९-१५ मंसिर २०७५ | 25 Nov - 1 Dec 2018

नेपालका गुराँस प्रजाति

Share:
  
- कमल मादेन

सुन्दर फूलप्रति सबैको चासो रहन्छ । प्रकृतिप्रेमी र उच्च पहाडी तथा हिमाली भेगका बासिन्दा गुराँसप्रति थोरबहुत जानकार छन् । प्रकृतिविद्ले गुराँस लगायत फूलबारे खोज–अध्ययन गरिरहेका छन् । हिजोसम्म नेपालमा कति प्रजातिका गुराँस छन् भन्ने रहस्यमै थियो । हालै प्रकाशित कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू पुस्तकमा नेपालमा ३३ प्रजातिका गुराँस पाइने उल्लेख छ ।

नेपालका गुराँसबारे यसअघि पनि पुस्तक लेखिएका थिए । फ्रेन्च नागरिक रेने डी मिल्लेविल्लेले सन् २००२ मा द रोडोडेन्ड्रन्स् अफ नेपाल पुस्तक लेखे । सन् १९६२ मा गोसाइँकुण्ड पुग्दा पहिलोपटक गुराँस देखेर सम्मोहित भएका मिल्लेविल्लेले गुराँस हेर्नकै निम्ति नेपालका विभिन्न भू–भागमा करीब ७४० दिन पैदलयात्रा गर्दा खिचेका गुराँसका तस्वीरहरूलाई पुस्तकको रुप दिइएको हो । अंग्रेजी भाषामा लेखिएको यस पुस्तकमा नेपालमा ३० प्रजातिको गुराँस पाइने उल्लेख भए पनि सबैको तस्वीर समावेश छैन ।

त्यस्तै, केशवराज राजभण्डारी र मार्क एफ वाट्सनले गुराँस सम्बन्धी लेखेको पुस्तक द रोडोडेन्ड्रन्स् अफ नेपाल– सन् २००५ लाई हाम्रो वनस्पति विभागले प्रकाशन गरेको छ । मूलतः विभिन्न संग्रहालयमा संग्रहित गुराँस प्रजातिहरूको नमूनाका आधारमा लेखिएको यस पुस्तकमा नेपालमा ३१ प्रजातिका गुराँस पाइने उल्लेख छ । तर, कुन प्रजाति कसले, कहिले, कहाँ संकलन गरेका थिए र तिनीहरू नेपाल लगायत विश्वका कुन संग्रहालयमा छन् भन्ने खुलाइएको छैन । नेपालमा पाइने दुई रैथाने गुराँस प्रजातिमध्ये ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ लगायत केही दुर्लभ प्रजातिको तस्वीर भने उक्त पुस्तकमा समावेश छ ।

पुस्तक कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू

लेखकहरु रामचन्द्र पौडेल, हेमराज आचार्य, यादव उप्रेती, योगेश ढकाल र राजन केसी । प्रकाशक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालय, ताप्लेजुङ ।

सुनपाती भनिने गुराँस प्रजातिको वनस्पतीय नाम ‘रोडोडेन्ड्रन एन्थोपोगन’ हो । द रोडोडेन्ड्रन्स् अफ नेपाल– सन् २००५ पुस्तक अनुसार उक्त प्रजातिका दुई उप–प्रजातिहरू (रोडोडेन्ड्रन एन्थोपोगन उप–प्रजाति एन्थोपोगन र रोडोडेन्ड्रन एन्थोपोगन उप–प्रजाति हाइपेनान्थम्) नेपालमा छन् ।

पछिल्ला प्रकाशनहरूमा ‘रोडोडेन्ड्रन एन्थोपोगन उप–प्रजाति हाइपेनान्थम्’ लाई उप–प्रजाति नमानी छुट्टै प्रजाति ‘रोडोडेन्ड्रन हाइपेनान्थम्’ मानिएको छ । यो प्रजाति कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू पुस्तकमा थपिएको हो । यसअघि यो जानकारी केशवराज राजभण्डारी, सञ्जीवकुमार राई, गंगादत्त भट्ट, रीता क्षेत्री र सुवास खत्री लिखित फ्लावरिङ प्लान्टस् अफ नेपालः एन इन्ट्रोडक्सन– सन् २०१७ पुस्तक र फ्लोरा अफ चाइना, भोलम १४, सन् २००५ मा उल्लेख भइसकेको थियो ।

