१-७ पुस २०७५ | 16-22 December 2018

नक्कली घाँसको आकर्षण

Share:
  
चन्द्रागिरि हिलको खेलमैदानमा बिछ्याइएको नक्कली दुबो ।

goingnepal.com
घर–आँगनमा हरियो दुबो उमार्ने धेरैको चाहना हुन्छ । आँगनमा हरियो दुबो आकर्षक देखिनुका साथै स्वास्थ्यका लागि समेत हितकर हुन्छ । तर, आँगनमा दुबो उमार्न वा स्याहार्न नसक्नेहरूका लागि दुबोको रहर पूरा गर्न बजारमा दुबोजस्तै देखिने आर्टिफिसियल टर्फ (नक्कली घाँस) पाइन्छ । दुबो जस्तै रंग र आकारमा पाइने नक्कली घाँस सिन्थेटिक फाइबरबाट बनाइएको हुन्छ । आवश्यकता अनुसार कार्पेटकै स्वरुपमा पाइने, काटेर डिजाइन गर्न सकिने यसलाई ओछ्याउन पनि सहज हुन्छ ।

पानी हाल्नु नपर्ने, बारम्बार काँटछाँटको झण्झट नहुने, सूर्यको प्रकाश नचाहिने, लामो अवधिसम्म टिक्ने नक्कली घाँस विशेष गरी खेलकुद मैदानमा बढी प्रयोग हुन्छ । आर्टिफिसियल टर्फ ६० वर्षअघि अमेरिकाको ह्यूस्टन रंगशालामा प्रयोगमा आएको थियो । फूटबल, बास्केटबल, टेनिस, गल्फ जस्ता खेल मैदानमा समेत व्यापक प्रयोग हुने यो नेपालमा आवासीय घरका आँगनहरूमा राख्ने चलन बढ्दो छ ।

सबैजसो फूटसल केन्द्रमा पनि आर्टिफिसियल टर्फ ओछ्याइएको हुन्छ । यसको ठाउँठाउँमा सानो प्वाल हुने भएकोले पानी जम्ने समस्या आउँदैन । त्यसैले आवासीय र व्यावसायिक भवनका आँगनदेखि कौसीसम्म यो सजिएको छ । खुल्ला चौरमा खेल्न रुचाउने नानीहरू यस्तो नक्कली घाँस भएको भुईंमा खेल्दा उनीहरूका लुगा मैलो हुँदैनन् । हरियालीमा बस्न चाहने ग्राहकलाई आकर्षित गर्न होटल रेस्टुराँका आँगन र लबीदेखि गार्डेनमा पनि आर्टिफिसियल टर्फ ओछ्याइएको पाइन्छ । यो ओछ्याइएकोे चउरमा दुबोमा झैं कीराफट्याङ्ग्रा आउँदैनन् । यसलाई सफा गर्न सजिलो र आवश्यकता अनुसार अर्को ठाउँमा सार्न समेत सकिन्छ ।

यस्तो नक्कली घाँसमाथि तातो पदार्थ भने राख्नुहुँदैन । तातो गिलास वा भाँडाकुँडा राख्दा यो पग्लिनसक्छ । यस्तै तिखो र बढी वजनदार वस्तु राख्दा पनि यो च्यातिन वा प्वाल पर्न सक्छ । लामो समयसम्म घामपानी पर्ने खुल्ला ठाउँमा भने यसको रङ खुइलिने र चाँडै बिग्रने हुन्छ । आर्टिफिसियल टर्फ सामान्यतया पाँच वर्षसम्म टिक्ने व्यापारीहरू बताउँछन् ।

काठमाडौंको बागबजारस्थित पीवी फर्निसिङका प्रबन्धक रविसु श्रेष्ठका अनुसार नेपालमा उत्पादन नहुने आर्टिफिसियल टर्फ अधिकांश चीनबाट आयात हुन्छ । उनका अनुसार नेपाली बजारमा खपत भइरहेको २५ देखि ४० मिलिमिटर मोटाइको आर्टिफिसियल टर्फको मूल्य प्रति वर्गफिट रु.१३० देखि रु.१८० सम्म पर्छ ।

व्यस्तताका कारण दिनदिनै आँगन, कोठा र बार्दली सफा गरिरहन नभ्याउनेहरू नै नक्कली घाँसका ग्राहक रहेको श्रेष्ठ बताउँछन् । उनी भन्छन्, “यो शहरिया जीवन र आधुनिकताको उदाहरण बनेको छ ।”

तर, दुबो वा अरु घाँस जस्तो नरम नहुने यसमा लड्दा बढी चोट लाग्ने सम्भावना हुन्छ । अमेरिकाको नेशनल फूटबल लिग इञ्जुरी एण्ड सेफ्टी प्यानल ले सन् २०१२ मा गरेको अध्ययन अनुसार आर्टिफिसियल टर्फमा खेल्ने खेलाडीहरूलाई अन्य मैदानमा खेल्ने खेलाडीभन्दा बढी चोटपटक लागेको पाइएको थियो । अध्ययनमा विशेष गरी घुँडा खोल्सिने र पैतालाको जोर्नीमा चोट लाग्ने समस्या बढी देखिएको थियो । त्यस्तै घाम परेको ठाउँमा ओछ्याइएको आर्टिफिसियल टर्फ दुबो भन्दा धेरै तातो हुन्छ ।

आर्टिफिसियल टर्फभित्र सिलिकन र रिसाइकल्ड रबर हालिने हुँदा यसले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्न सक्ने चिकित्सकहरू बताउँछन् । त्यसमाथि यो चाँडै नगल्ने हुँदा वातावरणमा पनि नकारात्मक प्रभाव पार्छ ।

comments powered by Disqus

रमझम