१८ कार्तिक - १ मंसिर २०७५ | 4-17 November 2018

मूल्य नचिनिएको ‘वन घिरौंला’

Share:
  
- कमल मादेन
नगन्य मात्रामा पाइने बहुमूल्य ‘वन घिरौंला’ बारे खोज, अनुसन्धान नहुनु तर प्रतिकेजी रु.१ तिरेर निकासी गर्ने व्यवस्थाले हामीकहाँ जैविक विविधता संरक्षण र त्यसको उपयोगिता नबुझेको देखाउँछ।

दुई दशकअघि सुनसरीस्थित इटहरी उपमहानगरपालिकाको तरहरा बिहिबारे हाटमा जडीबुटी बेचिरहेका एक वैद्यले भन्दैथिए, “वन घिरौंलाको झुस (जालो) पानीमा भिजाएर नियमित पिउँदा जन्डिस निको हुन्छ ।” ती वैद्यसँग दुई इन्च जति लामो र एक–डेढ इन्च चौडाइको घिरौंलाकै जस्तो तर मसिनो जालो थियो । त्यसलाई उनले अत्यन्त दुर्लभ ‘वन घिरौंला’ को जालो भन्दै सानो–सानो टुक्रामा बेचेका थिए । खाँदा असाध्यै तीतो हुने वन घिरौंलालाई गाउँघरमा जन्डिसको ओखती मानिने हुँदा त्यहाँ किन्नेहरू थुप्रै थिए । यो पंक्तिकारले पनि रु.१० को एक टुक्रा किनेको थियो ।

यो वन घिरौंला तरहरामा बेचिएको र पंक्तिकारको घर पनि तरहरा पश्चिम चारकोसे जंगल नजिक पंचायन झोडामा भएकाले चारकोसे वा चुरे क्षेत्रमा वन घिरौंला पाइएला भन्ने अनुमान थियो । तर, त्यहाँको जंगल चहार्दा भेटिएन ।

म्याग्दीमा भेटियो

असोजको दोस्रो साता म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नाच्र्याङ लेक गाउँदेखि आठ घन्टा पैदल दूरीमा रहेको खोप्रा (३,६६० मिटर) मा पुग्दा घिरौंलाको जस्तो पहेंलो फूल देखियो । फूलको रङ घिरौंलाको जस्तो तर आकृति केही फरक थियो, फल थिएन । त्यहाँको केही नमूना संकलन गर्यौं । स्वरुपका आधारमा यसलाई वन घिरौंला भनिएको हामीले अनुमान गर्यौं ।

नजिकै कुनै घर तथा होटल नभएकाले त्यो दिन नजिकैको रेले भन्ने ठाउँ (२,९०५ मिटर उँचाइ) मा रहेको छाप्रोमा बास बस्यौं । भोलिपल्ट त्यहाँदेखि केही मिनेटको दूरी नहिंड्दै फेरि घिरौंला जस्तै फुलेको वनस्पति भेटियो । यसको पातको रङ र आकृति काँक्रोको जस्तो थियो । स–साना फल पनि भेटिए, तरकारी खाने परबल जत्रो लम्बाइ र चौडाइ भएको । आकार भने कता–कता पाटे घिरौंला (भेट्नुनेर साँघुरिएको र अर्कोपट्टि फैलिएको) सँग मिल्थ्यो । तर, यो वन घिरौंलाको बीचमा चौडा र दुवैतिर साँघुरिएको थियो । चाख्दा निकै तीतो थियो ।

साँझपख हामी पुनः खोप्रा पुग्यौं । खोप्राबाट अन्नपूर्ण दक्षिण, अन्नपूर्ण प्रथम, नीलगिरि, टुकुचे, धौलागिरि र मानापाथी हिमालहरू लस्करै जस्तो देखिन्छन् । अन्नपूर्ण प्रथम, दोस्रो, तेस्रो, चौथो नाम दिइएका छुट्टाछुट्टै हिमाल छन् । खोप्रामा महावीर पुनको अगुवाइमा एक सुविधासम्पन्न सामुदायिक होटल तथा लज खोलिएको छ । जहाँ त्यस रात विदेशी पर्यटक खचाखच थिए ।

एक रात त्यहाँ बास बसेर नाच्र्याङ लेकगाउँमा पुगी विशेषतः चरा हेर्नका लागि दुई दिन बसियो । त्यहाँ भने वन घिरौंला भेटिएन । नाच्र्याङ लेकगाउँबाट तातोपानी नजिक जलथलातर्फ लाग्दा समुद्री सतहदेखि करीब १९०० मिटर भू–सतहमा फेरि वन घिरौंला भेटियो ।

निकासी प्रतिकेजी दस्तुर रु.१

यहाँ चर्चा गरिएको वनस्पतिको वैज्ञानिक नाम ‘हर्पेटोस्परमम् पेडुन्कुलोसम्’ हो । नारायणप्रसाद मानन्धरका अनुसार, यस वनस्पतिलाई गाउँघरमा वन करेला, कुरकुरे काँक्रो, मुरमुरे, पित्त काँग्री भनिन्छ भने तामाङ समुदायले यसलाई ‘फोंगो’ भन्छन् ।

