३० भदौ २०७० | 15 September 2013

बाबुरामजी के सोच्नुहुन्छ म जान्दिनँ

Share:
  
- हिमाल टीम

ऋषिराम कट्टेल
नारायणकाजी श्रेष्ठ

नेता, एनेकपा (माओवादी)

पार्टी फुटको संगठनात्मक ढाँचासँग जोडिएको विषय होइन । पार्टी राजनीतिक कारणले फुटेको हो । शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधानसभाबाट नयाँ संविधान लेख्ने हाम्रो मान्यताका कारण पार्टी फुट्यो ।

पार्टीको निर्णय प्रक्रियामा तपाईं असन्तुष्ट हुनुहुन्छ हैन ?

बाहिर प्रचार भए जस्तो पार्टीको निर्णय प्रक्रिया र निर्णयमा मेरो असन्तुष्टि छ भन्ने साँचो होइन । पार्टीमा चल्ने छलफलमा विभिन्न कोणबाट कुरा उठेको र तिनमा मेरो विचार आएको भने साँचो हो ।

बाबुराम भट्टराईले तपाईं बराबर हुन नचाहेर उपाध्यक्षबाट राजीनामा दिएपछि महाधिवेशनबाट निर्वाचित पदाधिकारी हटाइएकोमा तपाईं असन्तुष्ट हुनुभएको होइन र ?

विल्कुलै होइन । पद र प्रतिष्ठाको लागि म असन्तुष्ट हुने मान्छे नै होइन । पार्टी, जनता र परिवर्तनका लागि म लागेको हुँ । तर, महाधिवेशनबाट निर्वाचित पदाधिकारी ६ महीनाभित्रै विघटन हुनु राम्रो पक्कै होइन । पार्टीको संगठनात्मक अवधारणामा आएको परिवर्तन र त्यसलाई कार्यान्वयन गर्दा समस्या र कमजोरी भएको चाहिं साँचो हो । त्यही वेला उपाध्यक्षबाट बाबुरामले दिनुभएको राजीनामाको तरीका ठीक नभए पनि त्यसलाई समाधान गर्नुपर्ने भयो । उहाँलाई वरिष्ठ नेता बनाउन सबै सहमत भए पनि अध्यक्षले अहिले नयाँ पद सिर्जना गर्नु उपयुक्त नहुने बताउनुभयो । बाबुरामले उपाध्यक्षमा नफर्कने बताएपछि समस्या मकहाँ ठोक्किएको हो । त्यसपछि मैले र पोष्टबहादुर बोगटीले सल्लाह गरेर पदत्याग गर्ने घोषणा गर्यौं ।

बाबुरामजी के सोच्नुहुन्छ, उहाँ नै जान्नुहोला । तर, मसँगै उपाध्यक्ष पदमा बस्न रुचाउनुहुन्न भन्ने चाहिं म ठान्दिनँ । किनभने, अहिले पनि उहाँ मसँगै केन्द्रीय समितिमा हुनुहुन्छ ।

तपाईं असन्तुष्ट रहनुभएको खबर किन बारम्बार आइरहेको होला ?

खासमा म पार्टीभन्दा पनि नेपालको समग्र राजनीति गञ्जागोल हुँदै गएकोमा असन्तुष्ट भएको हुँ । हाम्रो देश नव–उपनिवेशवादको वृद्धाश्रम बनेको छ । नव–उपनिवेशवाद किनभने, हाम्रो आन्तरिक निर्णय गर्ने क्षमता कमजोर भएको छ । १७ हजार मानिसको ज्यान गएर आएको परिवर्तन सत्ताको फोहोरी खेलले ध्वस्त पार्दैछ । मेरो चिन्ता र असन्तुष्टि त्यसमा हो ।

युद्धकालदेखि तपाईंले पुष्पकमल दाहालको र उहाँले तपाईंको सार्वजनिक प्रशंसा गर्ने गरेकोमा कुन वेलादेखि तपाईंहरुको सम्बन्ध बिग्रन शुरु भएको हो ?

उहाँलाई म अहिले पनि क्रान्तिकारी नेता नै मान्छु र उहाँको नेतृत्वमा काम गर्न मलाई कुनै हिच्किचाहट छैन । तर पार्टीमा यो मात्र पर्याप्त हुँदैन । जुन वर्गको मुक्तिको लागि हामीले कुरा ग¥यौं, त्यसबारे छलफल र मतभिन्नता हुनु ठूलो कुरा होइन । पहिले पनि मैले समय समयमा उहाँको आलोचना नगरेको होइन । प्रचण्डपथको बारेमा भूमिगतकालमै पनि मैले असहमति राखेको थिएँ । हिजो जस्तै उहाँसँग मेरो आज पनि कैयौं विषयमा मतभिन्नता छँदैछन् ।

त्यो वेला तपाईंले माओवादीलाई सामाजिक फाँसीवादी पनि भन्नुभयो होइन ? त्यो कुरा उठाउँदै माओवादीहरुले अहिले तपाईंलाई युद्धमा भाग नलिएको चैते माओवादी भन्छन् नि ?

