अनियन्त्रित औषधिले गिद्घ मासिंदै

Share:
  
- रामु सापकोटा
प्राकृतिक वासस्थानको अभावका साथै घरपालुवा जनावरहरूमा हानिकारक औषधिको प्रयोग रोक्न नसक्दा गिद्घको संरक्षणमा चुनौती थपिएको छ।

तस्वीर सौजन्यः नेपाल पन्छी संरक्षण संघ ।
मरेका जनावरको मासु खाएर वातावरण स्वच्छ राख्न सघाउने गिद्धलाई ‘प्रकृतिको कुचीकार’ भनिन्छ । पर्यावरणविद्हरूका अनुसार, गिद्धले सिनो खाएर महामारी फैलिन रोक्दै मानिसलाई सम्भावित रोगहरूबाट बचाउँछ । पाचन प्रणालीमा बढी अम्लीयपन हुने भएकाले गिद्धले हैजासहित विभिन्न रोगका कीटाणु पचाउन सक्छ ।

चराविद् हेमसागर बराल गिद्ध मानव जीवनका लागि मात्र नभई जंगली जनावरका लागि पनि उपयोगी रहेको बताउँछन् । बाघले शिकार गरेपछि आधाउधी खाएर असरल्ल छाड्ने मासु गिद्धले सफाचट् पारिदिन्छ । जुलोजिकल सोसाइटी अफ लण्डनका नेपाल प्रतिनिधि समेत रहेका बराल भन्छन्, “बाघले ताजा मासु मात्र रुचाउने भएकाले गिद्धले बचेखुचेको सिनो खाएर बाघको वासस्थान स्वच्छ पारिरहेको हुन्छ ।”

यति महत्वपूर्ण पन्छी पछिल्ला वर्षहरूमा मानवीय कारणले नै संकटमा परिरहेको छ । मानवीय प्रयोजनका ‘नन्स्टेरोइडल एन्टी–इन्फ्लामेटरी ड्रग’ (एनएसएआईडी) समूहका औषधि जथाभावी घरपालुवा पशुहरूमा प्रयोग गरिंदा गिद्ध मासिने क्रम जारी छ । त्यस्ता ‘पेनकिलर’ गाईवस्तुमा ज्वरो र दुखाइ कम गर्न उच्च डोज (३० एमएल) मा प्रयोग भइरहेको छ । पेनकिलर खाएका गाईवस्तु मरेपछि तिनको सिनो खाने गिद्ध मर्ने गरेको विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेका छन् ।

‘पेनकिलर’ गिद्धको जीवननाशक

घरपालुवा पशुहरूमा देखिने सरुवा रोगमध्ये गाईवस्तुमा खोरेत र भेडाबाख्रामा पेस्टी डेस पेट्टिस रुमिन्यान्ट्स (पीपीआर) मुख्य छन् । यसका साथै क्षयरोग पनि गाईवस्तुमा लाग्ने प्रमुख रोगमा पर्छ । रोगका कारण पशु मरेर आर्थिक नोक्सानी हुन थालेपछि किसानले लक्षण देखिएकै भरमा एनएसएआईडी समूहका पेनकिलर प्रयोग गरिरहेका छन् ।

मानिसले दुखाइ कम गराउन प्रयोग गर्ने डाइक्लोफिन्याक जस्ता औषधि अनियन्त्रित मात्रामा घरपालुवा पशुहरूमा प्रयोग हुने गरेको पाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व इकोलोजिष्ट लक्ष्मणप्रसाद पौडेल मानवीय प्रयोजनका लागि प्रयोग हुने तीन एमएलका किटोप्रोफेन र एसिक्लोफिन्याकलाई हाइडोजको बनाएर वस्तुभाउमा प्रयोग गर्ने गरिएको बताउँछन् । जुन औषधि नेपालमा बढी संख्यामा पाइने जिप्स प्रजातिको गिद्धको लागि विष समान हो । त्यस्ता औषधि प्रयोग गरिएका पशुको सिनो खाने गिद्धको पेटभित्र युरिक एसिडको पत्थर (भिसेरल गाउट) जम्मा हुन्छ र मिर्गौलाले काम गर्न छोड्छ । जैविक विविधता तथा आनुवंशिक विषयमा विद्यावारिधि गरिरहेका खडानन्द पौडेलका अनुसार, एक किलो तौल भएको गिद्धको शरीरभित्र ०.५ एमएलको दरमा डाइक्लोफिन्याक औषधि पुग्यो भने २४ घण्टाभित्रै मर्छ ।

