सँगै बस्नुभएकी भाउजूले भन्नुभयो, “तपाईं त घरमा आउनै छाड्नुभयो । आउनुस् न !”
दुवै बूढाबूढीको अनुहारमा उल्लास र सन्तोषको भाव थियो त्यो बेला । जीवनको एउटा कालखण्डमा अत्यन्त निकट रहेका पद्मदाइ हामी धेरैले दीर्घायुको कामना गरेको केही समयमै अकस्मात् संसार छोडेर जानुहोला भन्ने कल्पनासम्म थिएन । १८ कात्तिकमा लाजिम्पाटस्थित घरको आँगनमा राखिएको शवमा श्रद्धाञ्जलीका फूल चढाउँदा पनि उहाँ बितेजस्तो लागिरहेको थिएन । तर आँखै अगाडि उहाँको शव थियो । भाउजूलाई भेट्न म सरासर घरको माथिल्लो तला उक्लें । के भन्ने ! उहाँको शोकाकूल अनुहार एकछिन हेरें र सान्त्वनाका केही शब्द बोलेर तल ओर्लें ।
२०३३/३४ सालतिर होला हाम्रो पहिलो भेट भएको । पद्मदाइ नेपाल भाषा आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । म साहित्यिक, सांस्कृतिक क्षेत्रमा सक्रिय संकल्प परिवार मा आबद्ध थिएँ । मेरो क्रियाशीलता पत्रकारितामा पनि थियो । झापा आन्दोलनबाट उदाएको क्रान्तिकारी जोश र जाँगरले भरिएको ‘झापाली समूह’ भनेर चिनिने वामपन्थीहरूसँग संकल्प परिवार आबद्ध थियो ।
पद्मरत्न तुलाधर नेपाल भाषा दैनिक पत्रिका सम्पादन गर्नुहुथ्यो । असन बालकुमारीमा रहेको उहाँकै छापाखाना ‘मदन प्रिन्टिङ प्रेस’ मा उक्त दैनिकको कार्यालय थियो । पद्मरत्नले पत्रिकाको कम्पोजिटरदेखि सम्पादकसम्मको काम गर्नुहुन्थ्यो ।
त्यसबेला मोहनचन्द्र अधिकारी, केपी ओली, राधाकृष्ण मैनाली, नरेश खरेल, घनेन्द्र बस्नेत, नारद वाग्लेलगायत झापा आन्दोलनसँग सम्बन्धित थुप्रै राजनीतिक बन्दीहरू जेलमा थिए । राजबन्दीहरूलाई रिहा गराउन कानूनी सहयोग तथा अन्य सरसहयोगका लागि एउटा संस्था बनाउनु पर्यो भन्ने विषयमा पार्टीमा छलफल भयो र यो जिम्मेवारी मलाई दिइयो ।
एकदिन आफूसँग रहेको तत्कालीन पार्टीको मुखपत्र ‘वर्ग संघर्ष’ र अन्य वैचारिक दस्तावेजहरू बोकेर पद्मदाइको कार्यालय पुगें र आफ्नो राजनीतिक परिचय खुलाएँ– “दाइ म झापाली समूहसँग आबद्ध छु । यी हाम्रो पार्टीका केही दस्तावेजहरू हुन् । दाइले अध्ययन गरेपछि छलफल गरौ ।”
उहाँले स्वीकृतिमा टाउको हल्लाउनुभयो । राजनीतिक निकटता र छलफल बढ्दै जाँदा मैले उहाँलाई विभिन्न विचारधाराका राजनीतिक बन्दीहरूलाई सहयोग गर्न एउटा संस्था बनाऔं र त्यसको नेतृत्व तपाईंले गर्नुहोस् भनेर प्रस्ताव राखें । त्यसपछि उहाँ अध्यक्ष र पत्रकार अशोक श्रेष्ठ सचिव रहेको राजबन्दी विमोचन समिति गठन गरियो । यो समितिले राजबन्दीहरूलाई विभिन्न सहयोग गर्न थाल्यो । त्यसैबीच ठँहिटीमा रहेको संकल्प कार्यालयमा पद्मरत्न तुलाधरलाई कहिले जीवराज आश्रित त कहिले माधवकुमार नेपालसँग भेट गराएर उहाँसँग पार्टीको सम्बन्ध निकट बनाउँदै लैजाने काम भयो । तर, उहाँले पछिसम्म पनि पार्टी सदस्यता लिनु भएन । यद्यपि पञ्चायतकालमा पार्टीको निर्णयलाई गम्भीरतापूर्वक पालन गर्नुभयो ।
