२-८ मंसिर २०७५ | 18-24 November 2018

सेन्टर टेबलको आकर्षण

Share:
  

हरेकजसो घरका बैठक कोठामा सोफाको अगाडि टी–टेबल वा सेन्टर टेबल राख्ने चलन छ । बैठक कोठालाई आकर्षक बनाउन सेन्टर टेबल पनि आकर्षक हुनुपर्छ ।

कोठाको भित्ता, भुईं र सोफाको रङसँग मिल्ने गरी सेन्टर टेबल बनाउनुपर्छ । यस्तो टेबल बनाउँदा वा खरीद गर्दा कोठाको आकार र उपलब्ध स्थान पनि ख्याल राख्नुपर्छ । ‘परफेक्ट लूक’ का लागि कोठा, सोफाको डिजाइन र टेबलबीच ‘म्याचिङ’ हुनु जरुरी छ । यी कुरामा ध्यान दिएपछि आफ्नो रुचि अनुसारको सेन्टर टेबल बनाउन सकिन्छ ।

चिया÷कफी, हल्का खाजा वा केही समयका लागि स–साना सामान राख्न उपयोग गरिने सेन्टर टेबल सामान्यतया सोफाको बस्ने भाग भन्दा अलिक बढी उँचाइको हुनुपर्छ । कोठामा फरकपन ल्याउनका लागि सामान र फर्निचर फरकफरक ढंगले सजाउने धेरैको बानी हुन्छ । त्यसैले सेन्टर टेबल कम वजनको बनाउँदा उपयुक्त हुन्छ । बढी प्लाइउड प्रयोग भएका सेन्टर टेबलको वजन कम हुन्छ । तर, काठ र प्लाइउडका फर्निचरलाई कीराले नोक्सान पुर्‍याउन सक्ने भएकोले त्यसमा ध्यान पुर्‍याउनुपर्छ ।

अचेल काँचको सेन्टर टेबल पनि निकै प्रचलनमा छ । काँचको टेबल जोगाउन वरपर वा ठीक माथि गह्रौं वस्तु, फोटो फ्रेम वा पेन्टिङ राख्नुहुँदैन । टेबल मुन्तिरको भागमा र्‍याक भए केही पुस्तक वा पत्रपत्रिका राख्न सजिलो हुन्छ । तर सेन्टर टेबलमा धेरै सामान वा बढी वजनका वस्तु राख्नु राम्रो मानिंदैन ।

हिजोआज बजारमा स्टिल वा काठको फ्रेममा काँचका सेन्टर टेबल बढी चल्तीमा छन् । स्टिल फ्रेममा खिया लाग्ने डर हुँदैन भने राम्रो पनि देखिन्छ । तर नक्कासी गरिएका काठका फ्रेम भएका सेन्टर टेबल क्लासिक लूकका लागि उपयुक्त मानिन्छ । कतै कतै प्लास्टिक र बेतका टी–टेबल पनि राख्ने गरिन्छ ।

बैठकको ‘सेन्टर अफ अट्रायाक्सन’ मा रहने सेन्टर टेबल सधैं सफा राख्नु पनि उत्तिकै जरुरी छ । धूलो वा अन्य वस्तु धेरै बेर टेबलको सतहमा रहन दिंदा सफा गर्न झण्झटिलो मात्र होइन दागसमेत बस्न सक्छ । सनमाइका, फोरमाइका लगाइएका, प्लास्टिक कोटेड वा काँचका टेबललाई कोलिन जस्ता क्लिनर वा सफा पानीमा कपडा भिजाएर सजिलै पुछ्न सकिन्छ ।

प्लास्टिक कोटेड टेबलमा विभिन्न आकृति बनाउन पनि सकिन्छ । त्यस्तै सेन्टर टेबलमा सानो गमला राख्दा त्यसले कोठाकै शोभा बढाउँछ । टी–टेबल वा सेन्टर टेबलमा टेबलपोस राख्ने चलन पनि छ । टेबलपोस राख्दा पनि कोठाका अन्य सामानसँग मिल्ने खालको राख्नुपर्छ ।

त्यसैगरी टेबल छनोट गर्दा चार कुनामा तिखो चुच्चो नभएको उपयुक्त हुन्छ । यदि घरमा बालबच्चा छन् भने टेबलको चुच्चोले चोटपटक लाग्न सक्छ । सामान्यतया आयताकार सेन्टर टेबलको लम्बाइ तीन फिटदेखि साढे तीन फिटसम्म र चौडाइ दुई फिटदेखि साढे दुई फिटसम्म हुन्छ । स्थान र व्यक्तिको रुचि साथै आवश्यकता अनुसार विभिन्न साइजका वर्गाकार, गोलाकार, अण्डाकार वा दुई तहका सेन्टर टेबल पनि राख्न सकिन्छ ।

अचेल बजारमा पाइने अधिकांश सेन्टर टेबलको मूल्य रु.४ हजारदेखि रु.१५ हजारसम्म छ । ललितपुर महानगरपालिका–१३ भैंसेपाटीस्थित श्रेष्ठ फर्निचरका प्रबन्धक पदम श्रेष्ठ ग्राहकहरूले घर सर्दा समेत सजिलो हुने गरी पेचकिल्ला कसेर सेट गर्न सकिने खालका सेन्टर टेबलको माग बढिरहेको बताउँछन् ।

comments powered by Disqus

रमझम