२-८ मंसिर २०७५ | 18-24 November 2018

‘‘मनोबल खस्किएको प्रहरी संगठन बिस्तारै उठ्दैछ’’

Share:
  

बिक्रम राई
सर्वेन्द्र खनाल

प्रहरी महानिरीक्षक

तपाईं प्रहरी महानिरीक्षक बन्नुभएको सात महीना पुग्यो, यो अवधिको अनुभव कस्तो रह्यो ?

केही राम्रा र केही तीता अनुभव पनि छन् । समग्रमा प्रहरी संगठनलाई अगाडि बढाउने आफ्नो सोच अनुसार नै हिंडिरहेको छु ।

त्यस अनुसार भएका देखिने खालका काम के के छन् ?

प्रहरी महानिरीक्षक भइसकेपछि मैले नियमित प्रशासनिक कामकारबाही सञ्चालन गर्ने, संगठनलाई सही दिशामा लैजाने र नागरिकको अपेक्षा अनुसार काम गर्ने प्राथमिकताहरू निर्धारण गरें । समय तोकेरै काम गर्ने क्रममा कतिपय कामका नतिजा देखिएका पनि छन् । जस्तो– विगतमा हुन नसकेका प्रशासनिक कामकारबाही अहिले सबै फुकेका छन्, आपराधिक गतिविधि नियन्त्रण र शान्ति–सुरक्षाको अवस्था चुस्त बनेको छ । नागरिकको अपेक्षा सम्बोधन गर्ने गुणस्तरीय प्रहरी सेवाका लागि स्वच्छ, पारदर्शी र दृढ प्रहरी संगठन निर्माण गर्ने लक्ष्यमै अगाडि बढेको छु ।

आईजीपी बनेपछि तपाईंले आफ्ना प्राथमिकता र कार्ययोजना पनि सार्वजनिक गर्नुभयो । ती कार्ययोजनासँग संगठनको तादात्म्यता कत्तिको मिलेको पाउनुहुन्छ ?

विगतमा नेपाल प्रहरी कसरी चल्यो, म नेतृत्वमा आउँदा संगठन कुन अवस्थामा थियो भन्ने जगजाहेर नै छ । सबभन्दा पहिले यहाँभित्र ऐक्यबद्धता र भ्रातृत्वको भावना ल्याएर टीम–स्पिरिटमा काम गर्ने वातावरण बनाउनु जरुरी थियो । साथै, अलिकति मनोबल खस्किएको र काम गर्ने उत्प्रेरणा नभएको अवस्थालाई सुधार्नुपर्ने चुनौती पनि थियो । सुस्त रहेका प्रशासनिक गतिविधिहरूलाई चलायमान बनाउँदै संगठनलाई गतिशील पार्न मैले तय गरेका सांगठनिक प्राथमिकताहरूलाई मातहतका सबै दर्जाले स्वामित्व लिने वातावरण बन्नुपर्छ । प्रयास अनुसार त्यो वातावरण बनाउनेतर्फ प्रतिफल आएको मैले महसूस गरेको छु । कतिपय नतिजा बिस्तारै देखिनेछन् ।

मैले शुरुदेखि भन्दै आएको छु– देशमा अपराधीले टाउको उठाउने वातावरण हुनुहुन्न । त्यसनिम्ति सबभन्दा पहिले प्रहरी आफंै दृढ, पारदर्शी र इमानदार हुनुपर्छ । संगठनभित्र शुद्धीकरणसँगै व्यावसायिकता विकासका लागि प्रहरीले गर्ने काममाथि प्रश्न नउठ्ने वातावरण बनाउने काम भएको छ । अहिले मैले तय गरेका कार्ययोजना अनुसार अघि बढ्न प्रहरी संगठन सक्षम बनेको छ ।

प्रहरी संगठन मनोबल खस्किएको अवस्थामा थियो भन्नुभयो, बाहिरबाट हेर्दा केही घटनाले प्रहरीको मनोबल अझै घटाउने काम गरेको देखिन्छ नि !

