पार्कमा ढलेको धरोहर

Share:
  
- मिलन बगाले
२०७२ सालको भूकम्पमा भत्किएको त्रिभुवन पार्कको सालिकलाई पुनर्निर्माण अभियानले समेट्न नसक्नु इतिहास बिर्सनु हो।

तस्वीर सौजन्य : रञ्जिता शर्मा बच्काई
थानकोटस्थित त्रिभुवन पार्कमा राजा त्रिभुवनको ढलेको सालिक ।
देशमा विभिन्न कालखण्डमा धेरै पात्रका सालिक ठडिए । इतिहास सम्झउने केही सत्पात्र तथा सत्ता र शक्तिको आडमा अग्लाइएका विभिन्न पात्रका सालिक हामीले हेर्दाहेर्दै दोबाटो र चौबाटोबाट एकपछि अर्को गर्दै विलाए । बगैंचा, पार्क, संग्रहालय परिसर र सडकका चोकचोकमा भएका अर्धकद र पूर्णकदका सालिक फोर्ने उन्मादी लहर वितेको १०–१५ वर्षमा निकै चल्यो । मूर्तिकलाको इतिहास मेटाउने त्यो कालखण्डमा धेरै मूर्तिकारले आफूले कठोर परिश्रम खन्याएर बनाएका कला धूलोपीठो भएको टुलुटुलु हेरिरहे ।

भलै सालिक बनेर उभिएका पात्रको इतिहास र छवि एकनाश छैन । वास्तुकला र मूर्तिकला शासन व्यवस्था फेरिएसँगै फोर्न मिल्ने र हुने वस्तु होइनन् । शासन व्यवस्था फेरिएसँगै शासकीय विधि र पद्धति फेरिन्छन्, संविधान र नियम–कानून फेरिन्छन् । तर, ललितकला र वास्तुकलाका कीर्ति तथा तिनका इतिहासका पाना च्यातेर ती दिनबाट समाज मुक्त हुन सक्दैन । ती कीर्तिहरू देशको इतिहास सम्झउने र तत्कालीन समाज र व्यवस्थाको आफ्नोपन बताउने प्रतिविम्ब हुन् । इतिहासले सत्पात्र र खराब पात्र तथा सुदिन र दुर्दिन दुवैको लगत यथोचित तरिकाले राख्छ नै ।

२०४६ सालको जनआन्दोलनमा रुकुमका तारा खड्काले दरबारमार्गमा रहेको राजा महेन्द्रको सालिकबाट राजदण्ड उखेलेको तस्वीरबाट असाध्यै रोमाञ्चित युवा वर्गले सडकमा आक्रोश र आवेग पोख्ने माध्यम सालिकलाई बनायो । हामीले देख्दादेख्दै देशभरमा पृथ्वीनारायण शाह, महेन्द्र, वीरेन्द्र, सेतु विक, बीपी कोइरालादेखि महाकवि लक्ष्मीप्रसाद देवकोटासम्मका सालिक फोरिए । सालिकलाई हरेक आक्रोश र आवेगको तारो बनाइँदा मूर्तिकलाको ऐतिहासिक पाटो मेटिंदै गएकोतिर कसैको चासो र चिन्ता झ्ल्किएन ।

१२ वैशाख २०७२ को भूकम्पमा त्रिपुरेश्वरमा रहेको राजा त्रिभुवनको सालिकलाई ओत दिन बनाइएको मण्डप तासको घरझैं ढल्यो । सालिक जसोतसो जोगियो । तर, थानकोटस्थित त्रिभुवन पार्कमा अवस्थित सालिक भूकम्पमा जोगिएन । राणाशासन ढलेको दिनकै याद गराउने गरी राजा त्रिभुवन दिल्लीबाट डकोटा विमान चढेर गौचर हवाई अड्डामा उत्रेर नेपाली जनतालाई अभिवादन गर्दै गरेको तस्वीरमा आधारित विशाल सालिक थियो, त्यो । भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पनि त्यो सालिक पार्कमै बेवारिसे अवस्थामा छ ।

धूलाम्य काठमाडौंसँग हरियो फोक्सो अर्थात् पार्कहरूको असाध्यै अभाव छ । पार्कहरू थपिनु त कता कता, भएका पार्कहरूलाई यथा स्वरूपमा संरक्षण गरी अतिक्रमणबाट जोगाउने काम समेत हुनसकेको छैन । त्रिभुवन पार्क अहिले पस्दै नपसौं जस्तो लाग्ने गरी उजाडिंदै गएको छ । जीर्ण पिकनिक स्थल र भान्साघर, दुर्गन्धित शौचालय, धूलोले ढाकिएका रूखपातसँगै ढलेको सालिकले यो पार्कमाथि भएको हेलाहोचोको कथा बताइरहेको छ ।

बनेपा र नेपालगञ्जमा रहेको त्रिभुवनको सालिकलाई उन्मादी हूलले फोरेको थियो । शहीदगेटका त्रिभुवनलाई तत्कालीन सरकारले नै उखेल्न खोजेथ्यो । २०७१ साल फागुनमा प्रजातन्त्र दिवसको अघिल्लो दिन सर्वोच्चले उक्त कदमलाई रोकिदियो । इतिहास ढलाएरै राखिराख्ने त्रिभुवन पार्कको यो अनर्थ चाहिं कसले रोकिदिने हो ?

हाल पार्क रहेको ठाउँमा ७ फागुन २०२७ मा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले स्मारकको शिलान्यास गरेका थिए । पछि ८ फागुन २०२८ मा राजा वीरेन्द्रबाट ढुंगे स्मारकमाथि उभिएका राजा त्रिभुवनको पूर्णकदको सालिकको अनावरण गरिएको थियो । ११२ रोपनी क्षेत्रफलमा फैलिएको जमुना चौर भनिने सो ठाउँलाई पार्क बनाउने काम २०२८ फागुनमै शुरू भएको हो ।

पहिले जसरी विशाल ढुंगे स्मारकमाथि यो सालिक राख्नु अब त्यति उपयुक्त नहोला । १२ वैशाखको भूकम्पमा सालिक ढल्दा एक बालकको ज्यान गएको थियो । यसै कारण ढुंगे स्मारकलाई मर्मत गरी ढलेको इतिहास झ्ल्कने एउटा शिलालेख राखेर भविष्यका विपत्ले असर नपार्ने गरी सानो स्मारकमाथि सालिक उभ्याउने तारतम्य मिलाउनु उचित हुन्छ ।

राजादेखि कवि–लेखकसम्मका सालिक फोर्दै हिंड्नेहरूले पाएको स्वतन्त्रताको जग राजा त्रिभुवनले नै हालिदिएका हुन् । जगको जतन गर्दै ढलेको सालिक उभ्याउन कस्सिनेहरूको जय होस् !

comments powered by Disqus

रमझम