३० भदौ २०७० | 15 September 2013

बंगुरः फाइदै फाइदा

Share:
  
- जीवनप्रसाद राई
मानव स्वास्थ्यको लागि राम्रो मानिने ‘ह्वाइटमिट’ को स्रोत बंगुरपालनमा व्यावसायिकता आवश्यक छ ।

ललितपुरको ताल्छीखेलस्थित मोडर्न इन्टिग्रेटेड पोर्क इन्डष्ट्रिज (मिपोई) मा शनिबार बंगुरको मासु किन्न लाइनमा बस्नुपर्छ । धराने कालो बंगुरको स्वाद र मासु प्रशोधनमा अपनाइएको प्रविधिले ग्राहकको भीड बढाएको हो । मिपोईको भीडले नेपाली समाज समावेशी हुँदै गएको र कृषिजन्य उद्योगमा बंगुरको सम्भावनाको झल्को पनि दिन्छ ।

यो सम्भावना पहिल्याएका भोजपुर, खैराङका किरण राई (४३) ले २०५५ सालमा शिक्षण पेशा छाडेर यो व्यवसाय थालेका हुन् । गत १५ वर्षमा बंगुरको मासुको निम्ति प्रतिकूल संस्कृति भएको काठमाडौंमा यसलाई लोकप्रिय बनाएका छन् । पूर्वका राई–लिम्बूको बढ्दो बसोबासलाई हेरेर थालिएको यो कारोबारमा पहिला एउटा बंगुरको मासु बिकिसक्न तीन दिनसम्म लाग्ने गरेकोमा अहिले दैनिक १० र शनिबार २० वटा मिपोईमै सकिन्छ । दशैं लगायतका चाडबाडमा त माग अनुसार बंगुर नै नपाइने किरण बताउँछन् (हे.बक्स) ।

काठमाडौंका करीब ४० ठाउँमा धराने कालो बंगुरको मासु बिक्री हुन्छ, जसमध्ये अधिकांशले मिपोईमा प्रशोधित मासु बेच्छन् । राजधानीमा दैनिक सरदर ३०० र पूर्वाञ्चलमा कम्तीमा ३००० कालो बंगुरको मासु खपत भइरहेको तथ्यांक छ । मध्य र सुदूरपश्चिममा पनि अरू प्रजातिका बंगुरको खपत बढेको ती क्षेत्रमा खुलेका फार्महरूले देखाउँछ । नेपालमा न्यू ह्याम्सायर, मेसान, ड्युरुक आदि प्रजातिका बंगुर पालिन्छ र उत्पादन भए जति सबै सम्बन्धित क्षेत्रमै खपत भइरहेको छ । सिप्रेड नेपालका डा. नन्दप्रसाद श्रेष्ठ नेपालमा बंगुरको मासुको माग वार्षिक २६ हजार टन भए पनि १७ हजार टन मात्र उत्पादन भइरहेको बताउँछन् ।

उत्पादन र बजार

धराने कालो बंगुर राजधानीका भान्सादेखि होटल–रेस्टुरेन्टसम्म लोकप्रिय भइरहँदा पूर्वाञ्चलमै पनि यसको व्यावसायिक फार्म छैन । बंगुर पालेकाहरू बिहान–बेलुका घरमा उत्पादन हुने चारो खेर नजाओस् भन्ने सोचमा सीमित छन् । यस्तोमा लागत मूल्यको हिसाब गरिंदैन र पछि जति आर्जन हुन्छ, त्यो सित्तैं आए जस्तो ठानिन्छ ।

पूर्वका ठूलो परिवार भएका राई–लिम्बूहरूले बढीमा तीन वटासम्म बंगुर पालेको देखिन्छ । लगानीको हरहिसाब नराखी गरिएको यस्तो उत्पादनमा पनि ३५ प्रतिशत नाफा हुने काठमाडौं गोलढुंगाका बंगुर व्यवसायी खड्कबहादुर राई बताउँछन् । सिप्रेडका डा. श्रेष्ठका अनुसार, व्यावसायिकता अपनाउँदा अहिलेको भाउले पनि ३० वटा बंगुरबाट न्यूनतम रु.१ लाख ९० हजार फाइदा हुन्छ । त्यति बंगुर पाल्न एक जनाको श्रम काफी हुन्छ । दानाको मात्रा मिलाइएको बंगुर नौ महीनामै ८० किलोको हुन्छ । बंगुरको मल पनि प्राङ्गारिक खेतीको लागि राम्रो मानिन्छ ।

