सौराहाले बिर्सेको आफ्नोपन

Share:
  
- सविता श्रेष्ठ
प्रकृति र संस्कृतिले सिंगारिएको सौराहामा रैथाने कुरालाई प्राथमिकता दिएमा यसको सौन्दर्य अझ खुल्छ।

पारिवारिक जमघट, टीका र खानपिनको घेरो नाघेर दशैं केही वर्ष यतादेखि घुमफिर गर्ने अवसर पनि बनिरहेको छ । चाड मनाउन गाउँ फर्कनेहरूको लर्कोसँगै सुनसान बन्ने शहरी भेगका मानिसहरू यही मौकामा पर्यटकीय गन्तव्यतिर तानिने गर्छन् ।

नेपालीको घुमघाम संस्कृति बढेसँगै पर्यटकीय संस्कारमा पनि फेरबदल आएको छ । विदेशी बाहेक नेपालीलाई पर्यटक नै नगन्ने, शौचालयमा ‘विदेशीका लागि मात्र’ लेखिएका अस्वाभाविक दृश्य देखिने लगायतका स्थितिमा पछिल्लो समय धेरै परिवर्तन आइसकेका छन् । देशका डाँडापाखा डुल्दा नेपाली र विदेशी पर्यटकलाई गर्ने व्यवहारको विभाजन रेखा मेटिने क्रममा रहेको छ ।

यद्यपि अझै पनि कतिपय स्थानमा नेपालीलाई हेलाँ गरेर खैरो छालालाई प्राथमिकता दिने संस्कार पाइन्छ । हुन त व्यक्ति र आम प्रवृत्ति फरक कुरा हो । तर, कोही व्यक्तिले पर्यटकलाई बिझउने व्यवहार गर्दा समग्र बस्ती र त्यहाँका सबै व्यक्ति÷व्यवसायीको चरित्र नै उस्तै होला भन्ने छाप बोकेर पर्यटक फर्कन सक्छ । त्यसो भएमा सम्बन्धित ठाउँको पर्यटन उद्योग खस्कन समय लाग्दैन । यो प्रसंगबाट सौन्दर्यको खानी सौराहातिर लागौं ।

सौराहा सेरोफेरोलाई प्रकृति र संस्कृतिले दिन सक्नेसम्म दिएको छ । सुन्दर भूदृश्य, हात्ती, गैंडा र अनेक लोपोन्मुख वन्यजन्तुको बासस्थान, थारू संस्कृति, उर्वर भूमि र यातायातमा बसदेखि जहाजसम्मको विकल्प । फेरि सौराहाका पर्यटन व्यवसायीले घुम्ने, घुमाउने, मन रमाउने र मन अड्याउने अनेक संरचनाको रचना गरेका छन् । ठूल्ठूला होटल र रिसोर्ट छन् ।

पक्की संरचनादेखि खर, बाँस र खपडाका स–साना कटेजसम्मका सस्ता–महँगा अनेक विकल्प छन् । हात्ती, जीप तथा डुंगा सफारी, टाँगा र टेम्पो सफारी, ताल, नदी, संग्रहालयदेखि जीवन्त संस्कृतिको अवलोकन र हिस्सा बन्ने सुविधा पर्यटकलाई छ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकनमा आनन्दै आनन्द छ ।

सौराहा बस्दा सुन्न पाइयो, एक रातमा ५५०० पर्यटक बास बस्ने क्षमता छ । मानिसहरूको ओइरो छ । के छैन सौराहामा ? सबै चीज छ । तर, केही चीज अपुग र अपर्याप्त नै छ । सौराहा घुमघाम र बसाइमा सो सेरोफेरोको समग्र वास्तु सौन्दर्य सबैभन्दा धेरै खट्कियो । घुमिरहँदा चितवन होइन, पोखराको लेकसाइड र काठमाडौं ठमेलमा रहे जस्तो मात्रै लाग्ने ! बेलाबेला बजारमा लम्किरहेका हात्ती, घन्टी बजाएर घिटीघिटी गर्दै दौडिरहेका टाँगा देख्दा मात्रै सौराहामा भएको महसूस भयो । सौराहालाई यो रूपमा चिन्नुपर्ने त टिठलाग्दो कुरा हो ।

सौराहा सुन्दर छ, तर यो सुन्दरतामा निखार ल्याउन मौलिक चीजले प्राथमिकता पाउनुपर्छ । थारू र अन्य रैथाने वास्तु संस्कृतिको झ्ल्को समग्र बस्ती स्वरूपमा आउन सक्यो भने सौराहाको सौन्दर्य अझ् राम्ररी खुल्छ । अहिले जता घुम्दा पनि उस्तै घरबस्ती र पसल देखिन्छ । पर्यटन विकासमा आफ्नोपनलाई जहिल्यै केन्द्रमा राख्नुपर्छ भन्ने तथ्य सौराहाले बिर्सनु भएन ।

स्थानीय सीप मिसिएका सामग्रीको पसल संख्या अलि न्यून छ । खानपिनमा पनि स्थानीयपन अलि थोरै रहेको महसूस भयो । अझ् बिझउने त राप्ती नदी किनारमा हो । त्यो किनारको सरसफाइ, सार्वजनिक शौचालय, दृश्यावलोकन स्थान, बगैंचा आदि ठाउँ तथा सार्वजनिक सुविधाको सुविचारित व्यवस्थापनमा किन ध्यान नदिइएको होला ? पर्यटकीय स्थलहरू सबैका लागि पहुँचयुक्त बन्नुपर्छ भन्ने मनन गरेर अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालमैत्री ठाउँहरूको व्यवस्थापन जस्ता कुरालाई गर्नैपर्ने कुराभित्र समेट्न आवश्यक छ ।

सौराहा घुम्न जाने पर्यटकको घुइँचो हात्ती प्रजनन् केन्द्र तथा तालिम केन्द्रमा हुने गर्छ । त्यहाँ पुग्न राप्ती नदी डुंगामा तरेर जानुपर्छ । काठका मुडा खोपेर बनाइएका डुंगाले पर्यटकको सातो लिने रहेछ, पल्टिहाल्ला जस्तो ! न गतिला डुंगा, न लाइफ ज्याकेट । नदी धेरै गहिरो नभए पनि कम्मरसम्म आउने पानी बालबालिकाका लागि थोरै होइन । नदीमा गोही पनि छन् ।

सातो जाने गरी डुंगा तरेपछि हात्ती प्रजनन् केन्द्र पुगिन्छ । प्रजनन् केन्द्र लेखिएको काठको मुडाको बोर्ड असाध्यै लोभलाग्दो छ, तर प्रजनन् केन्द्र चाहिं टिठलाग्दो ! हात्तीका लागि प्राकृतिक बासस्थानको सुविधा र पर्यटकका लागि सुरक्षा देख्न पाइँदैन । स–साना गोठमा हात्तीहरू दयनीय रूपमा राखिएका छन् ।

भौतिक संरचना फैलिंदै जाँदा प्रकृति र संस्कृति खुम्चिन जाने र अन्ततः सिमेन्टको खैरो शहर बन्ने जोखिममा छ, सौराहा । त्यो जोखिमतर्फ विचार गरी समग्र सौराहाको भौतिक पूर्वाधार योजनाका साथै वातावरणीय तथा पर्यटकीय गुरुयोजना बनाई लागू गरिए सौराहाको सौन्दर्य चीर कालसम्म बाँच्नेछ । हरियोपरियो सौराहालाई बचाउन हातेमालो गर्ने सबैको जय होस् ।

comments powered by Disqus

रमझम