३० भदौ २०७० | 15 September 2013

खेलप्रेमी नेपाली

Share:
  

खेलकुदमा नेपालीहरूको रुचि पुरानै हो । राजधानीमा जारी आठौं साफ च्याम्पियनसीप फूटबल हेर्न दशरथ रंगशालामा थामिनसक्नु भीड लागेको छ । हिमाल ले गत साता देशका प्रमुख १२ शहरका ३७४ जनासँग गरेको सर्वेक्षणले तीन चौथाइ नेपालीलाई खेलमा रुचि भएको देखाएको छ । ‘तपाईंलाई खेल खेल्न वा हेर्न रुचि छ ?’ भनेर सोधिएको प्रश्नमा ७५.१ प्रतिशतले खेलमा रुचि भएको जवाफ दिए भने रुचि नहुने २४.९ प्रतिशत मात्र भेटिए ।

उमेर समूहका आधारमा हेर्दा १८–२४ का ८९ प्रतिशतलाई खेलमा रुचि भएको भेटियो । २५–३९ वर्ष समूहका ८८.४, ४०–५९ वर्षका ६०.६ तथा ६० वर्षमाथिका ४४.९ प्रतिशतलाई खेलमा रुचि भएको पाइयो । खेलमा रुचि हुनेमा महिलाभन्दा पुरुष बढी छन् । ८३.४ प्रतिशत पुरुष र ६४.५ प्रतिशत महिलालाई खेलमा रुचि भएको पाइएको छ ।

शैक्षिक तह अनुसार खेलप्रतिको रुचिमा पनि फरक पाइएको छ । स्नातकोत्तर वा सोभन्दा बढी अध्ययन गरेका सबैभन्दा धेरै ८९.५ प्रतिशतलाई खेलमा रुचि भएको पाइयो । स्नातकसम्म अध्ययन गरेका ८६.६, प्रमाणपत्र तहका ८०, एसएलसीसम्म पढेका ८०.६, विद्यालय तहका ६७.६ र साक्षर ३२.४ प्रतिशत तथा निरक्षर २७.३ प्रतिशतको खेलप्रति रुचि देखिएको छ ।

सुदूरपश्चिमाञ्चलका ९२, पूर्वाञ्चलका ८२.७, मध्यमाञ्चलका ७४.१, मध्यपश्चिमाञ्चलका ६८ र पश्चिमाञ्चलका ६६ प्रतिशतलाई खेलमा रुचि छ । जातको आधारमा हेर्दा सबैभन्दा धेरै मधेशी दलित शतप्रतिशत, मधेशी ८० प्रतिशत र पहाडी जनजाति ७९.२ प्रतिशतलाई खेलमा रुचि रहेको पाइयो । खेलमा रुचि नहुनेमध्ये सबैभन्दा धेरै मुस्लिम ५० र नेवार २८.२ प्रतिशत छन् ।

खेलमा रुचि भएकामध्ये आधा फूटबलका छन् । ‘कुन खेलमा बढी रुचि छ ?’ भनेर सोधिएको प्रश्नमा ५०.२ प्रतिशतले फूटबलमा रुचि भएको बताए । २७.४ प्रतिशतले क्रिकेट, ११.७ प्रतिशतले भलिबल, ३.६ प्रतिशतले ब्याडमिन्टन, २.८ प्रतिशतले मार्शल आर्ट तथा १.८ प्रतिशतले बास्केटबलमा रुचि भएको उत्तर दिए । क्रिकेट मन पराउनेमध्ये सबैभन्दा धेरै ३३.७ प्रतिशत १८–२४ उमेर समूहका छन् । फूटबल मन पराउनेमध्ये सबैभन्दा धेरै ५७ प्रतिशत २५–३९ उमेर समूहका छन् । सबैभन्दा धेरै वीरगञ्जका ७०.६ प्रतिशत र धरानका ७०.८ प्रतिशतले फूटबल मन पराउने उत्तर दिए ।

‘नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी यहाँ कुन खेलको भविष्य राम्रो देख्नुभएको छ ?’ भन्ने प्रश्नमा ४२ प्रतिशतले फूटबल र २७.५ प्रतिशतले क्रिकेटमा सम्भावना भएको उत्तर दिए । १८.७ प्रतिशतले थाहा नभएको, ७ प्रतिशतले भलिबल, १.९ प्रतिशतले ब्याडमिन्टन र १.३ प्रतिशतले भन्न नचाहेको उत्तर दिए ।

नेपालको खेललाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सरकारले खेल क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने सबैभन्दा धेरै उत्तरदाताले सुझएका छन् । ‘खेललाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन नेपालले के गर्नुपर्ला ?’ भन्ने प्रश्नमा २८.९ प्रतिशतले सरकारले पर्याप्त लगानी गर्नुपर्ने उत्तर दिए । २७.८ प्रतिशतले खेलकुदका पूर्वाधार र खेलाडीको सुविधामा ध्यान दिनुपर्ने बताए । १९.५ प्रतिशतले खेलकुदमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने, ११.५ प्रतिशतले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता र अभ्यासमा सहभागी गराउनुपर्ने र ११.८ प्रतिशतले थाहा नभएको जवाफ दिए ।

बहुसंख्यक उत्तरदाताले काठमाडौंमा भइरहेको साफ च्याम्पियनसीप हेर्ने गरेको सर्वेक्षणले देखाएको छ । साफ च्याम्पियनसीप हेर्नुभएको छ ? भनेर सोधिएको प्रश्नमा ५२.९ प्रतिशतले हेरेको जवाफ दिए भने ४७.१ प्रतिशतले नहेरेको बताए । च्याम्पियनसीप नहेरेको जवाफ दिनेमा सबैभन्दा धेरै ६० वर्षमाथिका ७७.६ र ४०–५९ उमेर समूहका ५५.८ प्रतिशत छन् । प्रतियोगिता हेर्नेमा सबैभन्दा धेरै १८–२४ उमेर समूहका ६७ प्रतिशत छन् । सबैभन्दा धेरै धरानका ७२ प्रतिशतले प्रतियोगिता हेरेको बताए भने सबैभन्दा कम वीरगञ्जका ९२ प्रतिशतले प्रतियोगिता नहेरेको बताए ।

comments powered by Disqus

रमझम