९-१५ मंसिर २०७५ | 25 Nov - 1 Dec 2018

बुझनै नसकिने दरबारको चिठी

Share:
  
- भैरव रिसाल
छोटो वाक्य छ, “अर्को हुकुम नभएसम्म दरबार हाजिर हुनुपर्दैन।” के अर्थ लगाउने ? जागिर खोसिएकै हो कि, अलि समयलाई मात्र दरबार हाजिर हुनु नपर्ने हो ? वा, जागिर कायमै छ ?

दरबार भनेपछि के के हुने के के ! लोकोक्ति नै छ ‘जाने दरबार नजाने तरबार ।’ दरबारको भाषाशैली नै अर्कै हुनेरहेछ । दरबार पसेका, दरबार बसेका, दरबार खाएकाहरूसँग कुरा गर्दा मनपेट नै नपाइने । उनीहरूले के भनेका हुन्, के भन्न खोजिएको हो– सर्वसाधारण र दरबारको संगत नगरेकाहरूका लागि बुझनै गाह्रो । यस्तै एउटा प्रसंग छ, लोकदर्शन बज्राचार्यको राजदरबारबाट जागिर खोसिंदाको ।

लोकदर्शनको घर असन–इन्द्रचोकको बीच, मच्छिन्द्र बहालभन्दा उत्तरपूर्व । बिहान उनी दरबार (अफिस) जान भनी लुगा लगाउँदै रहेछन् । उनको घरमुनि घोडामा नारायणहिटी राजदरबारबाट एक सिपाही आएर बडो अदब साथ चिठी दिएछन् । र, सलाम गरेर चिठी दिएका ती सिपाही सलामै गरी फर्किएछन् । पत्रमा ‘अत्यन्त गोप्य, सम्बोधित व्यक्तिले मात्र खोल्ने’ भन्ने छाप पनि लागेको रहेछ ।

जागिर खोसिएकै हो त ?

लोकदर्शन निकै टाठा, कुरा बुझन खप्पिस । दरबारबाट घोडा चढेर सिपाही आउनु, चिठी ल्याउनु, त्यो पनि दरबारै जान लागेका बेलामा । यो राम्रो लक्षण होइन भन्ने उनले बुझ्हिाले । उनी आफ्नो कोठामा गएर ढोकामा आग्लो हालेछन् र थर्थर हात कमाउँदै चिठी खोलेछन् । पत्रमा स्पष्ट लेखेको रहेछ “अर्को हुकुम नभएसम्म दरबार हाजिर हुनुपर्दैन ।” एउटा छोटो वाक्यमा रहेछ, त्यो चिठी ।

आफूमाथि बज्र परेझैं भयो उनलाई । चिठी खोल्दा हात मात्र कामेको थियो, पढेपछि सम्पूर्ण जीउ नै काम्न थालेछ । ढोकाको आग्लो खोली कोट लगाएरै डङ्ग्रङ्ग पल्टिएछन् ओछ्यानमा । उनलाई रिङ्गटा पनि लागेछ रे !

प्रलय नै भो उनको संसारमा । दरबारमा राजा महेन्द्रको मनपरेको सचिव । फेद काटिएको रूखझैं ढले रे उनी पलङमा ! त्यो एक वाक्यले मान्छेको जिन्दगीमा कत्रो परिणाम ल्याउने ! पत्रमा उल्लिखित वाक्य पढ्दा के अर्थ लगाउने ? जागिर खोसिएकै हो कि, अलि समयलाई मात्र दरबार हाजिर हुनु नपर्ने हो ? वा, जागिर कायमै छ ?

दरबारको भाषा

वाक्यभित्र छ ‘अर्को हुकुम नभएसम्म ।’ अर्को हुकुम हुने कि नहुने ? भए कहिले हुने ? पेट बोलीमा यति धेरै रहस्य लुकेको ! सोझै जागिर खोसिएकै हो भन्न पनि नमिल्ने, होइन भन्न पनि नमिल्ने ।

पत्र पाएपछि उनी दरबार जाने प्रश्नै आएन, उनका लागि ढोका बन्द भै गो ! त्यसअघि आफू सचिव छँदा कति जनाको जागिर खोसिंदा उनैले मस्यौदा गरे होलान्, यस्ता चिठीको । आफूले मस्यौदा गरेका चिठीले के सन्देश दिन्छ भन्ने उनी पूरा बुझथे । उनी भन्ने गर्थे, “राजा त्रिभुवन र महेन्द्रले पनि मलाई मन पराउँछन् ।” दुवै राजाले लोकदर्शन नभनेर ‘दर्शन’ मात्रै भन्ने गर्थे रे ! पाँच अक्षरको नाममध्ये शुरूको दुई अक्षर उच्चारण नगरी ‘दर्शन’ मात्र सम्बोधन गरिनु आत्मीयताको माथिल्लो सूचक रे !

भावुक भएर उनले मलाई भनेका थिए “म राजपरिवारको त्यति प्यारो थिएँ भन्ने लाग्थ्यो ।” उनका दाजु दरबारका वैद्य थिए, आयुर्वेद विधाका । बाबुबाजेको पालादेखिकै हो कि यो उनको वैदाङ्गी पेशा, थाहा भएन । उनको दाजुकहाँ औषधि किन्न म पनि जान्थें ।

त्यो विश्वास

राणाशासनको विरोध गर्दै राजा त्रिभुवन सपरिवार (माहिलो नाति ज्ञानेन्द्र बाहेक) नेपालको राजगद्दी छोडी दिल्ली गएका बेलादेखि राजपरिवारसँग आफ्नो बाक्लो सम्बन्ध रहेको लोकदर्शनले मलाई पनि बताएका थिए । त्यतिबेला उनी भारतको दिल्लीमा पढ्दै थिए । प्रजातन्त्रका लागि राजसिंहासन नै छाडेर आएको राजपरिवारप्रति उनको सहयोगको भावना जागृत हुनु अस्वाभाविक थिएन । त्यसमाथि आफ्नो सहोदर दाजु स्वयं राजदरबारको वैद्य । यस्तो यथार्थमा उनको राजपरिवारतिर र दरबारको उनीतिर आकर्षण बढ्नु स्वाभाविकै थियो ।

दिल्लीमा भारत सरकारबाट प्राप्त हुने सूचना बाहेक जनस्तर, कूटनीतिक दुनियाँका टीका–टिप्पणी र अन्य गतिविधिको सूचनाका लागि लोकदर्शन राजपरिवारको विश्वसनीय सूत्र भए । यही सम्बन्धले अन्ततोगत्वा लोकदर्शन दरबार पसे । नेपालको संविधान तयार पार्ने सन्दर्भमा राजा महेन्द्रले उनलाई युरोपका निकै वटा राज्यका संविधान अध्ययन गर्न दिएका थिए रे ! पछि खै के खटपट भो ! उनै महेन्द्रले लोकदर्शनलाई जागिरबाट निकालिदिए । ।

comments powered by Disqus

रमझम