‘नेपाल’ शब्दको पुरातत्व

Share:
  
- कनकमणि दीक्षित

कमलप्रकाश मल्ल
प्रखर बौद्घिक, भाषाशास्त्री, शिक्षक तथा समालोचक कमलप्रकाश मल्लको गएको १ मंसीरमा अमेरिकाको जर्जिया राज्यमा निधन भयो । उहाँले विभिन्न विधामा लेखेका सयौं लेखमध्ये सन् १९८३ मा प्रकाशित ‘नेपालः आर्कियोलोजी अफ द वर्ड’ उहाँको स्मृतिमा उल्था गरी पेश गरेको छु । शब्द प्रयोग र अर्थमा पूर्णतः ध्यान दिने कमलप्रकाश मल्लले स्वर्गबाट यस कार्यमा हुन गएका गल्ती माफ गर्नुहुन्छ भन्ने विश्वास लिएको छु । पूर्ण लेख नभई सारांश यहाँ पेश छ । – कनकमणि दीक्षित

‘नेपाल’ शब्दको स्रोत त्यति प्रष्ट छैन । सबैभन्दा पुरानो र विश्वासिलो प्रयोग सम्राट समुद्रगुप्त (सन् ३३५–४७५) को इलाहावाद स्तम्भमा पाइन्छ, जसमा नेपालका राजा सम्राटसामु झुक्दै आउने सन्दर्भ उल्लेख छ । नेपालभित्रैको सबैभन्दा पहिलो उल्लेख उपत्यका आउने–जाने बाटोमा पर्ने टिस्टुङ बस्तीमा पाइन्छः ‘नेपालका शासकलाई स्वस्ति’ ।

अवश्यै भारतको शास्त्रीय लेखनमा ‘नेपाल’ प्रशस्तै पाइन्छ, जस्तै वैदिक भनिएको ‘अथर्वपरिशिष्ट’ मा, कौटिल्यको ‘अर्थशास्त्र’ मा, महाभारतका कुनै संस्करणमा, केही बुद्धमार्गी र जैन लिखतमा पनि । तर यी दस्तावेजमा ‘नेपाल’ प्रयोग पाइँदा पनि शब्दको उत्पत्ति के हो र प्रयोग कति पुरानो हो ठम्याउन सकिंदैन ।

नेपालभित्रकै दस्तावेज हेर्ने हो भने सन् १३०० ताका तयार पारिएको ‘गोपाल राजवंशावली’ र सोही समयका अन्य वंशावलीमा ‘नेपाल’ को व्याख्या पाइँदैन, तर पछि आउने स्थानीय वंशावली (मुख्यतः १८२०–१८८० को समय) मा भने ‘नेपाल’ नामको व्याख्या र विश्लेषण हामी पाउँछौं । यी पछिल्ला हिन्दू र बौद्ध दस्तावेजमा या त ‘नेपाल’ को उत्पत्ति ने मुनि, ने नाम गरेको गाई या यही नामको आदिबुद्ध– बाट भएको भन्ने दाबी छ ।

१५–१६ शताब्दीमा नेपाल खाल्डोभित्र सांस्कृतिक–धार्मिक राष्ट्रवाद हावी भएको भान हुन्छ । यसै बेलामा ‘नेपाल महात्म्य’, ‘स्वयम्भूपुराण’ र ‘पशुपतिपुराण’ तयार पारियो, शायद त्यतिबेला केही कारण स्थानीय पीठ, नदीनालाको बढी बखान गर्नुपर्ने आवश्यकता थियो । मिथ्या तयारीको यस उर्वर समयमा ‘नेपाल’ को धर्म र पन्थ अनुसारको व्याख्या रचियो ।

प्रख्यात नर्वेली संस्कृत विद्वान् क्रिश्चियन लासेन (सन् १८००–१८७६) ले ‘ने’ नाम गरेका मुनि थिए भन्ने कुरा स्वीकार्न सकेनन् र ‘नेपाल’ को अर्थ ‘निपा+आलय’ बाट आउँछ भनी प्रस्ताव गरे– ‘पहाडको बेसीमा रहेको ठाउँ ।’

प्रकाण्ड फ्रान्सेली विद्वान् सिल्भाँ लेभी (सन् १८६३–१९३५) ले लासेनको सुझाव बेठीक ठहर गरे, तर आफैंले ठोस प्रस्ताव भने राखेनन् । उनले भने– “या त ‘नेवार’ शब्दको उत्पत्ति ‘नेपाल’ बाट भएको हो, या त स्थानीय नाम संस्कृतिकरणद्वारा ‘नेपाल’ भएको हो ।” भाषाविद् सर राल्फ टर्नरले आफ्नो प्रख्यात शब्दकोशमा लेभीको कुरालाई नै मान्यता दिएका छन् ।

इतिहास शिरोमणि बाबुराम आचार्यले शुरुमा ‘नेपाल’ पुरानो नाम ‘नेपार’ को अपभ्रंश भन्ने विचार राखे पनि पछि गएर उनी पनि उक्त शब्द ‘नेवार’ कै संस्कृतिकरण भन्नेमा आए ।

यो निष्कर्ष यसकारण पनि विश्वसनीय छ कि, नेपालका पुराना अभिलेखमा पाइने नदीनाला, नहर, थुम्का, टार, चौर इत्यादिका नामको गैर–संस्कृत उत्पत्ति हामी पाउँछौं । धेरै नदीका नाम र यिनको अपभ्रंशको अध्ययनले देखाएको छ कि तिब्बती–बर्मन नाम संस्कृतिकरण भएर आएका छन् । सिल्भाँ लेभी, राल्फ टर्नर, इतिहासविद् सुनितिकुमार च्याटर्जी र बाबुराम आचार्य एकै कुरामा सहमत छन् कि ‘नेवार’ को संस्कृतिकरणद्वारा ‘नेपाल’ भएको हो । हामीले ‘नेपाल’ लाई शिक्षित संस्कृत प्रयोग र ‘नेवार’ लाई स्थानीय वा रैथाने प्राकृत प्रयोग भन्न पनि मिल्छ– एउटै शब्दको दुई उच्चारण ।

दक्षिणएशियाको इतिहासमा थात–थलोको नाम अक्सर समुदाय वा जातजातिको नामअन्तर्गत रहेको हामी पाउँछौं, जस्तैः भारत, मगध, विदेह, आन्ध्र, कलिङ्ग र कुरु । नेपालका पुराना लिखतबाट पनि बुझिन्छ, कि यो देशको नाम यहाँका वासीको नामबाट बनेको हो । कसै कसैले भनेजस्तो उपत्यकाको भूगोलको कुनै उत्कृष्ट अंगको नामबाट ‘नेपाल’ को उत्पत्ति भएको पक्कै होइन ।

‘नेवार’ को संस्कृतिकरणले ‘नेपाल’ दियो होला, तर पनि शब्दको उत्पत्तिबारे जान्नुपर्ने हुन्छ । यत्ति हामीलाई थाहा छ कि हिन्दूवंशी लिच्छविभन्दा अगाडि उपत्यकामा गोपाल र महिषपालको बसोबास थियो । नेपालका तिब्बती–बर्मन भाषाहरूमा ‘ने’ भन्नाले चौपाया, गाई या भैंसी जनाउँछ, र ‘पा’ ले मानव । अतः हामी यति भन्न सकौंलाः १. ने (गाई, भैंसी, चौपाया) र पा (वासी, रखवाला) दुई मिलेर बन्न गयो ‘नेपा’ । २. ‘नेपा’ को संस्कृतिकरणले दिन्छ ‘नेपाल’ ।

comments powered by Disqus

रमझम