पद्मरत्न तुलाधरको वाक्शक्ति राम्रो थियो । अनेरास्ववियुको पाँचौं राष्ट्रिय सम्मेलनमा वक्ताहरू छान्ने क्रममा मैले पद्मरत्न तुलाधरको नाम प्रस्ताव गरेको थिएँ । शुरूमा त उहाँले मान्दै मान्नु भएन । ‘मैले आजसम्म नेपाली भाषामा कुनै मञ्चमा भाषण गरेको छैन । सक्छु जस्तो पनि लाग्दैन । त्यसैले म नजाऊँ होला’ भन्नुभयो । तर, पद्मदाइको भाषण विभिन्न ठाउँमा सुनेको र नेपाली पनि राम्रैसँग बोल्न सक्ने हुँदा मलाई उहाँको क्षमतामा विश्वास थियो । तपाईं जानै पर्छ भनेर जोड गरें । अन्ततः उहाँ त्यो सम्मेलनमा जानुभयो र त्यहाँ सबैभन्दा जोशिलो र प्रभावकारी भाषण उहाँकै सावित भयो ।
पद्मरत्न तुलाधर शालीन, मृदुभाषी, सरल र निष्कपट व्यक्ति हुनुहुन्थ्यो । अरूबाट जानीजानी नोक्सानमा पर्दा समेत त्यसको प्रतिवाद गर्नुहुन्नथ्यो । प्रेस सञ्चालन गरे पनि नाफा कमाउनु त कताकता कर्मचारीलाई समयमा तलब दिन समेत सक्नुहुन्थेन । उहाँको प्रेसमा काम भ्याई नभ्याई हुने तर पैसा नआउने । कम्पोजिटर आएन भने आफैं कम्पोज गर्न थाल्ने, छाप्ने मान्छे आएन भने आफैं छाप्न थाल्ने । पत्रिकामा सम्पादकीय वा समाचार लेख्दा आफैंले सिसाको अक्षर टिप्दै कम्पोज गर्ने उहाँको खूबी थियो ।
सम्पादकीय कम्पोज र भेट्न आएकासँग कुराकानी एकैपटक चल्थ्यो । नेपाल भाषा आन्दोलन, भाषाको सेवा र राजनीतिक सहयोगको लागि उहाँले खतरा मोलेर आफ्नो समय, सम्पत्ति र श्रम लगाउनुभयो । उहाँको छापाखानामा छपाउन आउनेहरू कतिपयले त एड्भान्स दिनु त परै जाओस् छाप्ने कागजसम्म किन्न लगाउँथे तर पनि उहाँ नाइँ भन्न नसक्ने । मैले धेरैपल्ट उहाँसँग व्यापारलाई व्यापार जसरी सञ्चालन गर्न जोड गरें, तर उहाँ हाँसेर भन्नुहुन्थ्यो, “मेरो स्वभाव नै यस्तै छ त, के गर्ने ?” वास्तवमा पद्मरत्नको प्रेस नेपाल भाषा आन्दोलनको हेडक्वार्टर जस्तो थियो । जहाँ व्यापार शून्य जस्तो थियो तर, भाषा आन्दोलन सम्बन्धी बहस र छलफल निरन्तर चलिरहन्थ्यो ।
२०४०–४१ सालदेखि हामी पत्रकारितामा पनि सँगै भयौं । युगधारा साप्ताहिक (रातो युगधारा पनि भनिन्थ्यो) लाई साझा वामपन्थी साप्ताहिक जस्तो बनाएर चलाऊँ भनेर हामी एउटै टीममा सामेल भयौं । तीर्थमान ज्यापू प्रकाशक, कृष्णदास श्रेष्ठ सल्लाहकार, हिरण्यलाल श्रेष्ठ प्रधानसम्पादक, पद्मरत्न तुलाधर वरिष्ठ सम्पादक र म कार्यकारी सम्पादक रहेर चलाएको त्यो पत्रिका पञ्चायती सरकारले प्रतिबन्ध नलगाएसम्म निकै लोकप्रिय भएर चल्यो ।
२०४३ सालको राष्ट्रिय पञ्चायतको चुनाव तत्कालीन नेकपा (माले) ले उपयोग गर्ने नीति लिएपछि पद्मरत्नलाई काठमाडौंबाट उम्मेदवार बनाइयो । युगधारा ले उहाँको निर्वाचन गतिविधिलाई राम्रो ढंगले प्रकाशित गर्थ्यो । म त उहाँको निर्वाचनको अभियानकर्ता जस्तै भएर दिनमा तीन–चार वटा सभामा भाषण गर्दै हिंड्थें । उहाँले निर्वाचन निकै धेरै मत प्राप्त गरेर जित्नुभयो र राष्ट्रिय पञ्चायतमा बहुदलको पक्षमा राम्रो भूमिका खेल्नुभयो ।
