पहिले मध्यपश्चिम तराईका थारू गाउँमा एक महीना अगावै दशैंको रौनक शुरु हुन्थ्यो । हरेक दिन साँझ शुरु हुने नाच रातको दोस्रो प्रहरसम्म चल्थ्यो । मादल र मञ्जिराको आवाजले तिहारसम्मै प्रगन्ना गुञ्जायमान हुन्थ्यो । पछिल्लो समय यो संस्कृति हराउँदो छ । “युवाहरू संस्कृति जोगाउनुपर्छ भन्छन् तर, उनीहरूलाई आधुनिकताले नराम्रोसँग गाँजेको छ” जीवराज भन्छन्, “कतिपय गीत र नाच लोप भइसके, संस्कृति जोगाउन धौ–धौ छ ।”
राप्ती अञ्चलको पहाडी जिल्ला सल्यानमा अचेल लहरे, सिंगारु र सोरठी नाच्न जान्ने भेट्टाउनै मुश्किल छ । चाडपर्वका बेला राप्ती अञ्चलको सेरोफेरोमा यस्ता ग्रामीण लोकभाका नघन्केको धेरै भइसक्यो । जोडी मादल, झ्याली, ट्याम्की, मुरली अनि गीतको तालमा खुट्टामा पैचन बाँधेर नाचिने सोरठी गुरु पैसरी, बाइस पैसरी, बाघ पैसरी र फटके पैसरी जस्ता फरक–फरक तालमा नाचिन्थ्यो । २०५५/५६ सालसम्म यस्ता नृत्यको अगुवाइ गरेका पर्साराम डाँगी (६५) भन्छन्, “अब त म आफैंलाई पनि बिर्सिसकें जस्तो लाग्छ ।” यस्ता लोक नृत्य नाच्ने मात्रै होइन नाचका लागि गाउन–बजाउन जान्ने भेट्टाउन समेत मुश्किल छ । सोरठी, लहरे र सिंगारु एकै बसाइँमा नाचिन्छ । सोरठीबाट शुरु भएर लहरे हुँदै सिंगारुमा पुगेर नाच टुङ्गिन्छ । रातभरि लहरे र सोरठी नाचेपछि उज्यालो हुने बेलामा सिंगारु नाचिने हो । सिंगारुलाई उज्यालोको संकेत मानिन्छ ।
अहिलेको पुस्ताले परम्परागत ‘सारंगे’ नाचलाई ‘मयूर नाच’ मा परिमार्जन गरेको छ । सारंगेमा गीत हँुदैन । जोडी मादल, मुरली र झ्यालीको तालमा सारंगे नाच्ने सल्यानी अचेल भेटिंदैनन् । सल्यानको थारमारे आसपासको क्षेत्रमा सारंगेको अगुवाइ गरेका धनिराम खत्री (६६) द्वन्द्वकालमा दाङको पञ्चकुले बसाइँ सरे । सारंगे जान्ने लोकगायक खर्कबहादुर बुढा (६१) ले पनि काठमाडौंलाई कर्मथलो बनाएका छन् । उनीहरूसँगै गाउँबाट लोप भएको सारंगे ब्युँताउने कोही देखिएको छैन ।
लोकगायक बुढा भन्छन्, “राजनीतिक कारणले ग्रामीण भाकाहरू ५० को दशकको मध्यदेखि गाउन र नाच्न छोडियो ।” आञ्चलिकता बोकेका मौलिक भाकामा लामो समय विराम लागेपछि पुनः निरन्तरता दिन नसकिएको उनको बुझाइ छ । यस्ता भाका छोप्न जानेको पुस्ताका कति विते, कति बसाइँ सरे, कति निरन्तरता दिन नसक्ने वयमा छन् ।
मध्यपश्चिममा हिउँपा नाच, धमारी र सिरौली गीतको पनि नामोनिसान छैन । लीलावती भन्छिन्, “नाच्न गाउन छोडेको लामै समय भइसकेकोले हिउँपा र सिरौलीको ताल मैले पनि बिर्सिसकें ।” २०४९/५० सालतिर रातभरि यस्ता गीतमा साथीसँगीसँग रमाएको उनलाई अहिले जस्तै लाग्छ । बिहेबटुलो र अन्य अवसरमा उनलाई नाच्न गाउन छिमेकी जिल्ला रुकुम र रोल्पाबाट सम्म बोलाइन्थ्यो । तर, अहिले यस्ता गीतमा साथ दिने उनका न साथीसँगी छन् न नयाँ पुस्ताले सिकेको छ । देशैभर ख्याति कमाएको राप्तीको टप्पा होस् या हरेक मेलापर्वमा नाचिने–गाइने वनघाडी र वीर होउन् इतिहासमा सीमित हुने क्रममा छन् । पाका पुस्ताका एकाध बाहेक मौलिक विधा जान्ने र बुझ्ने कमै भेटिन्छन् ।