अनेक थरी मानिस रहेकाले पार्टीमा अनेक थरी विचार आउनु अस्वाभाविक होइन । तर, मबारे हाम्रो पार्टीको आधिकारिक धारणा त्यस्तो छैन । पार्टी नेतृत्वको पनि त्यस्तो धारणा होला भन्ने मलाई लाग्दैन । हामीले माओवादीलाई सामाजिक फाँसीवादी पनि भनेका थिएनौं । बलमिच्याईं गर्ने प्रवृत्तिमा सुधार हुनुपर्छ मात्र भनेका थियौं । त्यसको स्वीकारोक्ति शान्ति प्रक्रियामा आउनुअघिको बैठकबाट माओवादीले पनि गरिसकेको छ । माओवादीको चुनवाङ बैठकको सार पनि त्यही हो । हामी एकीकृत भएको र नयाँ बाटोमा अघि बढेको कारण पनि त्यही हो । त्यसैगरी, हिजो हामी कोही युद्धमा थियौं होला, कोही अर्को मोर्चामा । तर, सबै एक नभइकन अगाडि बढ्न सक्ने स्थिति छैन । पार्टीको निर्णय पनि त्यही हो ।

तपाईंप्रतिको व्यवहार त त्यस्तो देखिंदैन नि ?

पार्टीमा कुनै समस्या छैन भनेर म भन्दिनँ । तर, हाम्रो मूल समस्या त्यो होइन ।

तपाईंहरुको पार्टीको मूल समस्या चाहिं के हो त ?

हाम्रो मूल समस्या भनेको हेटौंडामा सम्पन्न सातौं महाधिवेशनले पारित गरेको कार्यनीतिलाई संश्लेषण गर्नु हो ।

जुन समुदायमा पुग्यो उसैलाई राज्य दिने भन्नु र युद्धको धङधङी कायम रहनु चाहिं समस्या हो जस्तो लाग्दैन ?

जुन समुदायमा पुग्यो उसैलाई राज्य बाँड्ने काम हाम्रो पार्टीले गरेको छैन । हामीले पहिचान र सामथ्र्यको आधारमा संघीयतामा जानुपर्छ भनेका हौं ।

पहिचानको परिभाषा के हो ?

पहिचानलाई जात वा कास्टको रुपमा हेर्नुहुँदैन । राष्ट्रियताको मूलधारबाट टाढा रहेका राष्ट्रियता भएका सीमान्तकृत समुदायको पहिचानलाई संघीयताले सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । तर, हामीले पहिचानसँगै सामथ्र्यको ख्याल पनि गर्नुपर्छ भनेका छौं ।

बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन धोबीघाट गठबन्धन गर्नुभयो, तर प्रधानमन्त्री बनेपछि तपाईंसँग उहाँको दूरी बढ्यो, गठबन्धनमा रहेका मोहन वैद्यले अर्को पार्टी नै खोल्नुभयो, किन होला ?

हाम्रो पार्टीमा विभिन्न मत रहेकोमा ती मत कायम राखेर धोबीघाटमा कार्यगत एकता भएको हो । सबैको विचार एक भएको होइन । पार्टी सामूहिक नेतृत्वमा जाओस् भनेर दबाब दिन त्यो गठबन्धन भएको थियो ।

सरकारमा हुँदा बाबुरामसँग मतभेद किन बढ्यो त ?

सँगै बस्दा र काम गर्दा विधि–प्रक्रिया पुगेन भने मतभेद त भइहाल्छ नि ! विधि र प्रक्रियामा तलमाथि हुन थालेकाले मतभेद भएको हो ।

बाबुरामसँग तपाईंको केमा मतभिन्नता भएको हो ?

कतिपय मतभिन्नता पार्टीका निकायहरुमा छलफल गरेर टुङ्ग्याउने हाम्रो निर्णय छ । राष्ट्रियताको सवालमा पार्टीको विस्तारित बैठकबाट निर्णय गर्ने भन्ने छ । सरकार संचालन कसरी गर्ने भन्नेमा पनि हामी छलफल गर्दैछौं ।

धोबीघाटले सामूहिक नेतृत्वको कुरा गरे पनि त्यसपछि पार्टी विभाजन भयो र पार्टी एकल नेतृत्वमा गयो । यसले धोबीघाट गठबन्धन नै गलत भएको देखाउँदैन र ?