‘रोडोडेन्ड्रन एन्थोपोगन’ र ‘रोडोडेन्ड्रन हाइपेनान्थम्’ बीच खासै भिन्नता छैन । अत्यन्त सानातिना कुरामा भिन्नता देखाएर पहिले उप–प्रजाति मानिएकै वनस्पतिलाई छुट्टै प्रजाति मानिएको हो । के आधारमा यी गुराँस दुई भिन्न प्रजातिमा दर्ज गरियो भन्ने छलफलको विषय हो ।

त्यस्तै, कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू पुस्तकमा थपिएको ‘रोडोडेन्ड्रन हुकेरी’ प्रजाति नेपालमा पाइन्छ भन्ने जानकारी वनस्पति विभागले प्रकाशन गरेको पुस्तक क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्टस्, पार्ट थ्री– सन् २०१२ मा पनि उल्लेख छ । यो प्रजाति एमएन सुवेदी सम्मिलित जापानिज वनस्पतिविज्ञहरूको एक टोलीले संखुवासभाको टाशीगाउँबाट सन् १९८८ मा संकलन गरेका थिए ।

‘गुराँसको प्राचीन थलो अमेरिका’

कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू पुस्तकमा नेपालमा गुराँस प्रजातिका तस्वीर र विवरणसँगै गुराँसको उत्पत्ति, विकासक्रम, भौगोलिक अवस्थाबारे चर्चा गरिएको छ । यस पुस्तक अनुसार, गुराँसका प्रजातिहरू फाट्टफुट्ट रुपमा उत्तरी गोलाद्र्धमा छरिएर रहेको भए पनि पूर्वी हिमालयमा र मलाया द्वीप समूहमा अत्यधिक देख्न सकिन्छ । हिमालयको पूर्वी छेउ, जहाँ चीनको युनान प्रान्तको उत्तरपश्चिम सीमा पर्छ, त्यस क्षेत्रमा रहेको हेङदुवाङ पर्वत शृंखला गुराँसका प्रजातिहरूको प्रचुरता रहेको क्षेत्र हो । हेङदुवाङ पर्वत शृंखलाबाट जति पश्चिमतर्फ लाग्यो, त्यति गुराँसका प्रजातिहरू विस्तारै घट्दै गएका छन् ।

अहिलेसम्म प्रकाशित वैज्ञानिक लेखहरू अनुसार, गुराँस हेङदुवाङ पर्वत शृंखलातिर उत्पत्ति भएको अड्कल गर्न सकिन्छ । यो पुस्तक अनुसार भने ५–६ करोड वर्ष पुरानो गुराँसको पात अमेरिकाको अलास्कामा फेला परेको हो । त्यतिबेला हाम्रा हिमालय क्षेत्रमा टेथिस सागर भएकाले गुराँस समूहको उत्पत्ति हाम्रा हिमालय बन्नुअघि नै भएको हो । विभिन्न विज्ञका लेख अनुसार, एशियामा हिमालय पर्वत शृंखला उत्पत्ति भएपछि मात्र अन्यत्रबाट गुराँस आइपुगेको हुन सक्छ । यो दाबी गर्न सकिन्छ कि अहिले गुराँस भइरहेको भू–भागमा पहिले थिएन । भू–सतह उच्च भइसकेपछि अयन्त्रबाट गुराँस आएका हुन् । यो पुस्तकमा गुराँसको बसाइँसराइ सहित हाम्रा महादेशहरू कसरी र कहिले बने भन्ने वृत्तान्त छ ।