पशु सेवा विभागको पशुपन्छी रोग अन्वेषण तथा नियन्त्रण महाशाखाको भेटेरिनरी इपिडिमियोलोजी शाखाका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्याय गाईवस्तुमा दुखाइ कम गर्न ‘पेनकिलर’ औषधिको व्यापक प्रयोग भइरहेको बताउँछन् । उपाध्याय भेटेरिनरी औषधिको दर्ता, आयात र बिक्रीका लागि अनुमति दिने औषधि व्यवस्था विभागले प्रभावकारी अनुगमन नगर्दा पशुमा जथाभावी औषधिको प्रयोग भइरहेको बताउँछन् । तर, विभागका सूचना अधिकारी सन्तोष केसी भेटेरिनरी औषधिको अनुगमन गर्न पर्याप्त जनशक्ति नहुँदा प्रभावकारी काम गर्न नसकेको बताउँछन् । हाल रहेको भेटेरिनरी डाक्टरको एउटा दरबन्दीको भरमा विभागमा दर्ता हुने भेटेरिनरी औषधिको मूल्यांकन र अनुगमन गर्दै आएको केसी बताउँछन् । गाईवस्तुमा जथाभावी प्रयोग भइरहेका एनएसएआईडी समूहका उच्च डोजका औषधि प्रतिबन्ध लगाउन पनि विभाग अग्रसर देखिंदैन ।

प्रतिबन्ध लगाउन बेवास्ता

१८ असार २०७४ मा नेपाल भल्चर रिकभरी कमिटीले गाईवस्तुलाई दुखाइ कम गर्न प्रयोग गरिंदै आएका किटोप्रोफेन र एसिक्लोफिन्याक औषधि आयात, उत्पादन, बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त औषधिले गिद्धको स्वास्थ्यमा प्रतिकूल असर पारेको र त्यसैकारण गिद्ध मरिरहेको तथ्य पुष्टि भइसकेको भन्दै कमिटीले यस्तो निर्णय गरेको थियो । सोही निर्णयका आधारमा त्यही वर्षको १७ साउनमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले औषधि व्यवस्था विभागलाई पत्राचार गरी ती दुई औषधिको उत्पादन, प्रयोग र बिक्री वितरणमा प्रतिबन्ध लगाउन भन्यो । (हे.पत्र) 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले औषधि व्यवस्था विभागलाई किटोप्रोफेन र एसिक्लोफिन्याक औषधि प्रतिबन्ध लगाउन अनुरोध गरेको पत्र ।

‘भल्चर कन्जरभेसन एक्सन प्लान फर नेपाल (२०१५–२०१९)’ कार्ययोजनाअन्तर्गत पनि गिद्ध प्रजातिलाई लोप हुनबाट बचाउन किटोप्रोफेन र एजेक्लोफेनेक औषधि प्रतिबन्ध लगाउने विषय उल्लेख छ । तर, प्रतिबन्ध लगाउन भनेको एक वर्ष बितिसक्दा पनि औषधि व्यवस्था विभागले कुनै निर्णय गरेको छैन । विभागका सूचना अधिकारी सन्तोष केसी प्रतिबन्ध लगाउनुअघि अध्ययन आवश्यक भएको बताउँछन् । केसी भन्छन्, “प्रतिबन्ध लगाउनुपर्ने हो या होइन भनेर अध्ययन गरिरहेका छौं ।”

