एउटा उमावि नहुँदा . . .

Share:
  
हिमाली गाउँपालिका–१, २ र ३ मा पर्ने एक मात्र माध्यमिक विद्यालयबाट २०७४ सालमा ६२ जनाले एसईई परीक्षा दिए, जसमध्ये २४ जना छात्रा थिए। तीमध्ये तीन जना मात्र माथिल्लो कक्षामा पढ्न गाउँ बाहिर गए।

प्रकाश सिंह
एसईई दिएपछि उच्च शिक्षा पढ्न उमावि नहुँदा बिहे गरेर कलिलो उमेरमै आमा बनेकी स्थानीय बालिका ।
स्कूल एजुकेसन इक्जामिनेसन (एसईई) उत्तीर्ण गरेपछि बाजुराको हिमाली गाउँपालिका–२ की कविता बोहोराको पढाइ छुट्यो । गाउँमा १० कक्षासम्म मात्र पढाइ हुने विद्यालय थियो । उनलाई घरबाट टाढा पठाउन अभिभावक तयार भएनन् । कविताले १६ वर्षको उमेरमा बिहे गरिन् ।

हिमाली गाउँपालिका–१ की सुन्तली थापाले गाउँकै बिच्छ्याँ माविबाट एसईई उत्तीर्ण गरिन् । बिच्छ्याँ माविमा १० कक्षासम्म मात्र पढाइ हुन्थ्यो । टाढाको विद्यालयमा राखेर पढाउने आर्थिक अवस्था नभएपछि आमाबुबाले पढाइ छुटाए । १५ वर्षीया सुन्तली पनि अब बिहे गर्ने मनस्थितिमा छन् ।

हिमाली गाउँपालिका–१, २ र ३ मा पर्ने साविकको बिच्छ्याँ गाविसमा रहेको १० कक्षासम्म पढाइ हुने एक मात्र माध्यमिक विद्यालयबाट २०७४ सालमा ६२ जनाले एसईई परीक्षा दिए, जसमध्ये २४ जना छात्रा थिए । तीमध्ये तीन जना मात्र माथिल्लो कक्षामा पढ्न गाउँ बाहिर गएको, बाँकी सबैले पढाइ छाडेको वडा नम्बर १ का अध्यक्ष लालजित थापा बताउँछन् । करीब तीन हजार ६०० जनसंख्या रहेको यी तीन वडामा १० कक्षाभन्दा माथि पढाइ हुने एउटै विद्यालय छैन । बिच्छ्याँबाट ११ र १२ कक्षा पढ्न तीन दिन हिंडेर बाजुराकै बुढिनन्दा नगरपालिकास्थित जनप्रकाश उच्च मावि वा मुगुको रातापानी पुग्नुपर्छ । हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल भन्छन्, “त्यति टाढा परिवारले नपठाउने हुँदा ९० प्रतिशत छात्राले एसईईपछि पढाइ छाड्छन् ।”

हिमाली गाउँपालिका–२ की दुधकला बोहोरा जनप्रकाश उच्च माविमा १२ कक्षामा र वडा नम्बर १ की सिर्जकला बोहोरा सदरमुकाम मार्तडीमा ११ कक्षामा पढ्छिन् । सिर्जकलाका अनुसार, सँगै पढेका तीन जना बाहेक अरू सबै छात्राले एसईईपछि पढाइ छाडे । कतिपयले बिहे पनि गरिसकेका छन् । पढाइ छाडेकी नानी थापाले भनिन्, “बाहिर गएर पढ्न पैसा हुन्न, बुबाआमाले पनि पठाउनु हुन्न ।”

हिमाली गाउँपालिका–३ का वडाध्यक्ष ध्यान रोकाया उच्च मावि खोल्ने पहल भए पनि आर्थिक स्रोत नजुटेको बताउँछन् । “छात्रा मात्र नभई कतिपय छात्रले पनि पढाइ छाड्छन्” रोकाया भन्छन्, “खर्च गरेर पढाउन सक्नेले बाहिर पठाउँछन्, नसक्नेका छोराछोरीले एसईईपछि घरजम गर्छन् ।” सदरमुकाम मार्तडीबाट चार दिनमा पुगिने र बाजुरा जिल्लाकै ३० प्रतिशत भूभाग ओगट्ने यी तीन वडामा स्थायी सरकारी जागिरे महिला एक जना पनि छैनन् । पुरुष पनि तीन जना मात्र छन् ।

बालविवाह र कलिला आमा बढ्दै

सिङ्गो गाउँपालिकामा १० कक्षासम्म पढाइ हुने एउटा मात्र विद्यालय भएकाले ९ र १० कक्षा पढ्ने विद्यार्थीलाई ठूलो सास्ती छ । बौडी, गुम्बा, कोट, युना, बामुलगायतका गाउँबाट बिच्छ्याँ मावि आइपुग्न पूरै एक दिन लाग्छ । यही कारण ९ र १० कक्षामा पढ्ने त्यहाँका विद्यार्थी डेरा खोजेर बस्छन् । डेरा खोजेर बस्न नसक्नेले ८ कक्षापछि नै पढाइ छाड्छन् । गाउँपालिका अध्यक्ष मल्लका अनुसार गाउँहरू निकै छरिएर रहेका र कतिपय गाउँमा ५०–६० परिवार मात्र रहेकाले सबैतिर मावि सञ्चालन गर्न पनि सहज छैन । मल्ल भन्छन्, “भौगोलिक विकटताले पनि धेरैलाई शिक्षाबाट वञ्चित गरेको छ ।”

१० भन्दा माथिल्लो कक्षामा पढ्ने उपाय नहुँदा साविकको बिच्छ्याँ गाविसमा बालविवाह बढेको छ । गाउँपालिका उपाध्यक्ष चन्द्रकला बुढा भन्छिन्, “१० कक्षा पास गरेपछि टाढा जान सक्दैनन्, त्यसपछि धेरैले बिहे गर्छन् ।” हिमाली गाउँपालिका–३, बौडीकी सुन्तली बोहोराले भनिन्, “१० कक्षापछि घरकाले पढ्न पठाएनन्, त्यसपछि विवाह गरें । पढ्न छाडेर बिहे गर्ने म जस्ता अरू पनि छन् ।”

चाँडै बिहे गर्दा कलिलैमा आमा बन्नेको संख्या पनि बढ्दो छ । कोट गाउँका धनमल बोहोरा भन्छन्, “२० वर्षकै उमेरमा दुई तीन वटा बच्चाका आमा बन्नेको संख्या ठूलो छ ।” सदरमुकाम मार्तडी आसपासमा बालविवाह विरुद्धका अभियान चल्दै आए पनि बिच्छ्याँमा भने त्यस्ता कुनै कार्यक्रम पुग्दैनन् ।

प्रकाश सिंह, बाजुरा

comments powered by Disqus

रमझम