१८ कार्तिक - १ मंसिर २०७५ | 4-17 November 2018

संवत्को विवाद

Share:
  
- वसन्त महर्जन
नेपालमा मनाइने चाडपर्वलाई लिएर देखिएको विक्रम संवत् र नेपाल संवत् पक्षधरबीचको विवाद निरुपण हुनसकेको छैन।

साल गणनाका लागि अनेक नामका संवत्हरू प्रयोगकर्ताको सुविधा वा आवश्यकता अनुसार प्रयोग हुँदै आएको पाइन्छ । नेपालमा सरकारीस्तरबाट प्रचलित ‘विक्रम संवत्’ र देशकै नामबाट नामकरण गरिएको ‘नेपाल संवत्’ को प्रयोगलाई लिएर केही दशकदेखि विवादसँगै एक खालको राजनीति पनि हुँदै आएको छ । त्यस्तै, संवत्को प्रकृति र नेपालको सांस्कृतिक जीवनलाई बुझनुभन्दा सतही रूपमा तर्क–वितर्क गर्नमा अभ्यस्त रहेको पनि देखिन्छ ।

विक्रम संवत्का पक्षधरहरू नेपालबाटै यसको शुरूआत भएको र आफ्ना चाडपर्व यस संवत्मा आधारित हुने विचार राख्छन् । तर, दशै–तिहार लगायत अधिकांश चाडपर्व गतेबाट नभई तिथि अनुसार चल्नेतर्फ ध्यान दिंदैनन् ।

नेपाल संवत्का पक्षधरहरू पनि चाडपर्व तिथि अनुसार पर्ने भएकाले नेपाली संस्कृति नेपाल संवत्मा आधारित भएको मान्यता राख्छन् । जबकि, नेपाल संवत्लाई व्यवहारमा ल्याउन र सरकारी मान्यता दिलाउन लामो समयदेखि आन्दोलनरत नेवारमा तिथि र गते दुवैमा आधारित चाडपर्वहरू प्रचलित छन् । यसलाई विक्रम संवत् र नेपाल संवत्मा आधारित नभनी चान्द्र र सौर्य मानमा आधारित भन्दा अझ् स्पष्ट हुन्छ । ‘संक्रान्ति’ हरू गते वा सौर्य मानमा आधारित छन् र ती विभिन्न नामका ‘सँल्हू’ का रूपमा प्रचलनमा छन् ।

विक्रम संवत् अनुसार, १ वैशाखमा बंगाल लगायत अन्य समाजमा वर्ष फेरिएको हुन्छ । त्यहाँ विक्रम संवत्को प्रचलन रहेको बुझइ नेपालीको भए पनि त्यो विक्रम संवत् नै हुनुपर्छ भन्ने जरूरी छैन, नेपाल संवत्को स्थिति पनि यही हो ।

समयको गणना सूर्य वा चन्द्रको गति अनुसार गरिन्छ । सूर्यलाई आधार मान्नुलाई सौरमान र चन्द्रमालाई आधार मान्नुलाई चान्द्रमान भनिन्छ । सूर्यलाई आधार मान्ने विक्रम संवत् मात्रै नभएर ईस्वी लगायत अन्य थुप्रै संवत् छन् । त्यस्तै, चन्द्रमालाई आधार मान्ने नेपाल संवत् मात्रै नभएर हिज्री लगायत संवत्हरू पनि छन् । नेवार लगायत अधिकांश नेपालीको सांस्कृतिक जीवनमा प्रचलित चाडपर्वहरू सौरमान र चान्द्रमानमा आधारित भएकाले नेपालका सन्दर्भमा जुनसुकै संवत् भए पनि त्यसलाई प्रयोगका दृष्टिले संयुक्त रूपमा क्यालेन्डर बनाइएको हुन्छ, जसलाई ‘चान्द्र–सौरमान’ आधारित भनेर नामकरण गर्न सकिन्छ ।