राष्ट्रिय पञ्चायतमा निर्वाचित भएपछि उहाँको राजनीतिक सक्रियता निकै बढ्यो । २०४६ सालमा संयुक्त जनआन्दोलन शुरू गर्ने निर्णयपछि आन्दोलनको अगुवाइ गर्दै शुरुमै गिरफ्तारी दिने नेताहरूमध्ये तुलसीलाल अमात्य र पद्मरत्न अग्रपंक्तिमा हुनुहुन्थ्यो । हामीलाई आन्दोलनको नेतृत्व गर्ने तर, सकेसम्म गिरफ्तार नहुने निर्देशन थियो भने तुलसीलाल अमात्य र पद्मरत्न जस्ता व्यक्तिहरूले गिरफ्तारी दिने कुरा थियो ।
उहाँ २०४८ र ५१ सालको संसदीय निर्वाचनमा काठमाडौंबाट विजयी हुनुभयो । नेकपा (एमाले) को उम्मेदवारका रूपमा निर्वाचित उहाँ मनमोहन अधिकारी नेतृत्वको पहिलो वामपन्थी सरकारमा स्वास्थ्यमन्त्री हुनुभयो । महाकाली सन्धि सम्बन्धी विवाद चर्केर नेकपा (एमाले) विभाजित हुँदा उहाँको सहानुभूति विभाजनपछि बनेको माले पार्टीतर्फ रह्यो र २०५६ सालको निर्वाचनमा त्यसैको तारा चिह्न लिएर उम्मेदवारी दिनुभयोे तर, पराजित हुनुभयो । यसपछि भने उहाँ सक्रिय राजनीतिकर्मीको भूमिकाबाट पन्छिंदै मानवअधिकार र भाषा आन्दोलनको क्षेत्रमा बढी सक्रिय हुन थाल्नुभयो ।
२०५१ सालको संसदमा निर्वाचित भएदेखि मेरो पनि सबैजसो समय राजनीतिमा बित्न र भेटघाट पातलिन थाल्यो । तर झण्डै दुई दशकजति घनिष्ठ रहेर साहित्य, भाषा, राजनीति र नागरिक अधिकारको आन्दोलनमा सक्रिय रहँदा मैले चिनेको पद्मरत्न मानवीय गुण र कोमलताले भरिएको पद्मरत्न हुनुहुन्थ्यो । अहिलेको प्रगतिशील लेखक संघलाई पुनर्जन्म दिन भनेर हामीले काठमाडौं न्हैकन्तलाको विप्लवी पुस्तकालयमा आयोजना गरेको लेखक–कलाकारहरूको भेलाको अध्यक्षता पद्मरत्न तुलाधरले नै गर्नुभएको थियो । उहाँ र मञ्जुलको प्रस्तावमा त्यो भेलाले मेरो संयोजकत्वमा राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको थियो, जुन आयोजक समितिमा पारिजात, दुर्गालाल श्रेष्ठ, मञ्जुललगायत साहित्यिक क्षेत्रका अनेकौं व्यक्तित्व सदस्य रहनुभएको थियो ।
पद्मरत्न कम बोल्नुहुन्थ्यो, धेरै सुन्नुहुन्थ्यो । दुर्गालाल श्रेष्ठले एउटा साहित्यिक कार्यक्रममा मसँग पद्मरत्नको प्रशंसा गर्दै भन्नुभएको थियो “ए रघुजी यो पद्मरत्नले मञ्चमा चढेपछि कसरी धाराप्रवाह बोल्न सकेको होला ! अघिपछि बोल्नै गाह्रो तर मञ्चमा चढेपछि पानीको मूल फुटेजस्तो आएको छ, आएको छ ।”
पद्मरत्नमा तीक्ष्ण हास्यचेत थियो । उहाँ नेपाल भाषामा पत्रकारका रूपमा मात्र नभएर ख्यालः (हास्यव्यङ्ग्य) लेखकका रूपमा पनि विख्यात हुनुहुन्थ्यो । पञ्चायतकालमा पत्रिकाहरूले गाईजात्रे विशेषांक निकाल्ने चलन व्यापक थियो । हामीले चलाउने युगधारा साप्ताहिक (रातो) को गाईजात्रे अंकको बढी सामग्री उहाँले नै लेख्नुहुन्थ्यो । शुरूमा उहाँ नेपालीमा लेख्न अन्कनाएपछि मैले भनेको थिएँ, “तलमाथि भए मिलाउने म छँदैछु नि, लेखी त हेर्नोस् न जम्छ ।” नभन्दै युगधारा का गाईजात्रे अंकहरू निकै लोकप्रिय थिए ।
आज पद्मदाइ स–शरीर हामीसामु नभए पनि उहाँ धेरै मानिसको मनमा जीवितै हुनुहुन्छ । नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा उल्लेख्य भूमिका खेल्ने व्यक्तिको रूपमा नेपाली समाजले उहाँलाई निरन्तर सम्झिरहनेछ ।