बंगुरपालन र यसको मासु प्रशोधनलाई उद्योग बनाउँदा रोजगारीसँगै विदेशी मुद्रा आर्जन हुन्छ । तर, बंगुर व्यवसायमा सरकारका तर्फबाट पर्याप्त काम भएको छैन । त्यसमाथि, मासुको न्यून मूल्य समेत उत्पादन प्रतिकूल छ । काठमाडौंमा खसीको रु.८००, राँगाको रु.२५० र ब्रोइलर रु.३०० पुग्दा स्वास्थ्यका लागि राम्रो मानिने बंगुरको मासु भने प्रतिकिलो रु.३०० देखि रु.३६० सम्ममा पाइन्छ । यसमा परम्परागत सांस्कृतिक विभेदले काम गरेको चाखलाग्दो कारण बताउँदै किरण भन्छन्, “मतवालीले खाने सुँगुर तागाधारीहरूले खाने खसीभन्दा कमसल हुन्छ भन्ने उहिलेको मापदण्ड अहिले पनि कायम छ ।”

राजधानीमा किलोको रु.३६० पर्ने कालो बंगुर पूर्वी नेपालकै हरेक हाट–बजारमा सरदर १० वटा खपत हुन्छ । त्यसवाहेक, भूटानसम्म तस्करी गरिन्छ । निर्यातका वैध ढोकाहरू खोल्दै उत्पादन बढाउने हो भने दिनदिनै क्रयशक्ति बढाइरहेका भूटानीहरूले मासिक करोडौं रुपैयाँको नेपाली बंगुर आयात गर्न सक्छन् । बंगुरको मासु मन पराउने उत्तरतिरको विशाल आवादी पनि नेपालकै एकलौटी बजार हुन सक्छ । चिनियाँहरूले राँगाको मासुका लागि सुनसरीमा बधशाला बनाएका छन्, तर बंगुर नेपालीहरूलाई नै पुग्ने अवस्था छैन ।

धेरै समुदायको संस्कृतिसँग जोडिएकोले नेपाल बंगुरपालनका लागि उपयुक्त ठाउँ हो । निर्यात गर्न चाहिं ठूलो पैमानाको उत्पादन र अन्तर्राष्ट्रिय मापदण्डको प्रशोधन–प्याकेजिङ आवश्यक पर्छ । मिपोईले त्यस्तो पूर्वाधार तयार पारिरहेको छ, जहाँ बंगुर बध गर्नुअघि त्यो स्वस्थ छ, छैन भनेर जाँच्ने, क्याप्टिभ्वोल्टबाट पीडा नदिई मार्ने, स्क्याल्डिङ ट्याङ्कमा सफा गर्ने र मासुलाई व्याक्टेरिया मुक्त पार्न फ्रिजिङ गर्ने गरिन्छ । सुनसरीको इटहरीस्थित संकलन केन्द्रबाट बंगुर काठमाडौं ल्याउँदा भने कम्पनीले धेरै समस्या भोग्नु परिरहेको छ । सडकमा पैसा असुल्ने अनेक समूह छन्, जसको चित्त नबुझई ट्रक अगाडि बढ्दैन । कुनै वेला बंगुर बोकेको ट्रक बीचैमा बन्दले रोकिन्छ । यसबाट आजित किरण काठमाडौं नजिकै कसैले धराने कालो बंगुर पाले राम्रो भाउमा किनिदिने लिखित सम्झैता गर्न तयार छन् ।


गोठदेखि ओठसम्म सफाई

जीवनप्रसाद राई
मासुका लागि कालो पशुपन्छी नेपालीको रोजाइमा पर्छन् । जस्तो– कालो खसी, कालो बंगुर । कालो लोकल कुखुरालाई त औषधिकै रूपमा लिइन्छ । धराने कालो बंगुरका पारखीहरूले बंगुरको मासु परैबाट चिन्छन्, पकाएरै दियो भने पनि मुखमा पर्नासाथ थाहा पाउँछन्, कुन हो भनेर । कालो बंगुरमा पुँडी सुँगुरको मिश्रण भएकोले स्वादिलो भएको हो । शुरूमा धरानबाट ल्याइएकोले काठमाडौंमा ‘धराने कालो’ भनिएको यो बंगुरको प्रजाति २०३६÷३७ सालतिर धनकुटाको पाख्रीबास कृषि केन्द्रले चाइनिज न्युह्याम्सायर र पुँडीको क्रसबाट विकास गरेको हो । पुँडी, च्वाँचे जस्ता सानो आकारका रैथाने सुँगुरहरू लोप भइसकेका छन् ।