विभागका पदाधिकारीको सुझवका आधारमा स्वास्थ्य मन्त्री अध्यक्ष रहेको औषधि परामर्श परिषद्ले निर्णय गरेर औषधिमा प्रतिबन्ध लगाउने व्यवस्था छ । यसअघि डाइक्लोफिन्याकले गिद्धको स्वास्थ्यमा प्रतिकूल असर पारेको प्रमाणित भएपछि औषधि व्यवस्था विभागले यसलाई पशुपन्छीको प्रयोजनमा प्रयोग, आयात र बिक्री गर्न प्रतिबन्ध लगाएको थियो । तर, सजिलै उपलब्ध हुने किटोप्रोफेन र एसिक्लोफिन्याक भने किसानले ‘हाई डोज’ मा गाईवस्तुमा प्रयोग गरिरहेका छन् ।

नेपाल औषधि उत्पादक संघका अनुसार, मानवीय प्रयोजनमा प्रयोग हुने एसिक्लोफिन्याक नेपाली कम्पनीले नै उत्पादन गर्छन् । किटोप्रोफेन भने भारत, नेदरल्यान्ड्स लगायतका मुलुकबाट आयात हुन्छ । भारतको तमिलनाडु र बाङ्लादेशमा भने यी दुई औषधि गाईवस्तुलाई प्रयोग गर्न प्रतिबन्ध लागिसकेको छ । डाइक्लोफिन्याकमाथि नेपालका साथै भारत, बाङ्लादेश र पाकिस्तानमा पनि प्रतिबन्ध लागिसकेको छ । अहिले वैज्ञानिकहरूले डाइक्लोफिन्याकको विकल्पमा मेलोक्सीकाम प्रयोग गर्न सिफारिश गरेका छन् । (हे.बक्स)

किटोप्रोफेन र एसिक्लोफिन्याक औषधि ।

सन् २०१५ मा बेलायतको ओरेक्स जर्नलमा प्रकाशित एक अनुसन्धानात्मक लेखले किटोप्रोफेन र एसिक्लोफिन्याक जस्तै न्यूमिस्लाइडले पनि गिद्धको मिर्गौलामा असर गरेको देखाएको थियो । न्यूमिस्लाइड नेपालमा गाईवस्तुमा बढी प्रयोग हुने औषधिमा पर्छ । सन् २०१५ मै गरिएको अर्को अध्ययनले फ्लुनिक्सजिन औषधिले पनि जिप्स प्रजातिको गिद्धको स्वास्थ्यलाई असर पारेको देखाएको थियो । यी दुवै औषधि एनएसएआईडी समूहमा पर्छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फर्माकोलोजी विभागका सह–प्राध्यापक सतिशकुमार देव एनएसएआईडी समूहका औषधिमा प्यारासिटामोल, ब्रुफेन, इन्डोमेथासिन, पाइरोक्सीक्याम, निमसुलाइडको मिश्रण हुने बताउँछन् । उनका अनुसार, यस्ता औषधिले दीर्घकालीन रूपमा मिर्गौला र कलेजो फेल गराउने जस्ता स्वास्थ्य समस्या निम्त्याउँछ ।

औषधि पसलमा मानवीय प्रयोजनका लागि राखिएका एनएसएआईडी समूहका औषधिहरू जथाभावी पशुमा प्रयोग भइरहे पनि अनुगमन नहुनु चिन्ताको विषय भएको पर्यावरणकर्मीहरू बताउँछन् । एकातिर प्राकृतिक वासस्थानको अभाव रहिरहँदा औषधिको अनियन्त्रित प्रयोगले गिद्ध र महाचील जस्ता चराको अस्तित्व नै खतरामा परेको चराविद् हेमसागर बरालको भनाइ छ ।


