नगर–पक्षी सारस

Share:
  
लुम्बिनी सांस्कृतिक नगरपालिकाले गौतम बुद्घसँग सन्दर्भ जोडिएको दुर्लभ सारसलाई नगर–पक्षी घोषणा गरेको छ।

हिमाल आर्काइभ
१० मंसीरमा लुम्बिनी विकास कोषले आयोजना गरेको पक्षी महोत्सवका अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई नगर–पक्षी घोषणा गर्‍यो । “बुद्ध र सारसबीच विशेष सम्बन्ध छ” नगरपालिका प्रमुख मनमोहन चौधरी भन्छन्, “त्यसै कारण पनि दुर्लभ सारसलाई नगर–पक्षी घोषणा गरेका हौं ।” नगरपालिकाले वडा नं. १२ मा सारस पार्क बनाउँदैछ । प्रशस्त सिमसार क्षेत्र भएको लुम्बिनीलाई पक्षी आकर्षण केन्द्रको रूपमा विकसित गरिने मेयर चौधरी बताउँछन् ।

चराविद् डा. हेमसागर बरालका भनाइमा सारसले जीवनभर एकपटक मात्र जोडा बनाउँछ र सारस युगल जीवनभर सँगै रहन्छन् । दुईमध्ये एकको मृत्यु भएमा यो चराले फेरि अर्को जोडा बनाउँदैन । त्यसैले सारसलाई प्रेम र समर्पणको प्रतीक मानिन्छ । विश्वमा पाइने सारसका १५ प्रजातिमध्ये नेपालमा चार प्रजाति पाइन्छन् । नेपालमा सबैभन्दा बढी सारस पाइने लुम्बिनी क्षेत्र नै हो । उड्ने चराहरूमध्ये सबैभन्दा अग्लो सारस अधिकतम ४० देखि ५० फिटको उँचाइमा उड्न सक्छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले सन् २००० मा दुर्लभ पक्षीमा सूचीकृत गरेको सारसको तौल वयस्क अवस्थामा १० किलो र उँचाइ ५ फिटसम्म हुन्छ ।

सारस संरक्षणमा क्रियाशील इन्टरन्याशनल क्रेन फाउण्डेशन का संस्थापक संरक्षणविद् जर्ज आर्चीबाल्ड लुम्बिनी सारसका लागि उत्तम बासस्थान भएको बताउँछन् । उनी भन्छन्, “लुम्बिनीलाई बुद्धको जन्मस्थान मात्र होइन, दुर्लभ चराहरूको बासस्थानका रूपमा पनि चिनाउन सकियो भने थप पर्यटक भित्रिन सक्छन् ।” लुम्बिनी विकास कोष र क्रेन फाउण्डेशनको सहकार्यमा सन् १९९४ देखि लुम्बिनीमा सारस संरक्षण अभियान सञ्चालनमा छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तेय शाक्यपुत्र सारसलाई लुम्बिनीको आधिकारिक पक्षीको रूपमा सूचीकृत गरिएपछि संरक्षणमा अझ् बल पुग्ने विश्वास व्यक्त गर्छन् । “अब लुम्बिनी आएका पर्यटकलाई सारस देखाएर उनीहरूको बसाइ अवधि लम्ब्याउन सहयोग पुग्नेछ”, उनी भन्छन् ।

बुद्ध र सारस

बौद्ध धर्मग्रन्थमा गौतम बुद्ध र सारसको प्रसंग पाइन्छ । राजकुमार सिद्धार्थ गौतम (बुद्ध) र उनका मामाका छोरा देवदत्तबीच सारसको विषयलाई लिएर उत्पन्न विवाद राजा शुद्धोदनले समाधान गर्नु परेको विषय बौद्ध ग्रन्थमा उल्लेख भएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराई बताउँछन् ।

धर्मग्रन्थका अनुसार शिकार खेल्न निस्केका देवदत्तले हानेको वाणबाट घाइते सारस सिद्धार्थ गौतम छेउ बजारिएको थियो । सिद्धार्थले छटपटाइरहेको सारसको शरीरबाट वाण झ्किेर उपचार गरे । त्यही बेला आफूले घाइते बनाएको सारस खोज्दै देवदत्त आइपुगे र, उक्त सारस आफूलाई दिन भने । सिद्धार्थले घाइते सारसलाई आफूले बचाएकाले त्यसमाथि आफ्नो अधिकार रहेको भन्दै दिन मानेनन् भने देवदत्तले आफूले वाण हानेर खसालेको सारसमाथि दाबी प्रस्तुत गरिरहे । विवाद बढ्दै जाँदा उनीहरूलाई राजा शुद्धोधनसमक्ष पुर्‍याइयो । शुद्धोधनले कुनै पनि जीवमाथि प्राण लिनेको भन्दा जीवन बचाउनेको हक लाग्ने फैसला गरी विवाद टुङ्ग्याए ।

वाल्मीकिकृत रामायणको आरम्भ पनि प्रणयरत सारस जोडीको वर्णनबाट शुरू भएको छ । नदी तटमा प्रणयरत सारस जोडीमध्ये भालेलाई शिकारीले मारेपछि वियोगमा छटपटाएको पोथी सारसले पनि आफ्नो प्राण त्याग गरेको र यो घटना देखेका ऋषिले शिकारीलाई श्राप दिएको घटनाको रामायणमा वर्णन छ ।

दीपक ज्ञवाली, लुम्बिनी

comments powered by Disqus

रमझम