विभिन्न कालखण्ड र विभिन्न नेतृत्वका पालामा प्रहरी संगठनको हाईहाई पनि थियो । अन्तर्राष्ट्रिय रूपमा समेत नेपाल प्रहरीबारे राम्रो सन्देश गएको थियो । तर, मैले प्रहरी संगठन सम्हाल्दाको पृष्ठभूमि फरक थियो । प्रहरी महानिरीक्षक बन्ने विषयमा अदालतमा मुद्दा पर्ने, महानिरीक्षकका आकांक्षीहरूका विभिन्न धारणा बाहिर आउने लगायतका गतिविधि प्रशस्त भएका थिए । हतोत्साहित भएर वा कमजोर मनोबलका साथ काम गर्नुपर्छ भन्ने पक्षमा म छैन । मैले यो कुरा प्रष्टसँग मातहतमा सम्प्रेषण गरेको छु ।

केही घटनाक्रमबाट प्रहरीको मनोबल खस्कन थालेको हो कि भन्ने आम चिन्ता पनि देखियो, जुन स्वाभाविक हो । नेपाल प्रहरी संवेदनशील सुरक्षा संगठन हो र यसप्रति नै अविश्वास बढ्दा काम गर्न नसक्ने अवस्था आउन सक्छ । हामी त्यसमा सजग छौं । केही घटनाकै कारण सबै कुरामा असर परेको भन्ने मलाई लाग्दैन । समग्रमा अपराध घटेको छ, शान्ति–सुरक्षाको सवालमा हिजो जस्ता चुनौती छैनन् । समाजमा अपराधका घटनालाई निमिट्यान्नै बनाउन सकिन्छ भन्ने दाबी म गर्दिनँ, तर हामी दृढ र इमानदार भएर लाग्यौं भने गम्भीर अपराध निकै कम गर्न सक्छौं । अहिले हतोत्साही हुनुपर्ने अवस्था म देख्दिनँ । उत्प्रेरणाको पाटोमा सरुवा, बढुवालगायतका प्रशासनिक काममा कुनै ढिलासुस्ती छैन ।

त्यसो भए अहिले प्रहरीको मनोबल उकासिएको छ ?

पक्कै पनि । तर, काम गर्दागर्दै पनि प्रहरीले पाउनुपर्ने जति जस पाएको छैन । मलाई लाग्छ, हामीले समाजमा प्रहरी हाम्रा लागि हो, हाम्रै लागि काम गरिरहेको छ भन्ने धारणाको विकास गर्न सकेनौं । नभए विभिन्न कालखण्डमा थुप्रै राम्रा काम गरेको प्रहरी आम मानिसको मनमा बस्न किन सकिरहेको छैन ? एकाध घटनामै सिंगो प्रहरी संगठनलाई लाञ्छित गर्ने काम किन भइरहेको छ ?

अहिले प्रहरी महानिरीक्षक नै ठीक छैन, कहाँबाट प्रहरी राम्रो हुन्छ भन्ने कुरा पनि सुनिन्छ । हो, नेतृत्व ठीक भयो भने मात्र उसले गरेका कामकारबाही हेरेर मातहतले काम गर्छ । मेरो प्राथमिकता गुणस्तरीय प्रहरी सेवा नै हो । केही समयअघि मात्र हामीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम शुरु गरेका छौं । अब प्रहरीको कामगराइमा आधारभूत रुपमै परिवर्तन आवश्यक छ । अझै पनि गस्ती गर्ने र घटना भइसकेपछि मात्र अनुसन्धानमा लाग्ने हो भने प्रहरी सेवाको स्वामित्व जनताले लिंदैनन् ।

तपाईं अपराध घट्यो भन्नुहुन्छ, तर महिला विरुद्धका हिंसा र त्यसमा पनि नाबालिकमाथि यौन हिंसा लगायतका अपराध बढेको प्रहरी प्रधान कार्यालयकै तथ्यांकले देखाउँछ । यसले प्रहरीकै कार्ययोजना मिसम्याच भएको देखाउँदैन ?

