१-७ पुस २०७५ | 16-22 December 2018

आफैंले जगाएको आशा

Share:
  

‘सकसको सफर’ (२३–२९ मंसीर) आवरण रिपोर्टले स्थिर सरकार भएर पनि आफ्नै कार्यशैली र व्यवहारका कारण विकास र सुशासनको जग बसाउने मौका गुमाउँदै गएको नेतृत्वलाई सजग बनाएको छ । सरकार गठन भएको ९ महीना पुग्दा पनि थुप्रै कानून बन्न बाँकी छन् । पुराना कानून संशोधन र परिमार्जन हुनसकेका छैनन् । वित्तीय संघीयता सञ्चालनको कुनै खाका बनेको छैन । आयात बढ्दो छ । यस्तो अवस्थामा नेतृत्वले चुनावका बेलामा जस्तो भाषण मात्रै गरेर पुग्दैन कार्यसम्पादन गरेर देखाउनुपर्छ । हिजो अनेकौं बाचा गरेर जनअपेक्षा बढाइदिने नेतृत्वले आज त्यो पूरा गर्नुपर्ने बेला आएको छ । तर, नेतृत्व दुईतिहाइको दम्भ र सत्ता घमण्डले चूर छ । जनता सुशासनको व्यग्र प्रतीक्षामा छन् । जनतामा आफैंले जगाइदिएको आशा निराशामा परिणत नहोस् भन्ने कुरामा सरकार सजग भएन भने त्यो निकै घातक हुनेछ ।

सरु शर्मा, अनलाइनबाट

रुबी भ्यालीबारे

हिमाल को नियमित स्तम्भ ‘उकालो लाग्दा’ (२३–२९ मंसीर) मा ‘रुबी भ्याली रिपोर्ट’ पढ्न पाउँदा खुशी लाग्यो । दुर्गम भेकमा पुगेर त्यहाँको सम्भावना बारे औंल्याइदिनुुभएकोमा लेखकलाई धन्यवाद । धेरै यथार्थ, केही सुनेको र केही अध्ययनमा आधारित उक्त लेखको अन्त्यतिर ‘यसको सम्भावना मुख्यतः पर्यटन र पर्वातारोहणबाट पूरा हुने देखिन्छ, जबकि शुरूआत समेत हुनसकेको छैन’ भन्ने देख्दा भने मन अलिक खिन्न भयो ।

रुबी भ्यालीकै काखमा छ, मेरो गाउँ कटुञ्जे । पर्यटन प्रवद्र्धनका लागि गणेश हिमाल पर्यटन विकास समिति भन्ने संस्था विगत एक दशकदेखि सक्रिय छ । अपेक्षा अनुसार समितिले काम गर्न नसके पनि लेखमा भनिएजस्तो शुरूआत नै नभएको चाहिं होइन । पर्यटन व्यवसायी वा पर्यटनप्रति सरोकार राख्ने र चासो प्रकट गर्ने सम्भवतः सबैलाई रुबी भ्यालीबारे जानकारी छ । उक्त भेकमा अहिले ट्रेकिङ ट्रेलहरू धमाधम बनिरहेका छन् । पुल पुलेसाहरू पर्यटन व्यवसायी र सरोकारवालाबाटै निर्माण भएका छन् । पर्याप्त नभए पनि होमस्टेको शुरूआत भएको छ । स्थानीयलाई आधारभूत अंग्रेजी भाषाको तालिम, खानाका विभिन्न परिकार बनाउने सीप, सरसफाइलगायतका विषयमा तालिम पनि दिइएको छ ।

राम्रोसँग घुम्ने हो भने रुबी भ्यालीका लागि पाँच दिन छुट्याउनुपर्छ । स्याफ्रुबाट छिरेर सोमादाङ हुँदै तिप्लिङ, सेर्तुङ, लापा, बोराङ भएर दार्खा झर्नुभयो भने रुबी भ्यालीको मोहनी लाग्छ । त्यहाँको वातावरण, सत्कार र खानपिन पर्यटन अनुकूल छ ।

