१८ कार्तिक - १ मंसिर २०७५ | 4-17 November 2018

देउता चढ्ने पर्व

Share:
  
- मिमबहादुर परियार
दमाहाको धुन बजेसँगै धामीहरू कम्मर हल्लाउँदै पतुर्न र काम्न थालेपछि धामीमा देउता चढेको मानिन्छ।

गएको कोजाग्रत पूर्णिमाको अवसरमा हुम्लाको अदनाचुली गाउँपालिका–२ को मौलामा नाच देखाउँदै स्थानीय धामीहरू ।
“काठमाडौंका जात्रा–उत्सवले मलाई हाम्रो गाउँ समाजमा हुने पैठ (जात्रा) को याद दिलाउँछ । यहाँ विभिन्न जात्रामा नाच्नेहरूले पैठका धामीहरूको र यहाँको धिमे बाजाले पैठमा बज्ने दमाहाको झ्झ्ल्को गराउँछ” काठमाडौं आरआर क्याम्पसमा स्नातकोत्तर अध्ययनरत जुम्लाको कनकासुन्दरी गाउँपालिकाका ब्रह्मदास परियार आफ्नो क्षेत्रको पैठ सम्झ्न्छन्, “साउनदेखि दशैंको पूर्णिमासम्म पैठ लाग्थ्यो । ८–१० कक्षामा पढ्दाताका हामी घन्टौं हिंडेर, सातु खाई जंगलमा बास बसेर पैठ हेर्न जान्थ्यौं । हरियाली बीचको पाटन (पहाडको उँचाइमा रहेको समथर) मा हुने पैठले घन्टौं हिंडेको थकान बिर्साउँथ्यो ।”

संस्कृतिको धनी हामीकहाँ विभिन्न जाति तथा समुदायका विभिन्न जात्रा र पर्व छन् । कर्णाली क्षेत्रका जुम्ला, कालीकोट, बाजुरा, मुगु लगायत जिल्लामा पैठहरू निकै रौनकतापूर्वक मनाइन्छ । दमाहाको राग अनुसार धामी नाच्नु (पतुर्ने) नै पैठको मुख्य विशेषता हो । पैठमा सेतो दौरा, शिरमा फेटा, गलामा रुद्राक्ष तथा फूलका माला लगाएर धामीहरू दमाहाको धुनमा पतुर्ने गर्छन् ।

स्थानीय देवहरूको उत्सव पैठ अन्तर्गत मष्टा देवको पैठ, झ्या देवको पैठ, लाकुराको पैठ, ह्याकर लौडिसिमेको पैठ, महादेवको पैठ, लामा विष्णुको पैठ, बाटपालाको पैठ, खापर देवको पैठ इत्यादि पर्छन् ।

पैठ मनाउने मुख्य महीना साउन हो भने तिथि एकादशी, पूर्णिमा र दशमी हुन् । तर, विभिन्न समुदायका आफ्ना देवीदेवता अनुसारको तिथि पर्छ । लामा विष्णुले पैठ साउन पूर्णिमामा मनाउँछन् भने झ्यादेवले साउन एकादशीमा, लौडिसिमेदेवले पूर्णिमामा मनाउँछन्  । केही समुदायले तिथि हेरेर दशैंपछि पैठ मनाउने गर्छन् । पैठका आ–आफ्ना विशेषता छन् । केही पैठमा पशुबलि चढाइन्छ त केहीमा दूध ।

मुगुका पूर्व जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमाल पैठ आर्य–खसका पुर्खाहरूले ठाउँ, परम्परा, जातिगत संस्कृति अनुसार आफ्नो कुल देवतालाई मान्ने विशेष पर्व भएको बताउँछन् । उनका अनुसार, आजभोलि भने पैठलाई जात्रा भन्दै भेटघाट तथा रमाइलो गरेर मनाइएको पाइन्छ ।

दमाहा र देउडाको रौनक

पैठमा पैठारु (पैठ हेर्ने दर्शक) ले वरिपरि घेरेका हुन्छन् । बीचमा विभिन्न जातिका धामीहरूको समूह र किनारामा दमाईहरू दमाहाका साथ उभिएका हुन्छन् । दमाहाको धुन बजेसँगै धामीहरू कम्मर हल्लाउँदै पतुर्छन् । पतुर्दै काम्न थालेपछि धामीमा देउता चढेको मानिन्छ । धामीलाई देउता चढ्न दमाईले दमाहा बजाउनैपर्छ । पछिल्लो तीन वर्षदेखि पैठमा दमाहा बजाउँदै आएका जुम्लाको कनकासुन्दरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत जनक परियार धामीहरूमा देउता चढाउन कहिलेकाहीं लगातार दुई घण्टासम्म दमाहा बजाउनुपर्ने बताउँछन् ।

प्रत्येक धामीको आ–आफ्नै धुन हुन्छ । अन्य धुनमा उक्त देवताका धामीलाई देउता आउँदैन । जुम्लाको सिंजा गाउँपालिकाका लौडिसिमदेवका धामी प्रताप दमाई आफूलाई देउता आउन लौडिसिमेको राग चाहिने बताउँछन् ।

धामी पतुरिसकेपछि पैठारुहरू देउडा खेल्ने गर्छन् । देउडा समूह–समूह बाँधेर खेलिन्छ । महिलाको छुट्टै देउडा खेल हुन्छ भने पुरुषको छुट्टै । यसले पैठको माहोलमा रौनकता थप्छ ।

धामीहरूको समूहभित्र पनि मूल धामी, सहायक धामी तथा डाङ्ग्री (धामीको पूजाआजाको सामान हेरचाह गर्नेहरू) हुन्छन् । प्रत्येक देवताको एक जना मात्र मूल धामी हुने परम्परा छ । सहायक धामी दुई जना भन्दा धेरै हुन्छन् । देउता चढुन्जेलसम्म धामीहरू काम्ने, खाम भाषा बोल्ने र पैठारुलाई टीका लगाउने गर्छन् ।

कर्णाली क्षेत्रको सम्पत्ति

पैठको दिनमा ठूलो मेला लाग्छ । प्रायः ठूला देवहरूका पैठ पाटनमा आयोजना गरिन्छ भने साना तथा स्थानीय पैठ गाउँगाउँमा लाग्ने गर्छ । नयाँ लुगा लगाएर साथीसँगीको समूह–समूहमा पैठ हेर्न जाने चलन छ । सबै उमेर समूहका मानिस घण्टौं हिंडेर पैठमा मेला भर्न पनि जान्छन् । आफ्नो ठाउँमा पैठ हुने बेला भारतमा श्रम गर्न गएका युवाहरू पनि घर फर्कने गर्छन् ।

कनकासुन्दरी गाउँपालिकाका धन वड नेपाली पैठलाई सामाजिक तथा धार्मिक पर्व मान्छन् । पैठ भन्नेबित्तिकै यहाँका स्थानीयहरूमा छुट्टै उमङ्ग ल्याउने र यसले घर–परिवार गाउँघरलाई एकढिक्का बनाउने उनको बुझइ छ ।

पैठलाई सरकारी तवरबाट प्रवद्र्धन गर्ने हो भने आन्तरिक तथा बाहिरी पर्यटक कर्णालीमा भित्र्याउन सकिन्छ ।

comments powered by Disqus

रमझम