१० असोजमा ललितपुर धापाखेलस्थित फ्लाइङ हर्स ट्रेनिङ सेन्टरमा भेटिएकी देछेनकी आमा लाक्पा शेर्पा छोरीको रुचि घोडचढीमा भएको बताउँछिन् । उनी भन्छिन्, “उसले रुचि देखाएकाले घोडचढी सिकाउन ल्याएकी हुँ । उसमा जनावरप्रतिको प्रेम पनि बढ्दो छ ।”
ललितपुर ग्वार्काे बस्ने निहाल मोहम्मद (८) पनि पछिल्लो दुई महीनादेखि हप्ताको एक दिन हर्स राइडिङ गर्छन् । एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत उनका बाबु गुलाम मोहम्मदको नियमित काम जस्तै भएको छ, हरेक सप्ताहान्त निहाललाई ‘हर्स राइडिङ’ स्थल लैजानु । “ऊ एक टकले टीभीमा घोडादौड हेर्छ र मलाई पनि यस्तै बन्ने इच्छा छ भनिरहन्छ” पाकिस्तानी बाबु गुलाम भन्छन्, “उसले एक घण्टा अदबसाथ लगाम खिचेको म आँखा नझिम्क्याई हेर्छु र रोमाञ्चित हुन्छु ।”
घोडामाथि चढेर काठमाडौं फन्को मार्ने चाहनाले ललितपुरकी पूजा गुरुङ (२७) लाई पनि ‘फ्लाइङ हर्स’ सम्म पुर्यायो । उनी पछिल्लो तीन महीनादेखि घोडचढी तालिम लिंदै सोही संस्थामा काम पनि गर्छिन् । उनको अनुभवमा घोडचढीका लागि मनमा एकाग्रता चाहिन्छ । “घोडाले आफूमाथि चढेको मान्छेको ठीक समयमा आदेश पर्खिरहेको हुन्छ” उनी भन्छिन्, “भोकाएको र सम्भोगका लागि आतुर घोडामा चढ्नु जोखिमपूर्ण हुन्छ ।”
काठमाडौंको बालुवाटारस्थित एन्जल हर्स एण्ड स्टेबलका प्रबन्धक अनुरागमान कुँवर (३८) आफू सानैदेखि घोडचढीको सौखिन भएको बताउँछन् । बाबुबाजेका पालादेखि नै घरमा घोडा देखेका उनी घोडालाई सवारीको ‘राजकीय साधन’ भन्छन् । “राजा–महाराजाहरू घोडामा चढेर अदबसाथ हिंडेको दृश्य काठमाडौंको कुलीन समाजले अझै भुलेको छैन । घोडा हाँक्न र विवाहमा बग्गीमा अन्मिन चाहने युवाको संख्या पनि बढ्दो छ ।”
आठ वर्षअघि खुलेको उनको अश्वशालामा युरोप र एशियाका मिक्स ब्रिडका सात वटा घोडा छन् भने विवाहका लागि प्रयोग हुने चार वटा बग्गी पनि राखिएको छ । काठमाडौंमा दूरी हेरी एउटा विवाहका लागि रु.६५ हजारदेखि रु.१ लाख २० हजारसम्म लिने गरेको उनी बताउँछन् ।
उपत्यकाभित्र व्यावसायिक रूपमा घोडचढी सिकाउनले आधा घण्टा घोडा चढ्न सिकाएको रु.१५०० लिने गरेका छन् । ६ महीनाअघि खुलेको फ्लाइङ हर्सका प्रबन्धक रिचेस वैद्य आधा घण्टाका दरले पाँच पटकको प्याकेजका लागि रु.७ हजार लिने बताउँछन् । १० वटा घोडा राखेका वैद्य भन्छन्, “दैनिक सरदर ३५ जना घोडचढीका सौखिन ग्राहक आइरहेका छन् ।”
उनले भारतको राजस्थान र कानपुरदेखि एउटा घोडालाई रु.१ लाख ५० हजारदेखि रु.३ लाखसम्म तिरेर ल्याएका हुन् । “घोडचढी मेरो पुस्ताका लागि महँगो सोख हो” उनी भन्छन्, “घोडालाई जति प्रिय व्यवहार गर्यो, उति फूर्तिसाथ दौडिन्छ ।”