‘रोडोडेन्ड्रन मेकोन्गेन्स्’ समेटिएन

पुस्तकको नाम कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरू भए पनि खासगरी कञ्चनजंघा क्षेत्रमा के कति गुराँस प्रजाति पाइन्छ भन्ने जानकारी छैन । नेपालमा गुुराँसका प्रजातिहरूको बढी घनत्व ‘कञ्चनजंघा संरक्षण क्षेत्रको पश्चिममा रहेको मकालु वरुण राष्ट्रिय निकुञ्ज, दक्षिणमा तिनजुरे–मिल्के–जलजला लगायत इलामको माईपोखरी र पूर्वमा भारतको सिमाना रहेको ंिसंगालिला पर्वतसम्म रहेको’ पुस्तकमा उल्लेख छ । यसले कञ्चनजंघा संरक्षण क्षेत्रमा गुराँस प्रजातिहरू धेरै छैनन् भन्ने संकेत गर्छ । यसैगरी यस आसपासका क्षेत्र भनेको मकालु वरुणसहित तीनजुरे–मिल्के–जलजला पनि हो भन्ने बुझाउने प्रयत्न गरिएको छ । तर, मकालु हिमालको सेरोफेरो पनि कञ्चनजंघाकै आसपास क्षेत्र हुन सक्दैन । बरु, भारततिर जोडिएका भू–भागलाई यसको आसपासको क्षेत्र मान्न सकिन्छ ।

पुस्तकमा नेपालमा विरलै पाइने गुराँसका तस्वीर राखिएको छ । ‘रोडोडेन्ड्रन ट्राइकोक्लाडम्’ भनिने करीब एक मिटरजति अग्लो बोट, फूल पहेंलो हुने गुराँस प्रजाति जेडिए स्टेन्टनले सन् १९५६ र अन्य दुई जनाले सन् १९७४ मा अरुण उपत्यकामा फेला पारेका थिए । अमेरिकन रोडोडेन्ड्रन सोसाइटीका क्लाउस स्टाउनेले खिचेको यसको तस्वीर पुस्तकमा छ । तर, यो तस्वीर कहाँ खिचिएको भन्ने उल्लेख छैन ।

यसैगरी केही (रोडोडेन्ड्रन कोवानियनम्, रोडोडेन्ड्रन हुकेरी, रोडोडेन्ड्रन लानाटम्, रोडोडेन्ड्रन निभाले, रोडोडेन्ड्रन पेन्डुलम् आदिका) तस्वीरहरू विद्युतीय सञ्जालहरूबाट लिइएको जस्तो देखिन्छ । यी तस्वीर पनि कहाँ खिचिएको भन्ने उल्लेख छैन । पाँच नेपालीसहित १९ जनाले तस्वीर उपलब्ध गराएको पुस्तकमा उल्लेख छ ।

स्थलगत अवलोकन वा संग्रहालयमा संग्रहित नमूनाका आधारमा नभई प्रकाशित सामग्रीकै आधारमा पुस्तक तयार गरिएको देखिन्छ । तर, नेपालमा पाइने भनिएको गुराँसको प्रजाति ‘रोडोडेन्ड्रन मेकोन्गेन्स्’ लाई पुस्तकमा समावेश गरिएको छैन । फ्लोरा अफ चाइना मा यो प्रजाति नेपालमा पनि पाइने उल्लेख छ । यसगरी सन् २०१४ मा सिक्किमको युम्थाङ उपत्यकामा भरतकुमार प्रधान लगायतले यो प्रजाति फेला पारेका थिए । उक्त जानकारी अ नोट अन रोडोडेन्ड्रन मेकोन्गेन्स्– अ न्यु स्पेसिस रेकर्ड फ्रम सिक्किम हिमालय, इन्डिया शीर्षकको लेखमा उल्लेख छ । यसरी नेपालमा अहिलेसम्म ३४ प्रजातिका गुराँस पाइएको बुझिन्छ ।

यद्यपि पुस्तक समग्रमा गुराँसप्रति रुचि राख्ने र पर्या–पर्यटन प्रवद्र्धन, गुराँस संरक्षणका लागि उपयोगी छ ।

comments powered by Disqus

रमझम