यी घटना एकैचोटि बढेका होइनन् । जस्तो, यौन हिंसाका २० प्रतिशतभन्दा कम घटना अपरिचितहरूबाट भएको देखिन्छ । ८० प्रतिशतभन्दा बढी यस्ता घटना चिरपरिचितहरूबाटै भएका छन् । कुनै अञ्जान मान्छेले सार्वजनिक ठाउँमा त्यस्तो अपराध गर्दा हाम्रो पहुँच नपुगेमा प्रहरी परिचालनको कुरा आउला । तर, घरभित्रै, चिरपरिचितले, अझ अभिभावकले नै हिंसा गरिरहेको कुरालाई प्रहरीको पहुँचसँग जोड्न मिल्दैन । पक्कै पनि यस्ता घटना रोकिनुपर्छ र त्यसमा सबैको प्रयास आवश्यक छ । यस्ता विषयमा कानून कार्यान्वयनको प्रश्न प्रहरीसँगै जोडिन्छ, तर यसबारे जनचेतना जगाउने काम समाजका हामी सबैको हो ।

अहिले अपराध बढेको देखिनुको अर्को कारण घटनाको रिपोर्टिङ बढ्नु पनि हो । हामीले यौन हिंसासहित महिला हिंसाका घटनामा ‘शून्य सहनशीलता’ अपनाउने तथा त्यसमा मध्यस्थता, छलफल र मिलापत्रको कुनै गुञ्जायस नरहेको मातहतमा स्पष्टसँग सर्कुलर गरेका छौं । यसमा मुद्दा दर्ता गरेरै जानुपर्छ भनिएकाले डेढ/दुई वर्ष अगाडिका केसहरू पनि आउन थालेका छन् । यो भनेको प्रहरीले कारबाही गरिदिन्छ भन्ने विश्वास बढेको पनि हो । अपराधी समाजमै हुन्छ, अपराध गरेर लुक्ने समाजमै हो र हामीले समाजको मन जित्यौं भने त्यसबारे सूचना पनि आउँछ ।

त्यसो भए अहिले जनतासँग प्रहरीको दूरी बढेको हो ?

हो, त्यसले गर्दा सूचना आएन । समाजमा भएका कुरा प्रहरीले ठ्याक्कै देख्दैन । देख्ने समाजकै सदस्यहरूले हो । प्रहरीप्रति विश्वास भयो भने तिनले सबै सूचना दिन्छन् । प्रहरीले अपराधीसँग मिलेमतो गरेन भने मात्र त्यसो हुनसक्छ । नभए, पक्राउ परेका मान्छेलाई केही लोभमा परेर छाडिदियो भने भोलि सूचना दिएकाले मै असुरक्षित हुनसक्छु भन्ने भय रहन्छ ।

तपाईंको कार्यकालमा दुई घटना एकदमै चर्चामा रहे– निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा प्रहरीले राम्ररी अनुसन्धान नगरेको आक्षेप लाग्यो भने साढे ३३ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीले अनुसन्धानका क्रममा अवलम्बन गर्ने ‘कोभर्ट अपरेशन’ लाई नै अपराध मानिंदा संगठनभित्रको मनोबल खस्कियो भन्ने कुरा उठ्यो । यसलाई कसरी लिनुहुन्छ ?

