जात्रामा जीवन्त संस्कृति

Share:
  

गीत–संगीत, नृत्य, पर्व र जात्राले समुदायलाई समृद्ध बनाएका हुन्छन् । अनगिन्ती नाचगान र जात्राले समृद्ध नेवार समुदायमा अनेकौं मौलिक जात्रा छन्, जसमध्ये केही जात्रालाई समेटेर फोटोपत्रकारद्वय रेखा शाक्य र शरण डंगोलले जीवन्त संस्कृतिहरू पुस्तक तयार पारेका छन् । काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर, पनौती, दोलखा र पोखराका २५ जात्राबारे स्थलगत अवलोकन र अध्ययन गरी लेखकद्वयले पुस्तकलाई सूचनाप्रधान बनाएका छन् । यसर्थ पुस्तकलाई जात्रामार्फत नेवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक सम्पन्नता बुझ्ने आँखीझ्याल मान्न सकिन्छ ।

यो फोटो पुस्तक जानकारीमूलक त छ नै, केही अद्भुत लाग्ने परम्पराका जानकारीले पाठकलाई रोमाञ्चित तुल्याउँछ । जस्तैः प्रत्येक वर्ष दशैंको नौरथाभरि मनाइने खोकनाको सिकाली अर्थात् सिद्धिकाली जात्राको पाँचौं दिन २४ घण्टासम्म निरन्तर जात्रा चलिरहन्छ । जात्रा अवधिभरिमा २४ थरी नाच प्रदर्शन गरिन्छ । त्यस्तै, दोलखामा मनाइने लोकेश्वर जात्राका क्रममा ढुंगाको सिंढी भएको उकालो बाटोमा ३२ हात लामो दशतले रथलाई तल्लो टोलबाट माथिल्लो टोलसम्म तानेर पुनः तल ल्याइन्छ । बेलाबेला रथ बिग्रेर वा बाटोको जोखिमका कारण जात्रा सम्पन्न गर्न तीन महीनासम्म लागेको प्रसङ्ग पनि पुस्तकमा छ । मकवानपुर, चित्लाङको कपु गाउँका करीब ५४ जनाको समूहले नाच्ने काति नाचका लागि चाहिने रु.४–५ लाख स्थानीय आफैंले व्यहोर्दा रहेछन् । यस्ता तथ्यले संस्कृतिप्रति नेवारहरूको लगाव झल्काउँछ ।

पुस्तक जीवन्त संस्कृतिहरू (जात्रासङ्ग्रह)

लेखक रेखा शाक्य र शरण डंगोल

प्रकाशक डा. हेरम्बबहादुर राजभण्डारी र स्नेहलता राजभण्डारी

पृष्ठ २२८

मूल्य रु.१०००

कतिपय जात्रा एउटै भएर पनि ठाउँ अनुसार अलग–अलग नाम र तरिकाले मनाइँदै आएको प्रसंग रोचक छ । जस्तैः विक्रम संवत्को नयाँ वर्षको स्वागत गर्ने दिनलाई भक्तपुरमा बिस्का जात्रा, काठमाडौंको टोखामा बिस्केट जात्रा र थिमीमा बिस्का बालकुमारी जात्रा अर्थात् जिब्रो छेड्ने जात्राको रूपमा मनाइन्छ ।

पुस्तकले जात्राहरूको पुनरुत्थानप्रति बढेको उत्साहबारे पनि चर्चा गरेको छ । दोलखाको सयौं वर्ष पुरानो श्री करुणामयको रथ जात्रामा रकम र जनशक्तिको अभाव भएपछि २०३९ सालदेखि विश्राम लिई सानो रथमा मात्रै सञ्चालन हुन थाल्यो । तर, २०५५ सालमा स्थानीय कालिञ्चोक युवा क्लबले पुनः ठूलो रथ बनाई त्यसयता निरन्तर जात्रा सञ्चालन गरिरहेको विवरण संस्कृति संरक्षणमा नेवार युवाले देखाएको उत्साहको एउटा उदाहरण हो । पुस्तकमा यस्ता दृष्टान्त अरु पनि छन् ।

नेवार समुदायमा लामो समयदेखि प्रचलित जात्राहरू इतिहास बुझ्ने आधार पनि हुन् । नेवार समुदायले धार्मिक सहिष्णुतालाई महत्व दिएको उदाहरण पनि पुस्तकमा छ । तान्त्रिक परम्परा रहेको सिकाली जात्रामा नाचिने सिकाली नाचमा बौद्ध र हिन्दू दुवै धर्मको अस्तित्व हुन्छ ।

