१८ कार्तिक - १ मंसिर २०७५ | 4-17 November 2018

हामी फोहोरी !

Share:
  
- डा. अरुणा उप्रेती
जबसम्म नेपाल फोहोर छ भनिंदैन, तबसम्म सफा गर्ने सोच पनि आउँदैन।

काठमाडौंको न्यूरोडमा थुप्रिएको फोहोर ।
यस पटकको दशैंमा अमेरिकी साथीसँग पोखरा जाँदैथिएँ । बसको यात्रा, सँगैका यात्रीले बान्ताका पोका झयालबाट फालेको देखेर उनले अनुहार बिगारे पनि केही बोलिनन् । बरु मलाई नै लाज लाग्यो । तर, के गर्नु हाम्रो बानी यस्तै !

एक वर्षअघि नेशनल जोग्राफीमा नेपालका अति सुन्दर घुम्नैपर्ने दश ठाउँको तस्वीर आयो । सन् २०१९ मा यात्रा गर्नका लागि लोन्ली प्लानेटले काठमाडौंलाई १० उत्कृष्ट शहरमा छानेको छ । पर्यटक बढ्ने आशाले हामी हर्षित छौं । तर, यी समाचारसँगै मैले सम्झ्एिकी छु– गन्हाउने वागमती, विभिन्न शहरमा फोहोरको डंगुर, बसपार्कमा थुप्रिएको फोहोर !

पर्यटन र फोहोर सँगसँगै

पत्रपत्रिका र सामाजिक सञ्जालमा हिमाल, पोखराका ताल र मुगुको रारा लगायतका तस्वीर देख्दा हामी नेपाललाई स्विट्जरल्याण्ड जस्तो भनिदिन्छौं । रारा, मुस्ताङको भ्रमण गर्ने र तराईका मन्दिरहरूमा दर्शन गर्ने आन्तरिक पर्यटक बढेका समाचारले पनि हामी दङ्ग पर्छौं । डोटी र अछाममा बस्नेहरू हलेसी, पाथिभरा र जनकपुरधाम पुगेका छन् ।

काठमाडौंमा बस्नेहरू छिन्नमस्तादेखि शैलेश्वरीसम्म पुगिरहेका छन् । तर, यी क्षेत्रमा बढ्दो फोहोरबारे पत्रपत्रिका वा सामाजिक सञ्जालमा कुरा उठाएको देखिंदैन । पशुपति जानेले कैलाशडाँडा वा गुह्येश्वरीको फोहोरबारे बोलेको सुनिंदैन । डोटीको शैलेश्वरी, गोरखाको मनकामना जाँदा बाटोमा फोहोरका डंगुर देखिन्छ । लोन्ली प्लानेट पढेर आएको कुनै पर्यटक यी ठाउँमा पुग्यो भने उसले के सोच्ला ?

मेरो आशय, जबसम्म नेपाल फोहोर छ भनेर बोलिंदैन, सफा गर्ने विचार पनि आउँदैन । हामी प्रत्येकले सोच्नुपर्ने बेला आएको छ, किन हाम्रा सार्वजनिक स्थल, सरकारी कार्यालय, शौचालय, बगैंचामा फोहोर थुप्रिन्छ ? नेशनल जोग्राफीले हाम्रा पर्यटकीय र तीर्थस्थलको फोहोरको तस्वीर देखायो भने के होला ?

कुनै विदेशी साथीले नेपालको सौन्दर्य वर्णन पढेर आफू नेपाल आउन थालेको खबर पठायो भने तपाईं उसलाई के भन्नुहोला ? म त भन्नेछु “नेपालका हिमाल र डाँडाकाँडा सुन्दर छन् । मानिसहरू पनि आतिथ्यप्रेमी छन् । तर, तिमी फोहोर सहन सक्ने, प्रकृतिलाई हामीले नष्ट गरिरहेको हेर्न र सहन सक्ने भए नेपाल आऊ । होइन भने युट्युब, टेलिभिजन र पत्रिकामै नेपालको सौन्दर्य हेर !”

जताततै थुक्ने, सर्वत्र रछ्यान बनाउने हाम्रो प्रवृत्तिले पक्कै पनि पर्यटकलाई दिक्क पार्छ । हामीले नदीनाला फोहोर पारेका छौं; सडक, मन्दिर, पाटीपौवा दुर्गन्धित बनाएका छौं । हामीकहाँ शौचालय निकै कम छन्, भएकाको पनि राम्रो व्यवस्थापन हुनसकेको छैन । प्लाष्टिकका पोकाले देवस्थल ढाकेका छन् । हामी असभ्य भएका छौं र विदेशी पर्यटकले पनि त्यस्तै ठान्छन् ।

नेपालको फोहोरबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार÷तस्वीर प्रकाशित भइरहे, नेपाल फोहोर छ भनेर नेपालमा पर्यटकहरू आउन कम भैदिए शायद हामी सचेत हुन्थ्यौं कि ! हाम्रा नेता, मन्त्री, व्यापारी, धार्मिक गुरुको घैंटामा घाम लागेर नेपाल सफा पार्न अभियान शुरू हुन्थ्यो कि !

यो पढेर कतिले मलाई देशमा पर्यटक ल्याउन नचाहने अराष्ट्रिय तत्व भन्न पनि सक्लान् । उसो भए, सार्वजनिक स्थल, पर्यटकीय स्थल, गाउँ–शहर, मन्दिर, पार्क सबैतिर फोहोर पार्ने र त्यो फोहोर टुलुटुलु हेरिरहने चाहिं कुन तत्व ?

मेरा आँखा नै फोहोरी !

देश–विदेशबाट आउने ठूल्ठूला राजनीतिक व्यक्तित्व वा पर्यटक जनकपुरका फोहोर गल्लीमा पुगे जनकपुरवासीलाई के भन्लान् ? माछापुच्छ«ेको सौन्दर्य हेरेर रमाएका पर्यटकले फेवाताल वरपरको फोहोर देखेर के भन्दा हुन् ? कल्पना गरौं, जनकनन्दिनी सीता फेरि जनकपुर आइपुगिन् । अब उनको प्रतिक्रिया के होला ?

हिउँद लागेपछि मेरो प्रिय धनुषा र जनकपुर सफा र हरियो होला भनेर सखीहरूसँगै यहाँ आउँदै थिएँ । म र मेरा प्रिय रामका नाममा बनेका मन्दिर, यहाँका ताल तलैया, बाल्यकालमा घुमेका, खेलेका ठाउँ सम्झेर प्रफुल्लित थिएँ । तर, जसोजसो जनकपुर नजिक आउन थाल्यो, एउटा नमीठो गन्ध आउन थाल्यो । मेरो जनकपुर उहिलेको जस्तो रहेनछ ।

जताततै हिलो र फोहोरको दुर्गन्ध । सखीहरूले मलाई खिसी गर्न थाले– “यही हो, तिम्रो प्रिय ठाउँ ? तिमी बाल्यकालमा घुमेको हरियो बगैंचा खोई ?” म विस्मातमा छु, कता हरायो मेरो प्यारो जनकपुर ? यहाँका ताल किनारमा मैले कैयौं छठ मनाएँ । साउनमा मेहन्दी लगाएर छमछम नाचें । त्यो ताल त अहिले फोहोर फाल्ने, शौच गर्ने ठाउँ भएछ ।

म अचम्ममा छु, मैले किन नेपाल सुन्दर देख्न सकिरहेकी छैन ? शायद ‘फूलको आँखामा फूलै संसार’ भनेजस्तै मेरो आँखा नै फोहोरी हो कि !

comments powered by Disqus

रमझम