औषधिमा प्रतिबन्धदेखि संरक्षण अभियानसम्म

सन् १९९० को दशकमा दक्षिणएशियामा पशु उपचारमा डाइक्लोफिन्याक औषधिको व्यापक प्रयोग शुरु भयो । वैज्ञानिकहरूले सन् २००० मा गरेको एक अध्ययनका क्रममा गिद्धको संख्या कम भएको आशंका गरे । सन् २००३ मा भारतको बम्बे नेचुरल हिस्ट्री सोसाइटीले गरेको अनुसन्धानले कियोलाडियो नेशनल पार्कबाट गिद्धका ३०० गुँड हराएको देखायो । त्यसपछि वैज्ञानिकहरूले गिद्धको संख्या घट्नुको कारण खोतल्न थाले ।

अमेरिकाको द पेरिजिन फन्ड र पाकिस्तानको इन्ष्टिच्युट अफ पियोर एण्ड एप्लाइड बायोलोजीले सन् २००४ मा अनुसन्धानका क्रममा नेपाल, भारत र पाकिस्तानबाट संकलन गरिएका जिप्स प्रजातिका २५९ मृत गिद्धको नमूनालाई ल्याबमा परीक्षण गरेर हेरियो । अनुसन्धानबाट डाइक्लोफिन्याकको असरले मिर्गौला फेल भएर गिद्ध मरेको थाहा पाएपछि नेपाल र भारतमा गिद्ध संरक्षणका कार्यक्रम शुरु भए ।

सन् २००४ मा नेपाल, भारत, पाकिस्तान र बाङ्लादेशका संरक्षणकर्मीको क्षेत्रीय बैठकले तत्काल डाइक्लोफिन्याक प्रतिबन्ध लगाउने, वैकल्पिक औषधि पत्ता लगाउने, डाइक्लोफिन्याकको प्रयोग नगर्न जनचेतना फैलाउने र गिद्ध लोप हुन नदिन प्रजनन् केन्द्र स्थापना गर्ने निर्णय गर्‍यो । यसपछि नेपालमा औषधि व्यवस्था विभागले २३ जेठ २०६३ मा डाइक्लोफिन्याक औषधिमाथि प्रतिबन्ध लगायो ।

गिद्ध संरक्षणको उद्देश्यले सन् २००६ मा नवलपरासीको पिठौलीमा जटायु रेस्टुरेन्ट स्थापना भयो । त्यो बेला गिद्धको संख्या ९१ प्रतिशतले घटेको पाइएको थियो । यसको दुई वर्षपछि चितवन राष्ट्रिय निकुञ्जको कसरामा गिद्ध प्रजनन् केन्द्र स्थापना गरियो । यसपछि गिद्धको संख्या घट्ने दरमा कमी आयो ।

जटायु रेस्टुरेन्टमा किसानबाट संकलित गाईहरू पालिएका छन् । गाई बिरामी भएमा डाइक्लोफिन्याक जस्ता औषधिको साटो मेलोक्सिक्याम प्रयोग गरिंदै आएको छ । पालिएका गाई मरेपछि गिद्धहरूलाई शुद्ध आहाराको रुपमा खुवाइने गरिएको छ । नेपाल पन्छी संरक्षण संघको गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्णप्रसाद भुसाल डाइक्लोफिन्याकमाथि प्रतिबन्ध लागेको र गिद्धका लागि सुरक्षित आहार केन्द्र स्थापना गरेका कारण गिद्धको संख्या केही बढेको बताउँछन् । “तर गिद्धको संख्या उल्लेख्य रुपमा बढ्न नसकेकाले चुनौती बाँकी नै छ भन्ने देखिन्छ”, उनी भन्छन् ।

गिद्ध मास्ने हानिकारक औषधिको प्रयोग घटाउन जनचेतना फैलाउने काम तत्काल अघि बढाउनुपर्ने पन्छीविद्हरू सुझाउँछन् ।

comments powered by Disqus

रमझम