१६-२२ मंसिर २०७५ | 2-8 December 2018

जाडोमा न्यानो कार्पेट

Share:
  

जाडो बढ्दैछ । जे छोयो त्यही चिसो लाग्छ यो याममा । घरभित्र छिर्दै गर्दा पैताला चिसो मार्बल, टायल वा अन्य चिसा वस्तुहरूमा परेको कल्पना गर्दा मात्रै पनि असहज अनुभव हुन्छ ।

न्यानोका लागि अचेल कोठा, चोटा मात्र होइन भर्‍याङमा समेत कार्पेट लगाउने चलन बढेको छ । तर यसको उपयोगिता यतिमै सीमित छैन । किनभने कार्पेट न्यानो मात्रै नभएर सुरक्षा पनि हो । सजावट पनि हो । त्यसैले अरु बेलाभन्दा जाडो शुरु हुन थालेपछि कार्पेटका ग्राहकहरू बढ्ने गरेको व्यवसायीहरू बताउँछन् । उसोे त पछिल्लो समय कार्पेटको डिजाइन, रङ र स्वरुपमा आएको विविधताले पनि कार्पेटको खपत बढेको छ । पहिलेपहिले बजारमा नाइलन, फाइबरका कार्पेट मात्रै उपलब्ध थिए । आजभोलि एक्रिलिक, फाइबर र निटेड गरी विभिन्न स्वरुपमा उपलब्ध हुन थालेपछि कार्पेटको खपत बढेको विगत ४० वर्षदेखि फर्निसिङ र डेकोरका सामान बिक्री गर्दै आएका न्यू मदन फर्निसिङ प्राइभेट लिमिटेड, कुपण्डोलका राहुल सरावगी बताउँछन् ।

कस्तो कार्पेट रोज्ने ?

बजारमा उपलब्ध विभिन्न प्रकारका कार्पेटले अन्योल हुन सक्छ । धेरै ग्राहकले आकर्षक देखिने र चौडाइ धेरै भएको कार्पेट रोज्ने गरेको सरावगी बताउँछन् । तर, कार्पेट छनोट गर्दा त्यसको बनोटमा बढी ध्यान दिनुपर्ने उनको सुझाव छ । कार्पेटको बुनाइ जति कसिलो हुन्छ त्यति नै बलियो हुन्छ । धूलोका स–साना कण र कसिङ्गरले कार्पेटको आयु घटाउने हुँदा सकभर धूलो र दागलाई सहजै पखाल्न सकिने स्टेन फ्री कार्पेट रोज्नु उपयुक्त हुन्छ ।

बजारमा विभिन्न ब्रान्डका कार्पेट उपलब्ध भए पनि जाडोका लागि एक्रिलिक कार्पेट किन्नु ठीक हुने सरावगीको सुझाव छ । उनी भन्छन्, “बलियो, न्यानो हुनुका साथसाथै आगो प्रतिरोधात्मक हुने भएकाले घरमा एक्रिलिक कार्पेट प्रयोग गर्नु सुरक्षित हुन्छ ।” त्यस्तै घरको शोभा बढाउन कार्पेटको डिजाइन र रङमा पनि ध्यान दिनुपर्छ । सामान्यतया भित्ताको रङसँग मिल्ने रङको कार्पेट किन्दा कोठा आकर्षक देखिन्छ ।

चम्किलो रङका कार्पेटले कोठालाई सुन्दर देखाउने हुँदा बैठक कोठामा उज्यालो रङका कार्पेट नै उपयुक्त हुन्छ । लिभिङ रुमका लागि दागधब्बा नबस्ने स्टेन फ्री कार्पेट छान्नुपर्छ । सामन्यतया ऊन अथवा जैविक साम्रगीले बनेका कार्पेट स्वास्थ्यका लागि हानिकारक हुँदैनन् । केही महँगा भए पनि यस्ता कार्पेट टिकाउ र सुविधाजनक हुन्छन् । सबै कोठामा फरकफरक रङका कार्पेट प्रयोग गर्दा आकर्षक देखिन्छ । सरावगीका अनुसार बजारमा प्रति वर्ग मिटर तीन हजारदेखि १९ हजारसम्म मूल्यका कार्पेट उपलब्ध छन् ।

राम्रो गुणस्तरको कार्पेट सामान्यतया ८ देखि १० वर्षसम्म सजिलै टिक्छ । कार्पेटमा धूलो, कसिंगर जम्ने र सफा गर्न गाह्रो हुने भएकाले कोठामा छिर्नुअघि खुट्टा राम्ररी सफा गर्नु नै कार्पेट टिकाउने पहिलो उपाय हो । खाना खाने, कपाल कोर्ने जस्ता कामकाज गर्दा सोझै कार्पेट माथि बसेर नगर्नु उपयुक्त हुन्छ, गर्नै परे त्यसमाथि तन्ना वा कुनै कपडा ओछ्याउनुपर्छ । कार्पेट सफा गर्नका लागि सकभर भ्याकुम क्लिनरकै प्रयोग राम्रो हुन्छ ।

comments powered by Disqus

रमझम