हामी नेपाली मासु मन पराउने जातिमा पर्छौं, तर उत्पादनमा पछाडि छौं । उत्पादित चिजको पनि प्रशोधनमा उति ध्यान दिंदैनौं, जसले गर्दा खास गरेर मासुजन्य पदार्थको उपभोग जोखिमपूर्ण बनेको छ । मासु जाँच ऐन २०५५ तथा नियमावली २०५६ कार्यान्वयन हुनसकेको छैन । आम उपभोक्ताले जहाँ पायो त्यहींको मासु उठाइदिंदा पनि खराब व्यवसाय प्रोत्साहित भएको छ । यहाँ ‘खराब व्यवसाय’ भनिएको जनावरहरूको स्वस्थ परीक्षण नगरी जहाँ पायो त्यहीं काट्ने र फोहोर–अस्वस्थ मासु बिक्री वितरण गर्ने चलनलाई भनिएको हो ।

यो अवस्थामा स्तरीय काम गरौं र निर्यातको सम्भावना पनि पहिल्याऊँ भनेर २०५९ सालमा जापानी प्रविधिको मिपोई स्थापना भएको हो । हामी सरकारले कडाइसाथ ऐन लागू ग¥यो भने त्यस अनुसारको मापदण्डमा निर्यात समेत गर्ने तयारीमा छौं, तर उत्पादनको अवस्था चाडबाडमा स्थानीय बजारलाई पनि नधान्ने खालको छ । विधिको पालना भएपछि उत्पादन र व्यावसायिकता दुवै बढ्ने आशा गर्न सकिन्छ । मिपोईले उपभोक्तालाई ‘हाइजेनिक’ मासु उपलब्ध गराउन मासुजन्य पदार्थको उत्पादनलाई ‘गोठदेखि ओठसम्म’ सफा बनाउने प्रयत्न गरेको छ । हामी धराने कालो बंगुरको उत्पादनमा किसानहरूलाई प्रोत्साहित गरिरहेका छौं । सरकारले लगानी, प्राविधिक सहयोग, बीमा र निर्यातको व्यवस्था गरिदियो भने नेपालमा कृषिमा आधारित यो उद्योगको राम्रो सम्भावना छ ।

खसी र राँगाको मासु ‘रेडमिट’मा पर्छ भने ‘चाम्र्सफ्याट’ नामक तत्व हुने बंगुर ‘ह्वाइट मिट’मा । ‘रेडमिट’लाई कोलेस्टोरलको स्रोत मानिन्छ । छिटो बढ्ने बंगुरको मासुको यस्तो गुण र स्वादका कारण यसप्रतिको परम्परागत धारणामा तीव्र परिवर्तन भइरहेको छ । ‘बँदेल खोजीखोजी खान हुने, तर सुँगुर–बंगुर छुनै नहुने’ भ्रम हट्दै जाँदा उपभोक्ता पनि बढिरहेका छन् । यसलाई नेपाली उपभोक्ता ‘रेडमिट’बाट ‘ह्वाइट मिट’तिर ढल्किरहेको रूपमा लिन सकिन्छ । मासुप्रतिको सांस्कृतिक/मनोवैज्ञानिक परिवर्तन हुँदै गए पनि मासु व्यवसायप्रतिको पुरानो सोच–काइदा कायमै रहेकाले अब यो क्षेत्रमा पूँजी र व्यावसायिक क्षमता भएकाहरू आउनुपर्छ, जसले उपभोक्तालाई पनि सचेत पार्दै मासु उत्पादनमा नेपाली सम्भावना पहिल्याउन सकोस् । व्यवसायीहरुले ऐन कार्यान्वयन हुनुलाई व्यवसाय सुकाउन हैन, बढाउनलाई हो भनेर बुझ्नुपर्छ ।

comments powered by Disqus

रमझम