नेपाली वनस्पति सूची सम्बन्धी लेखिएको पुस्तक एन इनुमेरेसन अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल खण्ड–२ (सन् १९७९) अनुसार नेपाल, भारत, भूटान, दक्षिण तिब्बत तथा दक्षिण–पश्चिम चीनमा समुद्री सतहबाट १५०० देखि ३६०० मिटर उँचाइमा यो वनस्पति पाइन्छ । फ्लोरा अफ चाइना भोलम–१९ मा भने यो वनस्पति समुद्री सहतबाट २३०० देखि २५०० मिटर उँचाइमा पाइने उल्लेख छ ।

प्लान्टस् एण्ड पिपुल अफ नेपाल (सन् २००२) शीर्षक पुस्तकमा ‘हर्पेटोस्परमम् पेडुन्कुलोसम्’ को जरा पिंधेर ६ चिया चम्चाको मात्रामा दैनिक तीनपटक खुवाउँदा पित्तनली (बाइल डक्ट) को समस्या समाधान हुने लेखिएको छ । अ कम्पेन्डियम अफ मेडिसिनल प्लान्टस् अफ नेपाल (सन् २००६) पुस्तक अनुसार, यसको बीउ ज्वरो घटाउन, सुन्निएको निको पार्न, खोकी तथा जन्डिस र पित्त रोगमा प्रयोग गरिन्छ ।

यो वनस्पति तिब्बतमा निकै लोकप्रिय छ । तिब्बती वैद्यहरूले विशेषतः गलब्लाडर र कलेजोको समस्याबाट हुने जन्डिस, हेपाटाइटिस र शरीर सुन्निने समस्यामा यसको प्रयोग गरिने बताइन्छ ।

तिब्बतमा मुसालाई कृत्रिम रुपमा कलेजो र गलब्लाडरको बिरामी बनाई त्यसको उपचारमा वन घिरौंलाको बीउबाट निकालिएको तेलको प्रयोग गरिएको थियो । सन् २०१२ मा गरिएको उक्त अध्ययनपछि वन घिरौंलाको तेल मुसाको कलेजो सम्बन्धी समस्यामा उपयोगी साबित भएको जनाइएको छ । हामीकहाँ यसबारे खासै खोज भएको पाइँदैन । यसका नमूनाहरू भने ललितपुरस्थित नेशनल हर्बरियम एण्ड प्लान्ट ल्याबोरेटोरी, गोदावरीमा संग्रह गरिएका छन् ।

वन नियमावली, २०५१ मा ‘हर्पेटोस्परमम् पेडुन्कुलोसम्’ लाई वन करेला भनिएको छ । यसको चौथो संशोधन, २०७० मा निकासी प्रति केजी दस्तुर रु.१ जनाइएको छ । तर लहरा, फल, जरा केको निकासीका लागि हो भन्ने खुलाइएको छैन । यद्यपि यसले नेपालबाट वन घिरौंला निर्यात हुँदोरहेछ भन्ने दर्शाउँछ । नगन्य मात्रामा पाइने यस्तो बहुमूल्य वनस्पतिबारे खोज, अनुसन्धान नहुनु तर प्रतिकेजी रु.१ तिरेर निकासी गर्न पाउने व्यवस्थाले हामीकहाँ जैविक विविधता संरक्षण र त्यसको उपयोगिता नबुझेको देखाउँछ ।

हाम्रा जैविक विविधता संरक्षणमा वार्षिक रुपमा अर्बौं रुपैयाँ विनियोजन हुन्छ । तर, स्वदेशी तथा विदेशी कम्पनीहरूले ज्यादै नगन्य कर तिरेर हाम्रा बहुमूल्य जडीबुटी लैजाने कानूनी प्रावधान हुनु दुःखद हो । सम्बद्ध निकायले हाम्रा बहुमूल्य जडीबुटीबाट के बनाइन्छ भन्नेसम्म जानकारी राख्दैनन् । जसले जे लैजान चाहन्छ, त्यसको उपयोगिता थाहै नपाई रु.१–२ निकासी दस्तुर तोकिदिने प्रचलन छ ।

हामीकहाँ महत्वपूर्ण जडीबुटी कसले, के/कति मात्रामा निकासीका निम्ति संकलन गर्दैछ, त्यसको हेक्का राख्ने संरचना छैन । अर्कोतिर, क्षेत्र तथा जिल्लामा वन नियमावलीमा उल्लेख गरिएका वनस्पति पहिचान गर्ने सक्ने प्राविधिक छैनन् । वन संरक्षण गरिए पनि जैविक विविधताको सही पहिचान गरी राष्ट्रले लिनुपर्ने जति फाइदा लिन नसकेको देखिन्छ । तसर्थ, संरक्षित वनका असुरक्षित जडीबुटीबारे राज्य बेलैमा चनाखो हुन आवश्यक छ ।

comments powered by Disqus

रमझम