पार्टी फुट, संगठनात्मक ढाँचासँग जोडिएको विषय होइन । पार्टी राजनीतिक कारणले फुटेको हो । शान्ति प्रक्रिया टुङ्ग्याउने र संविधानसभाबाट नयाँ संविधान लेख्ने हाम्रो मान्यताका कारण पार्टी फुट्यो । अहिले पार्टी एकल नेतृत्वमा गयो भन्ने पक्षमा पनि म छैन । किनभने राष्ट्रिय सम्मेलन गरेर चुनावपछि संगठनको समस्या मिलाउने हामीले भनिसकेका छौं ।

व्यवहारमा त एकल नेतृत्वमै गएको देखिन्छ नि ?

तत्कालीन परिस्थितिका कारण मात्र हामीले यस्तो निर्णय गरेका हौं । यो सधैंका लागि होइन ।

पुष्पकमल दाहाल र बाबुरामले छलफल गरेर निर्णय गर्ने र तपाईंहरुलाई सुनाउने गरेकोमा तपाईं असन्तुष्ट रहेको भनिन्छ नि ?

छापामा आए जस्तो पार्टीका निर्णयहरुमा मेरो कुनै सहभागिता रहँदैन भन्ने होइन । मिडियामा कतिपय कुरा अतिरन्जित तरीकाले पनि आउँछ ।

पार्टीको हरेक निर्णयमा तपाईंको सहभागिता छ भनेर भन्न सक्नुहुन्छ त ?

पार्टीका हरेक औपचारिक निर्णयमा मेरो सहभागिता छ र कार्यान्वयनमा पनि मेरो त्यहीस्तरमा सहभागिता रहने गरेको छ ।

उपाध्यक्षको हैसियतको तपाईंले उठाएको विप्पा सम्झौताको मुद्दामा त पार्टीमा छलफल भएन भने केन्द्रीय सदस्य वा अरुले उठाएको मुद्दाको तपाईंको पार्टीमा के अर्थ रहला र ?

विप्पाबारे मात्रै होइन, समग्र राष्ट्रियताकै मुद्दामा छलफल चलिरहेको छ । कहिलेकाहीं मैले वा अरु कसैले उठाएका राम्रा विषयले समयमै उचित स्थान नपाउन सक्छन् भन्ने सत्य हो । तर, नेपालको इतिहासमै पहिलो पल्ट कुनै पार्टीले राष्ट्रियताको सवालमा विस्तारित बैठक बोलाउँदैछ भन्ने पनि अर्काे सत्य हो ।

सशस्त्र द्वन्द्वका वेला भएका ज्यादतीका पीडितहरुले कसरी न्याय पाउनुपर्छ भन्ने लाग्छ ?

बृहत्तर सुझ्बुझ् र दृष्टिकोणको आधारमा अघि बढ्नुपर्छ । हामी अहिले शान्ति प्रक्रियामा रहेकाले शान्ति सम्झौताकै आधारमा सबै विषय छिनोफानो हुनुपर्छ । त्यसैले चाँडोभन्दा चाँडो सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर सबै समस्या हल गर्नुपर्छ ।

छोराको हत्या सम्बन्धमा न्याय पाउन अधिकारी दम्पती डेढ महिना भन्दा बढीदेखि अनशनमा छन्, तर तपाईंको पार्टी नेतृत्व उनीहरुलाई अरुले उचालेको भनेर भन्छ, यसले समस्या समाधान हुन्छ ?

एउटा घटना टिपेर समस्या समाधान हुँदैन भन्ने हाम्रो भनाइ हो । हामी पनि कानूनी शासन र पीडितले न्याय पाउनुपर्छ भन्ने पक्षमै छौं ।

त्यसो भए अदालतले दोषी भनिसकेको व्यक्तिलाई किन उम्मेदवार बनाउन लाग्नुभएको ?

म अदालतलाई भगवान मान्ने पक्षमा भने छैन । तपाईंले संकेत गर्नुभएको केसमा पनि अदालतले अपनाएको प्रक्रिया ठीक थिएन । तर, असहमत भए पनि अदालतको फैसलालाई कार्यान्वयन गर्ने पक्षमै छौं ।

४ मंसीरमै निर्वाचन हुन्छ भन्ने लाग्छ ?

ढुक्क हुनुस्, हुन्छ ।

वैद्य माओवादी निर्वाचनमा आउला ?

अहिले नै त्यो भन्न नसके पनि उहाँहरुभित्र सकारात्मक छलफल हुन थालेको छ । यद्यपि निर्वाचनमा नजाने पोखरा बैठकको निर्णय सच्चिसकेको छैन ।

तपाईंहरुसँग पार्टी एकीकरण गर्ने कुरा पनि आइरहेको छ नि ?

एकताका लागि अहिलेसम्म ठोस रुपमा केही भए जस्तो लाग्दैन । राजनीतिक र वैचारिक मतभेद नमिली त्यो सम्भव पनि छैन ।

comments powered by Disqus

रमझम