तराईको थारु समुदायमा प्रचलित झर्रा नाच पनि अब इतिहास भइसकेको छ । बिहेबारीमा गाइने माँगर, चैत–वैशाखमा गाइने सजना, दशैंमा गाइने दिन नच्वा, बिहेग्रा, महिरावण लगायत गीत लगभग हराइसके । हाटबजार जाँदा–आउँदा, बास बस्दा र थकाइ लागेका बेला गाउने दमारे भाका पनि गुञ्जिन छाडिसक्यो । त्यस्तै सुदूरपश्चिममा गाइने धुमारी, फाग, बालो नचाउने, ठाडो खेल, गोरया कथा, धुमारी रन्झनिया लगायत गीत पनि सुनिन छाडेका छन् ।
राजनीतिको दुष्प्रभाव
सामाजिक आत्मीयता र आर्थिक कठिनाइका, मायाप्रीति र विरहका लोकभाका समेत अचेल विरलै सुनिन्छन् । स्थानीयपनको आभास दिने, घाँस, दाउरा, मेलापात र चाडबाडको झल्को दिने मौलिक भाका कसरी हराए त ? सल्यानको महेन्द्र माविमा सामाजिक विषयका शिक्षक हीरालाल बस्नेत दशवर्षे हिंसात्मक द्वन्द्व नै यसको प्रमुख कारण मान्छन् । “द्वन्द्वले विशेषगरी रातको समयमा गाइने र नाचिने भाका बन्द नै गरायोे ।” दश वर्षसम्म नगाइएका ननाचिएका ती भाका र नाच विस्मृतिमा पुगिसकेको बताउने उनी त्यसबाट समग्र संस्कृतिमा अतिक्रमण भएको बताउँछन् ।
शान्ति प्रक्रिया शुरु भएपछि पनि गाउँगाउँमा दलीय राजनीतिले जरा गाड्यो । स्थानीय कलाकारहरू दलका नाममा विभाजित भए । एउटै समूहका सदस्य एकअर्कालाई सहन नसक्ने भए । सांस्कृतिक कलाकारहरू एकजुट हुन नसक्दा हराएको लोक संस्कृति पुनर्जागृत हुनै पाएन । सल्यानको वनगाड क्याम्पसका प्रमुख गणेश अधिकारी भन्छन्, “स्वार्थी राजनीतिले घरघरमा दलका कार्यकर्ता बनायो, गाउँमा मादल बज्नै छाड्यो ।”
गायक खर्कबहादुर बुढा भन्छन्, “नयाँ पुस्ताले संरक्षणमा चासो दिएन, राज्यलाई वास्ता छैन, कसरी जोगिन्छ संस्कृति ?” संस्कार र संस्कृति सामाजिक एकताको सूत्र भएको बताउने अध्यापक अधिकारी यस्तो सूत्र टुट्दै जाँदा समाजमा अनेकौं विकृति मौलाएका देख्छन् । उनी भन्छन्, “कानूनले नियन्त्रणमा राख्न नसक्ने विषयलाई संस्कृतिले नियन्त्रित गरिरहेको हुन्छ ।”
रैथाने प्रविधि र संगीत
आधुनिक प्रविधिको आकर्षण र सुविधाका कारण मात्रै होइन द्वन्द्वको प्रभावले रैथाने प्रविधि लोप भयो र त्यसले पनि संस्कृतिमा प्रभाव पार्यो । परम्परागत घरेलु औजारहरू हराएपछि ग्रामीण पहिचान पनि मेटिंदो छ । उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चूक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत ‘कोल’ गाउँमा नदेखिएको वर्षौं भइसकेको छ । अनाज कुट्ने ढिकी र ओखल पनि विरलै देख्न पाइन्छ । जाँतोको र्याइँ र्याइँ पनि सुनिंदैन ।
अध्यापक बस्नेत दिनभरि खेतबारीमा काम गरेर राति जाँतोमा पिस्ने, पानीघट्ट जाने र ढिकी कुट्ने चलन द्वन्द्वकै कारण हराएको बताउँछन् । द्वन्द्वकालमा राज्य र विपक्षी दुवै पक्षको डरले स्थानीयहरू राति हिंड्न छोडे । फलस्वरुप रातको जनजीवनसँग जोडिएका यस्ता रैथाने प्रविधि पनि हराए । र, सामूहिकतामा गरिने काम बन्द भएपछि त्यस्ता अवसरमा गाइने भाका पनि हराए । लोकगायक बुढा भन्छन्, “सामूहिक रूपमा प्रयोग गरिने घरेलु मेसिनको विशेषता सामाजिक सद्भावमा अभिवृद्धि गर्नु पनि थियो, त्योसँगै संस्कृति जगेर्ना हुन्थ्यो ।”