साढे ३३ किलो सुन प्रकरण म आउनुभन्दा पहिलेकै हो, त्यससम्बन्धी उच्चस्तरीय छानबिन समिति पनि पहिले नै बनेको हो । त्यसमा म व्यक्तिगत वा सांगठनिक रुपमा संलग्न हुने कुरै आएन । साथै, त्यसमाथि मैले प्रश्न उठाउन मिल्ने कुरा पनि थिएन । त्यो प्रकरणमा कसको कुन हदसम्मको संलग्नता थियो भन्ने कुरा हेरेर अदालतले निर्णय गरिसकेको छ ।

त्यो घटनाका कारण प्रहरी संगठनकै मनोबल कमजोर हुनुहुन्न भन्ने मेरो धारणा हो । संगठनभित्र केही यस्ता गतिविधि हुन सक्छन् भनेरै दण्ड र पुरस्कारको व्यवस्था गरिन्छ । तर, त्यही घटनाको कारणले काम गर्ने मनोबल खस्केजस्तो मलाई लाग्दैन । अहिले पनि प्रहरी संगठनका सदस्यहरूले काम गरिरहेका छन्, मुभमेन्ट राम्रो छ, अपराधी र अभियुक्तहरू समातिरहेका छन् । कुनै घटनाविशेषमा त्यस्तो भएको रहेछ भने म घटनाविशेषमा पनि डिल गर्न तयार छु ।

निर्मला पन्त प्रकरणमा प्रहरीकै मिलेमतो भए जसरी आम बुझाइ बन्न पुगेको देखिन्छ । तर, मैले प्रमुखका हिसाबले पनि भनिरहेको छु– यसका दोषी पत्ता लगाउन कुनै कसर छाडिन्न । यही घटनालाई मात्र अगाडि सारेर प्रहरी कमजोर वा खत्तम भो भन्नु चाहिं जायज नहोला । निकै संवेदनशील घटना भएकाले हामीले उत्तिकै इमानदार भएर काम गरिरहेका छौं । यसमा प्रहरीलाई अप्ठेरो परेको कुरा चाहिं प्रविधि हो । त्यहाँ कतै न कतै सीसीटिभी भइदिएको भए, निर्मलासँग मोबाइल भइदिएको भए केही न केही सुइँको पाउन सकिन्थ्यो । हामीले पूर्णतः म्यानुअल्ली अनुसन्धान गर्नुपर्ने भएकाले अलि अलमल र ढिलाइ भएको हो । त्यसबेलाको त्यहाँको प्रहरी कमाण्डरको गैरव्यावसायिक चरित्रले गर्दा पनि अनुसन्धानमा जटिलता र ढिलाइ भएको हो ।

अनुसन्धान कत्तिको ‘न्यारो डाउन’ भएको छ ?

न्यारो डाउन भएको छ । धेरैले हाम्रो अनुसन्धानमा सहयोग पनि गर्नुभएको छ । यसमा सबैको चिन्ता छ, सबभन्दा चिन्तित त हामी नै छौं ।

त्यसो भए निर्मला पन्त प्रकरण रहस्यमय भएर बस्दैन, होइन ? मलाई लाग्छ, यो घटनाको रहस्य छिटै पत्ता लाग्छ ।

साढे ३३ किलो सुन प्रकरणमा घटनाक्रम जसरी विकसित भए र अहिले जुन ठाउँमा पुग्यो, एउटा प्रहरी अधिकृत भएर हेर्दा तपाईं यो सम्पूर्ण प्रकरणबाट सन्तुष्ट हुनुहुन्छ ?

सरकारले गठन गरेको उच्चस्तरीय समिति भएकाले त्यसबारे टिप्पणी गर्ने मेरो पदीय मर्यादा होइन । उच्चस्तरीय समितिको चाहना पनि ठोस कुरा आओस् भन्ने नै थियो । कुन हदसम्म कुरा आए भन्ने अर्कै कुरा हो । शायद कहींकतै प्रहरीकै संलग्नता देखिएपछि सबैलाई राखेर समिति बनाइएको हुनुपर्छ । हामीले यसलाई नकारात्मक रुपमा मात्र पनि हेर्नु भएन ।

प्रहरीले सीमित स्रोतसाधनका बाबजुद १०–१५ वर्ष पुराना जटिल अपराधका घटना पनि सुल्झाएको छ । तर, यी दुई घटनाले प्रहरीप्रतिको विश्वास नै खल्बलिने गरिको अवस्था किन आयो ?