सौरमान र चान्द्रमान दुई बेग्लाबेग्लै पद्धति भएकाले एउटा निश्चित पद्धति अपनाएर जति वटा संवत् पनि बनाउन सकिन्छ । देशको नामबाट नामकरण भएको नेपाल संवत् मात्रै नेपालको मौलिक संवत् नभएर मानदेव संवत् लगायत अन्य केही संवत्हरू प्रचलनमा रहेको ऐतिहासिक स्रोतहरूमा पाउन सकिन्छ । सौरमान वा चान्द्रमान पद्धतिमा भएका सबै संवत्को वर्ष फेरिने दिन एकै दिन नपरेर आ–आफ्नो सुविधा अनुसार परेको पनि पाइन्छ ।

विक्रम संवत् नेपालकै मौलिक रहेको दाबी गर्नेहरूले ‘कुनै बेला नेपालमा विक्रम वा विक्रमादित्य नामका राजा रहेको र तिनको नामबाट यो संवत् थालनी भएको’ बताउँछन् । तर, नेपालमा यो नामका कुनै राजा भएको ऐतिहासिक तथ्य र विवरण अहिलेसम्म उपलब्ध भएको छैन । पहिले भारतमा ‘संवत्’ को नामबाट मात्रै प्रचलित यो संवत्मा पछि विक्रम नाम जोडिएको पाइन्छ । तर, ती कुन राजा हुन् भन्ने विषयमा भारतीय इतिहासकारहरूमै अन्योल छ । भारतमा प्रचलित भएपछि यो नाम नेपालमा पनि भित्रियो । नेपालमा यसको प्रयोग अन्य संवत्जस्तो लगातार भएको थिएन । काठमाडौं उपत्यकामा ज्यादाजसो शक संवत् र नेपाल संवत् नै प्रचलनमा थियो । कर्णालीको सिंजा उपत्यकालाई राजधानी बनाई स्थापना भएको खस साम्राज्यमा पनि शक संवत्को प्रचलन रहेको र त्यसपछि टुक्रिएका विभिन्न राज्यले पनि शक संवत्लाई नै प्रचलनमा ल्याएको पाइन्छ ।

गोरखामा विक्रम संवत्को प्रचलन रहेकाले नेपाल एकीकरणपछि पृथ्वीनारायण शाहले नेपाल संवत्लाई हटाएर विक्रम संवत्लाई प्रचलनमा ल्याएको भन्ने भ्रम केहीमा रहेको पाइन्छ । जबकि, उनले त्यतिबेला प्रचलित शक संवत्लाई नै निरन्तरता दिएका थिए । तत्कालीन नेपाल (काठमाडौं उपत्यका) लगायत केही भू–क्षेत्रमा अन्य संवत्हरूको साथमा यदाकदा प्रचलनमा आउने विक्रम संवत्को प्रचलन चन्द्रशमशेरले वि.सं. १९६० देखि कडाइका साथ लागू गरेका थिए । के कारणले विक्रम संवत्लाई नेपालमा यति महत्व दिइयो भन्ने थाहा नभए पनि यसलाई नेपालकै हो भन्ने देखाउन नाम फेरेर ‘नेपाल संवत्’ बनाई गोरखापत्र मा छपाएको पनि पाइयो ।

नेपाल संवत्को थालनी (वि.सं. ९३६ तथा ईस्वी ८८०) तत्कालीन नेपालमा भएको र त्यतिबेलादेखि अहिलेसम्म नेवार समुदायले नै धान्दै आएका कारण यसलाई ‘नेवार संवत्’ भन्ने र लेख्ने गरेको पनि पाइन्छ, जुन गलत हो । त्यस्तै, आ–आफ्नो जातीय संवत् हुनुपर्ने अर्को गलत बुझइ पनि पाइन्छ । जुन संवत् प्रचलनमा ल्याए पनि ती चान्द्रमास र सौर्यमान पद्धतिभित्रै पर्ने भएकाले नामहरूको भीडमा अर्को नाम थप्नु मात्रै हो ।

comments powered by Disqus

रमझम