२३-२९ मंसिर २०७५ | 9-15 December 2018

धरहराको पुनर्निर्माण कि नवनिर्माण ?

Share:
  
- वसन्त महर्जन
भूकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माण भनिए पनि नयाँ प्रविधिबाट नयाँ धरहरा निर्माण गर्ने तयारी, पुरातत्व र इतिहासको सरोकार बाहिरको कुरा हो।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त ऐतिहासिक धरहराको पुनर्निर्माण गर्ने भन्दै काम अगाडि बढेको छ । तर, कामकारबाही तथा योजना हेर्दा त्यसलाई पुनर्निर्माण भन्न मिल्दैन । कार्ययोजनामै धरहराको भग्नावशेषको ठुटो संरक्षण गर्ने र त्यसैको छेउमा नयाँ धरहरा बनाउने उल्लेख छ । तर, नयाँ निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा पुरातत्व विभागले प्राथमिकता दिएर काम गरिरहनु अचम्मको कुरा हो ।

नेपालका तत्कालीन मुख्तियार भीमसेन थापाको पालामा वि.सं. १८८१ र ८२ मा दुई वटा धरहरा बनाइएको थियो । यी दुईमध्ये वि.सं. १८९० सालको भूकम्पले भीमसेन थापाको निवास बागदरबार छेवैको धरहरालाई पूर्णरूपमा ध्वस्त पार्‍यो । राजमाता ललितत्रिपुरासुन्दरीको नाममा निर्माण गरिएको धरहरामा भने केही मात्र क्षति भयो । उक्त धरहरा पनि पछि चट्याङका कारण क्षतिग्रस्त हुँदै १९९० सालको भूकम्पले ढालेको थियो । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले १९९२ सालमा ११ तले धरहरालाई ९ तलामा पुनर्निर्माण गरेका थिए ।

धरहरा नेपालमा विदेशी वास्तुकलाको अनुकरणको एउटा नमूना हो । मुगल मिनारको नक्कलका रूपमा रहेको धरहरा कुन प्रयोजनका लागि निर्माण गरिएको भन्ने कुरा नखुले पनि पछि बिगुल बजाउन प्रयोग गरियो । लामो समयदेखि विना प्रयोजन ठडिएको धरहरामा शुल्क लिएर सर्वसाधारणलाई चढ्न दिने तथा वरिपरिको क्षेत्रलाई व्यापारिक प्रयोजनमा लगाउने गरी काठमाडौं महानगरपालिकाले एक निजी कम्पनीलाई ठेक्कामा दिएको थियो । भूकम्पले ढलेपछि सरकारले यसलाई राष्ट्रिय धरोहरका रूपमा लिंदै पुनर्निर्माणमा जोड दिंदै आएको थियो ।

धरहराले सांस्कृतिक रूपमा नेपालको केही प्रतिनिधित्व नगर्ने पाटोलाई एकछिन भुले पनि यसको अस्तित्वमा ऐतिहासिकता रहेको कुरा भने मान्नैपर्छ । मुगल शैलीको अनुकरणलाई पनि नेपालमा कला इतिहासको एउटा अध्यायको रूपमा लिन सकिन्छ । यही दृष्टिले केही उच्चपदस्थ व्यक्तिहरू धरहराप्रति चिन्तित रहेको हो कि भन्ने बुझन सकिन्छ । तर, यो बुझइलाई पुनर्निर्माणका नाममा हुन लागेको नवनिर्माणको कार्यले गलत साबित गरिदिएको छ ।

भूकम्पले क्षतिग्रस्त धरहराको ठुटोलाई यत्तिकै राखी त्यही स्वरूपको नयाँ धरहरा बनाउने योजना छ । ड्रइङ डिजाइन अनुसार, त्यहाँ बगैंचा पनि बनाइने र त्यसको छेउमा तीनतले पार्किङ स्थल हुनेछ । धरहरा क्षेत्रभित्रै राखिने गरी सुन्धारालाई पुनर्निर्माण गरी ३०० जनासम्म हिंड्न सक्ने क्षमताको भर्‍याङ बनाउने योजना पनि छ । यस्तै, धरहरामा भएका पुरातात्विक वस्तु, टक्सार विभागमा भएका सिक्का छाप्ने मेशीनलगायतका सामग्री राख्न दुईतले संग्रहालय, सानो थिएटरलगायतका संरचनाहरू बनाइनेछ । यसका लागि गोश्वारा हुलाक कार्यालय र टक्सार विभागको जग्गा धरहराका लागि दिने निर्णय सरकारले गरिसकेको छ । भूकम्पअघि पाँच रोपनी जग्गामा रहेको धरहरा वरिपरिको क्षेत्रफल नवनिर्माणका क्रममा ४४ रोपनीमा फैलिनेछ ।

सम्पदाहरूको पुनर्निर्माणको सामान्य अर्थ हो, पहिला जस्तो थियो त्यस्तै बनाउने । जुद्धशमशेरले ९ तलामा खुम्च्याएको धरहरालाई पुनः ११ तलामै फर्काएर अझ् पुरानो स्वरूपमै ल्याउन पनि सकिन्थ्यो । तर, अहिले पुनर्निर्माण भनेर आधुनिक प्रविधि प्रयोग गरी नयाँ धरहरा बनाउने काम भइरहेको छ, जसले इतिहास तथा पुरातत्वसँग कुनै सरोकार राख्दैन ।

ऐतिहासिक तथा पुरातात्विक स्थलहरूको संरक्षण तथा पुनर्निर्माण गर्ने आधिकारिक निकाय पुरातत्व विभाग हो । तर, पुनर्निर्माण भन्दै नवनिर्माणतिर लाग्नु यस विभागको अधिकार क्षेत्र होइन । यसरी नै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा महाशाखाको जिम्मेवारी पनि भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरूको पुनर्निर्माण मात्र हो ।

पुनर्निर्माण प्राधिकरण तथा पुरातत्व विभागको पहिलो प्राथमिकता धरहराको ठुटोलाई संरक्षण गर्ने मात्र नभएर पुनर्निर्माण गरी पहिलेकै स्वरूपमा ल्याउने हो । यस स्थलको ऐतिहासिकता जोगाउनकै लागि पनि नवनिर्माण गरिनुहुँदैन भनेर सरकारलाई सुझव दिनुपर्ने हो । तर, इतिहाससँग सम्बन्धित यो कुरालाई बेवास्ता गर्दै नवनिर्माण गर्न कस्सिएको हो भने दुवै निकायले हात झ्क्निुपथ्र्यो । किनभने त्यहीं वा अन्यत्र यस्ता नयाँ निर्माण कार्यका लागि सरकारका अन्य निकायहरू छँदैछन् ।

comments powered by Disqus

रमझम