त्यस्तो पनि होइन । अरु कुरा जे भए पनि अहिले सुन तस्करीको घटनामा कमी आएको छ । यो कुरालाई सकारात्मक रुपमा पनि लिनुपर्छ । अहिले कुनै ठाउँमा आपराधिक गतिविधिले त्रस्त हुने अवस्था छ भने भन्नुपर्‍यो । एकाध घटनाले यस्तो अवस्था आउनुपर्छ भन्ने ठान्दिनँ । हामी निरन्तर अनुसन्धान गर्छौं, धेरै पुराना घटना पनि सुल्झिएका छन् ।

तपाईंमाथि गृह मन्त्रालय पूरै हावी भएको र तपाईंले अडान लिन नसकेको आरोप छ । के भन्नुहुन्छ ?

म जसरी आईजीपी भएँ, त्यसैगरी निवृत्त हुन्छु । मैले प्रहरी महानिरीक्षकको नजिकमा बसेर पनि काम गरें, अहिले आफंै महानिरीक्षक भएँ । संगठन प्रमुखले गर्नुपर्ने काम के के हुन् भन्नेबारे म प्रष्ट छु । नागरिकको अपेक्षामा कुनै पनि कमी हुन दिने छैन ।

आईजीपी भएपछि मैले संगठनलाई गतिशील र जीवन्त बनाउँदै अगाडि बढाउने हो, गतिहीन र गन्तव्यहीन बनाउने होइन । कानूनी लगायतका नीति र संरचनागत सुधारका लागि मैले राजनीतिक–प्रशासनिक नेतृत्वलाई कन्भिन्स गरेर लैजानुपर्ने हुन्छ । सरकार, गृह मन्त्रालय र नेपाल प्रहरी सँगसँगै आउँछन् । प्रहरी संगठनमा कुन अफिसर कस्तो हो, के हो भन्ने कुरा मैले उहाँहरूसँग गएर कन्भिन्स गर्नैपर्छ । मैले राम्रा कामका निम्ति स्पष्ट कुरा राख्दा गृह मन्त्रालयबाट कुनै अवरोध भएको छैन । सबै कुरा राम्रो नै भएको छ भन्ने दाबी म गर्दिनँ ।

मैले आजसम्म आफू कमजोर भएको अनुभूति गरेको छैन, सन्तोषजनक रुपमै काम गरेजस्तो लाग्छ । तपाईंले यो यो ठाउँमा यो यो कुरा बिग्रेकाले आईजीपी कमजोर भयो भन्न सक्नुहुन्छ । तर, यत्तिकै कमजोर भयो त भन्न भएन नि !

प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने कुरा के हो ?

२०७२ सालको भूकम्पपछि प्रहरी परिसर काठमाडौं पालमुनि नै छ, महानगरीय अपराध महाशाखा पनि पार्टी प्यालेसमै बसेको छ । जहाँ बसे पनि हामीले आफ्नो काम गरेकै छौं । प्रहरीलाई संरचनागत र प्रविधिगत रुपमा पनि चुस्त बनाइयो भने मात्र अहिलेको परिस्थितिसँग जुध्न सक्ने बनाउन सकिन्छ । अहिले अर्को तालिम केन्द्र बनेपछि मात्र प्रतिष्ठान सार्ने कुरा छ । सरकारको यो निर्णयमा मैले टिप्पणी गर्ने होइन । प्रहरी संगठनलाई समुचित व्यवस्थापन गर्न जरुरी छ । अब पुरानो, परम्परागत खालको तालिम केन्द्रबाट मात्र हुँदैन । तर, कहाँ कस्तो संरचना बनाउने भन्ने कुरा सरकारले व्यवस्थापन गर्दै जाने हो ।

प्रस्तुतिः रामेश्वर बोहरा

comments powered by Disqus

रमझम