामुदायिक हितका लागि संघर्ष गर्ने जस्ता आदर्श पक्षहरूले जनतामा प्रभाव नपार्ने होइन, तर दिनहुँ आइपर्ने स–साना खिचलोका लागि मानिसहरू उसैको ओत लाग्छन्, जसको राज्य संयन्त्रमा पकड छ । कतिपय सर्वसाधारणलाई नागरिकताको, जन्म वा मृत्यु दर्ताको प्रमाणपत्र लिनु, शहर–बजारको अस्पताल पुग्नु आदि नै ठूलो काम हुन्छ, यिनै काम सहज गराइदिनेहरू उनीहरूका लागि ‘नेताजी’ भइहाले । कतिपय अवस्थामा बिचौलियाका काम गर्नेहरूले पनि ‘नेताजी’ को विशेषण पाउँछन् ।

राजनीतिक दलहरूबाट प्रशिक्षित भई गाउँघरमा राजनीति गर्न पुग्नेहरू थोरै छन् । पढाइ वा सेवाका क्रममा विभेद भोग्नुपर्दा पनि राजनीतिमा लाग्नेहरू नभएका होइनन् । देहातमा त आपसमा मनमुटाव वा झै–झ्गडा भएका व्यक्तिहरू फरक–फरक राजनीतिक शक्तिसँग जोडिन पुग्छन् । त्यसैगरी, जाति विशेषबीच पहिचानको बुझइ नमिल्दा कपितय आफ्नै जातिको अगुवाइ गर्ने चाहनाले पनि राजनीतितिर लाग्छन् ।

अहिले स्थानीय तहमै अधिकार पुगेर दलित, महिला लगायत पनि नेतृत्वमा आएका छन् । यद्यपि, पछिल्लो चुनावले कतिपय ठाउँमा परम्परागत रूपमा चलिआएको सम्भ्रान्तहरूको दबदबालाई निरन्तरता दिएकै छ ।

विभिन्न किसिमले राज्यद्वारा प्रश्रय पाएर नेता बन्नु सामन्ती संरचनाको सहउत्पादन हो । सेवाग्राहीले सेवा प्रदायकबाट सहज रूपमा सेवा पायो भने तेस्रो मान्छे आवश्यक पर्दैन । त्यस्तै, भनसुनका आधारमा सेवा लिने, काम बनाउने परम्परा रहेसम्म स्थानीय सरकार हुनुको अर्थ हुँदैन ।

सामूहिक निर्णय र सहभागितामा काम गर्नेलाई प्रोत्साहन गर्ने बुझइ भुइँसतहमा नभएसम्म माथिबाट फुक्र्याइएकाहरू नै नेता बनिरहन्छन् । अग्रगामी सोच भएकाहरूलाई नहेरी स्थानीय तहमा प्रभाव पार्न सक्ने शक्तिशालीलाई मात्रै हेर्ने दलहरूको चिन्तन रहेसम्म गरीबहरूको आवाजको कदर हुँदैन । भुइँसतहको राजनीति नै लोकतन्त्रको ‘सेफ्टी भल्भ’ हो । यहाँ कस्ता मान्छे कसरी नेता बन्न पुग्छन्, त्यसले लोकतन्त्रको तन्दुरुस्ती देखाउँछ ।

comments powered by Disqus

रमझम