शिव श्रेष्ठ, हालः काठमाडौं

अनलाइनबाट

सन् २०१२ मा ट्रेकिङ एजेन्सी एसोसिएसनको तर्फबाट म र राजेन्द्र सुवेदी ट्रेकिङ ट्रेल खोज्दै जाँदा त्यस क्षेत्रको नाम रुबी भ्याली जुराएका थियौं । त्यसबेला स्थानीयस्तरमा हामीलाई गणेश हिमाल पर्यटन विकास समितिले सहयोग गरेको थियो । संयोग, पछि गाउँपालिकाकै नाम रुबी भ्याली राखियो । राम्रो भयो ।

सरोज न्यौपाने, अनलाइनबाट

योगेन्द्रलाई सलाम !

‘क्याबात योगेन्द्र’ (२३–२९ मंसीर) रिपोर्टले गरे के हुँदैन र भन्ने पाठ सिकाएको छ । स्नातक पढ्दै गरेको युवा गाउँका दलित बालबालिकाका लागि शिक्षाको उज्यालो दिने काममा समर्पित हुनु, त्यो पनि दीर्घकालीन सफल योजनाका साथ, चानचुने कुरा होइन ।

शिक्षासँगै सहकारीको सफल सञ्चालन गरिरहेका योगेन्द्र र उनको टोलीलाई धेरै धेरै बधाई ।

पदम डाँगी, अनलाइनबाट

हतियार व्यवस्थापन गर

‘द्वन्द्वका हतियारः अहिलेको अपराध’ (२३–२९ मंसीर) रिपोर्टले हिजो सशस्त्र द्वन्द्वकालमा सरकारको गलत निर्णयका कारण सिर्जित समस्याको समाधान शीघ्र पहिल्याउनुपर्ने देखिएको छ । नागरिकसँग रहेका हतियारको उचित व्यवस्थापन नगर्ने हो भने यसले झनै भयावह रूप धारण गर्नेछ ।

द्वन्द्वका बेला सरकारबाट बाँडिएका हतियार मात्रै होइन, विद्रोहीसँग रहेका ठूलो मात्राका घातक हतियारहरूको पनि अझै व्यवस्थापन हुनसकेको छैन । त्यसबेलाका केही समूह राज्यलाई चुनौती दिन समेत लागिपरेका छन् । सरकारले चाँडोभन्दा चाँडो ती हतियारको व्यवस्थापन गरेर अपराधकर्मलाई निमिट्यान्न पारोस् ।

शर्मिला बानियाँ, अनलाइनबाट

सजग हुने बेला

‘डिप्रेस्ड छ, बजार’ (२३–२९ मंसीर) रिपोर्टले शेयर बजारलाई राम्ररी नबुझी लगानी गर्न तम्सिनेहरूलाई सजग बनाइदिएको छ । सरकारले पनि लगानीकर्ताको लगानी सुनिश्चितताको लागि आवश्यक कदम चालिदिनुपर्छ । रिपोर्टले जनतालाई त सजग बनाइदिएकै छ, सरकारले शेयर बजारको लागि उचित नीति बनाएर अघि बढ्नुपर्छ । साथै पूँजी बजारमा देखिएको नकारात्मकतालाई चिर्न सक्नुपर्छ ।

रेशम वाग्ले विरही, अनलाइनबाट

मनकारी पनि छन् !

‘बालबालिकाको सहारा’ (२३–२९ मंसीर) रिपोर्टले हाम्रो समाजमा रहेका मनकारीहरूलाई अघि ल्याउने काम गरेको छ । अहिलेको स्वार्थी संसारमा अनाथहरूका लागि रीता राईले बेसहाराप्रति देखाएको स्नेह सराहनीय छ । अनाथको सहयोगका लागि समाज कल्याण मन्त्रालय पुगेका राई दम्पती माथिको मन्त्रालयको व्यवहार अशोभनीय लाग्यो । सरकारले गर्नुपर्ने काम एक दम्पतीले गरिरहँदा पनि उल्टै निराश बनाउनु राम्रो कार्य होइन । राई दम्पतीको कार्यले सफलता पाओस् ।

दधिकृष्ण आचार्य, अनलाइनबाट

comments powered by Disqus

रमझम