समृद्घिको असुरक्षित बाटो

Share:
  
- शेखर खरेल
समाज स्वयंले सुरक्षा र न्यायको अनुभूति नगर्दासम्म सामाजिक सुरक्षाका कार्यक्रम र समृद्घिका नारा अर्थपूर्ण बन्न सक्दैनन्।

बिक्रम राई
सत्तारोहणको नौ महीना पुगेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको उद्घाटनका अवसरमा दाबी गरे– ‘म भन्छु सरकार यहाँ छ, अब जता फर्किए पनि सरकार देखिनेछ ।’

विगत चार महीनादेखि कुनै दुस्वप्नले झैं पछ्याइरहेको एउटा दुर्घटनाको हेक्का हुन्थ्यो भने ‘जता हेर्‍यो उतै सरकार देखिने’ यस्तो हिम्मत प्रधानमन्त्री ओलीले शायदै गर्ने थिए । राजधानीको कमलादीमा प्रधानमन्त्रीले समृद्धिको भाषण गरिरहँदा त्यहाँबाट केही किलोमिटर पर महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा यही देशका एक नागरिक न्यायको याचनामा छट्पटाइरहेका थिए । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महीना बितिसक्दा पनि अपराधीलाई न्यायको कठघरामा ल्याउन सरकारले सिन्कोसम्म भाँचेको छैन । प्रधानमन्त्री स्वयंले सरकारको काम ‘सिन्को भाँच्ने र जुम्रा मार्ने नभएको’ दाबी गरिरहेका बेला बलात्कार र हत्या जस्ता अपराधका ‘झ्निामसिना’ कसुरदार कठघरामा उभ्याइने अपेक्षा समृद्धिको खिलाफ ठहरिन सक्छ । ‘नयाँ युग शुरूआत’ को यो अवसरमा सरकारका निम्ति निर्मला विस्मृतिको पात्र बन्दै गएकी छन् भने उनलाई न्याय दिलाउनु सरकारलाई समृद्धिको तुफानी यात्रामा तगारो लगाउनु बराबर भएको छ ।

कोपिलामै चुँडिएकी छोरीलाई न्याय दिलाउन बाबु यज्ञराज र आमा दुर्गादेवीले प्रहरी प्रशासनदेखि देशकै प्रमुख कार्यकारीको ढोका ढक्ढक्याए । अबोध बालिकामाथि भएको पाशविक क्रूरताको यो घटनाप्रति सबै नेपालीले ऐक्यबद्धता जनाइसके । जनस्तरमा दबाब बढ्दै जाँदा एकपछि अर्को अनुसन्धान टोली गठन गरियो, ती टोलीले ठेलीका ठेली प्रतिवेदन बुझए, तर ती प्रतिवेदनहरूमा दोषी को हुन्, यकिन भन्न सकिएको छैन । सरकारबाट न्यायको आशा दिनप्रतिदिन क्षीण बन्दै गएपछि निर्मलाका अभिभावक, शुभेच्छुक र न्यायप्रेमी समुदाय २५ कात्तिकदेखि कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि २४ घन्टे रिले अनशनमा छन् । छोरीको हत्याको पीडा र पीडकलाई कठघरासम्म ल्याउनेतर्फ राज्यको अकर्मण्यताका कारण निर्मलाका बुबा यज्ञराज मनोविक्षिप्त बनेका छन् । र, उनको उपचार त्रिवि शिक्षण अस्पतालमा चलिरहेको छ ।

न्यायको एन्टिबायोटिक

यज्ञराजको परिवार निम्न आयको औसत नेपाली परिवार हो । परिवार पाल्न (भारत) विदेशिएका यज्ञराज र ठेलामा चटपटेको व्यापार गर्ने दुर्गादेवीका छोराछोरी सरकारी विद्यालयमा पढ्थे । आर्थिक कठिनाइका बाबजूद यो परिवार आफ्नो पौरखमा सम्मानपूर्वक हाँसिखुशी बाँच्दै आएको थियो । तर, अबोध निर्मलाको बलात्कारपश्चात हत्या भएपछि यो सुखी परिवारमाथि बज्रपात भयो । बितेका चार महीनामा यो परिवारले भोगेको पीडा वर्णनातीत छ । अतिशय मानसिक पीडा र न्यायको संभावना क्षीण बन्नु यज्ञराज मनोविक्षिप्त अवस्थामा पुग्नुको कारण हो, जसको उपचार औषधि मात्रले हुन सक्दैन । यज्ञराज न्यायको याचनामा प्रताडित बन्दै आईसीयूमा भर्ना हुनु भनेको न्याय नै मरणासन्न बन्नु हो ।

प्रधानमन्त्री ओलीले श्रमिक वर्गका लागि सामाजिक सुरक्षा योजना घोषणा गरिरहँदा श्रमिककै एउटा परिवार सामाजिक असुरक्षाका कारण मानसिक विक्षिप्तताको अवस्थामा पुग्नु सरकारको समृद्धि चेहरामा बिफरका दागहरू देखापर्नु हो । प्रम ओलीको सत्तारोहणपछिका तथ्याङ्कहरू केलाउँदा पनि मुलुकमा सामाजिक असुरक्षाको अवस्था विकराल देखिन्छ । दिनप्रतिदिन नाबालिकादेखि वृद्धासम्म बलात्कृत भइरहेका छन् । फुल्न नपाउँदै कोपिलाहरू चुँडिइरहँदा पीडकहरू न्यायको कठघरासम्म ल्याइएका उदाहरण विरलै पाइन्छन् । निर्मला प्रकरणमा त शान्तिसुरक्षाको पहरेदार बन्नुपर्ने प्रहरी नै प्रमाण नष्ट गर्ने प्रयत्नमा दिलोज्यानले लागेको तथ्य स्वयं सरकारद्वारा गठित अनुसन्धान टोलीले उजागर गरिसकेको छ । सामन्ती राज्यसत्ताको बिदाइपछि जनताको गणतान्त्रिक शासन अवलम्बन गरिएको देशमा आखिर त्यस्तो को ‘माइका लाल’ छ, जसको छायाँसम्म पुग्न सरकार डराइरहेको छ ? नभए विगतमा ठूल्ठूला अपराधको अनुसन्धानमा अब्बल कहलिएको प्रहरी चार महीनासम्म पनि अपराधीको अनुमानसम्म गर्न किन सकिरहेको छैन ?

असुरक्षित समाजमा बसेर सामाजिक सुरक्षाको आकांक्षा राख्नु ग्रहणका बेला प्रकाशको आशा गर्नुसरह हो । किनभने, समुन्नति वा अहिलेको सरकारी भाष्यको समृद्धिको पहिलो खुट्किलो सुरक्षित समाज नै हो । पीडकहरू खुलेआम हिंड्ने र पीडितहरू मनोविक्षिप्त बन्दै आईसीयूमा पुग्ने राज्यमा समृद्धिका जस्तासुकै नारा उराले पनि त्यो चेहरामा बिफरका दागहरू देखिने छन्, जसलाई भाषणले नभई न्यायको एन्टिबायोटिकले मात्र मेट्न सक्छ । दुईतिहाइ बहुमतको शक्तिशाली ओली सरकारका लागि निर्मला प्रकरण एउटा ‘केस स्टडी’ बनेको छ ।

comments powered by Disqus

रमझम