जात्रा नेवार समुदायको सामाजिक चेत झल्काउने माध्यम पनि बनेको छ । पनौतीको इन्द्रेश्वर जात्रामा देखाइने महादेव र भद्रकालीको समागम दृश्यले नेवार संस्कृतिभित्र रहेको खुला समाजको झल्को दिएको प्रसंग पुस्तकमा उल्लेख छ । उक्त जात्रामा रथलाई तीन–चार पटक ठोक्काउने प्रचलन रासलीलाको प्रतीक भएको तथ्य लेखकद्वयले उजागर गरेका छन् ।

समयसँगै जात्रामा आएका कतिपय परिवर्तनका प्रमाणहरू पनि पुस्तकले पस्केको छ । ललितपुरको पाँच सय वर्ष पुरानो जल प्यांख (हरिसिद्धि) नाच शुरुमा तीन महीनासम्म देखाउने गरिएकोमा बीचबीचमा रोकिंदै पछि एक दिनमा सीमित हुन पुगेको तथ्य तिनैमध्येको एउटा उदाहरण हो । अर्कातिर, पोखराको नवदुर्गा गं प्याखंः पहिले १२ वर्षको अन्तरालमा निकालिने गरेकोमा पछिल्लो पुस्ताले त्यसलाई छोट्याएर ६ वर्षको अन्तरमा गर्न थालेको छ ।

पुस्तकले नेवारी परम्परामा कायम आचारसंहिता र नियमबद्ध रीतिरिवाज पनि दर्शाउँछ । जस्तो कि, सिकाली नाचमा सहभागी हुने सबै गणले जीवनभर जुँगा, दाह्री र कपाल पाल्नुपर्ने, नृत्य चलुञ्जेल सेतो पगरी, जामा र भोटो लगाउनुपर्ने अनि जुत्ता लगाउन नहुने नियम छ । यस्तै, कीर्तिपुरको गं मखाः गु प्याखं जात्रामा नाचका सहभागी पुरुषहरूलाई गठेमंगलदेखि दशैंको दशमीमा नाच नसकिंदासम्म श्रीमतीसँग शारीरिक सम्बन्ध वर्जित गरिएको छ ।

जात्राको जीवन्त संस्कृतिमा केन्द्रित पुस्तक विषय अनुसारको प्रस्तुतिमा भने विकेन्द्रित देखिन्छ । साँखुको बज्रयोगिनी जात्रामा स्थानीय सात गाउँका किसानले चार दिनसम्म काम गर्न नहुने मान्यताबारे पुस्तकमा उल्लेख छ । तर, यस्ता मूल्य–मान्यता के कारणले स्थापित हुन पुगे र तिनको व्यावहारिकता के कति सिद्ध भएको छ भन्नेबारे खोतलिएको छैन । त्यस्तै, सेतो मत्स्येन्द्रनाथको जात्रामा १० तलाको ३२ हात लामो रथ बनाउन लाग्ने समय, श्रम र साधनबारेको खुल्दुली नमेटिंदा खल्लो महसूस हुन्छ । स्थलगत अवलोकन गरेर लेखिएको भए पनि अधिकांश जात्राहरूको विवरणमा स्थानीय स्वाद र सुगन्ध कमै पाइन्छ ।

१२ वर्षे हल्चोक भैरव जात्राको नाचका लागि स्थानीय पुतवार समुदायले ऋणपान गरी करीब १४/१५ लाखसम्म खर्चंदै मौलिक परम्परालाई जोगाउने प्रयास गरिरहेका छन् भन्ने जानकारी पनि अपुरो लाग्छ । यो विषय उठाइसकेपछि जात्राको सामाजिक अर्थतन्त्रबारे पुस्तकले संक्षेपमै भए पनि उत्खनन् गर्नुपथ्र्यो । अधिकांश किंवदन्तीको प्रसङ्गमा वाक्य गठन अमिल्दो भएकाले सम्पादन पक्ष फितलो लाग्छ ।

यी कमजोरीका बाबजूद पुस्तकको सबल पाटो भने हरेक जात्राका चित्ताकर्षक तस्वीरहरू हुन् । लेखकद्वयका अनुसार यस पुस्तकका लागि उनीहरूले खर्चेको सात वर्षको अवधिमा खिचिएका तस्वीरहरुले नै पुस्तकको नाम जीवन्त संस्कृतिहरू लाई सार्थक तुल्याएका छन् ।

सविना देवकोटा

comments powered by Disqus

रमझम