३० भदौ २०७० | 15 September 2013

मुक्तावलीमा कदी

Share:
  

पुस्तकः कमल–मणि–मुक्तावली

सम्पादकः डा. काशीनाथ न्यौपाने र

डा. सनतकुमार वस्ती

प्रकाशकः कोकगोष्ठी, काठमाडौं

पृष्ठः २९६+३६, मूल्यः रु.५००

नेपाली भाषा–साहित्यमा कमलमणि दीक्षित (कदी) लेखक, अनुसन्धाता, अन्वेषक, सम्पादक आदिका रूपमा सुपरिचित छन् । उनको खोज–अनुसन्धान, अन्वेषण र सम्पादनबाट नेपाली वाङ्मयले साढे सात दर्जन गहकिला किताबसँगै अनेक फुटकर रचनाहरू पाएको छ । त्यसैले, कदीलाई प्रभाव अनुसार कतिले ‘आधुनिक मोतीराम भट्ट’ त कसैले ‘जिउँदो इतिहास’ भन्छन् । हुन पनि, उनले अघिल्लो समयका नेपाली साधकहरूमाथि विशद अनुसन्धान र आधुनिक कालका प्रायः सबै भाषिक–साहित्यिक महारथीहरूसँग सरसङ्गत तथा सहकार्य गरेका छन् । वि.सं. २००० देखि निरन्तर अनुसन्धान, अन्वेषण, सम्पादन र लेखनमा सक्रिय रहनु उनको अर्को खासियत हो ।

तिनै कदीका ४५ पुस्तकाकार कृति तथा फुटकर रचनाहरूबाट रोचक र सूक्तिमय वाक्यहरू तानेर ग्रन्थ नै भन्न मिल्ने कमल–मणि–मुक्तावली निकालेका छन्, वाल्मीकि विद्यापीठका विद्यावारिधि शिक्षकद्वय काशीनाथ न्यौपाने र सनतकुमार वस्तीले । सम्पादकद्वयले कदीका बाँकी ४० प्रतिशत कृति–निबन्धहरूबाट पनि कमल–मणि–मुक्ताहार निकाल्ने सुर कसेको उद्घोष प्राक्कथन मार्फत गरेका छन् । कदी–सम्पादकद्वय सामीप्य र कोकगोष्ठीको सहकार्यले कमल–मणि–मुक्तावली को रुपमा देखाएको समाजोपयोगी परिणामले नयाँ सुरलाई पनि फलदायी बनाउला नै । कदीका हजार निबन्धबाट एक अनुच्छेद, आधा अनुच्छेद र कहीं त एक हरफ पनि लिएर बडो तन्मयका साथ मसिनो ढंगले तयार गरिएको कमल–मणि–मुक्तावली हजार रसिला फलबाट एक–एक केस्रा तानेर बनाएको नयाँ फल जस्तो लाग्छ । ग्रन्थ पढ्दा पाठकलाई कुनै रोचक सामान्य ज्ञानमाला पढे झैं लाग्छ । कतिपय पाठकमा सिंगो फलहरूप्रति उत्सुकता जाग्छ भने कतिलाई कदीका कृतिहरूको एकमुष्ट सँगालो पढ्ने इच्छा जाग्ला । यस्ता उत्सुकताले अन्ततः किताब प्रकाशनको उद्देश्य पूर्ति गर्नेछ ।

ग्रन्थमा ऋद्धिबहादुर मल्ल परिवारले नेपाली साहित्यको सर्वाधिक सेवा गरेको, जंगबहादुरले १२०० श्रीमती राखेको, चन्द्रशमशेर अंग्रेजीका विद्वान भएको, सबभन्दा लामो नामधारी नेपाली किताब ‘मेरो कथा सुनेपछि हजुरलाई कस्तो लाग्छ’ भएको, नेपाल राष्ट्र ब्याङ्कको लोगोको सिर्जनाकार सम भएको, मपुपुले शुरुमा पुस्तक संकलन गर्दा किन्ने, सापटी लिने र माग्नेदेखि चोर्नेसम्मको विधि अपनाएको, १९९० सालमा भाँचिएको धरहराको फोटो केदारमणि दीक्षितले खिचेको लगायतका अनेक जानकारी छन् । र छन्, सम्झना–विर्सना तथा गद्य र पद्यका अनेक सूक्तिमय हरफहरू ।

दुई वर्षको खिप्तीबाट तयार पारिएको ग्रन्थमा कदीको हितैषी निबन्ध संग्रहका भूमिका लेखक नगेन्द्रराज शर्मा हुनुपर्नेमा परिशिष्ट सूचीमा नगेन्द्रराज प्रसाई भएको सामान्य त्रुटि छ, जुन अर्को संस्करणमा जहजै सच्चिने आशा गर्न सकिन्छ । किताब जति पठनीय छ, त्यत्ति नै संग्रहणीय पनि ।


तृषितका केही गीत, कविता र मुक्तक

सम्पादकः प्रद्युम्न जोशी

प्रकाशकः वासु शशी

स्मृति परिषद्

पृष्ठः १९०+४४

मूल्यः रु.१५१

पेशाले कुशल मेडिकल डाक्टर भए पनि गीतकारका रूपमा प्रशिद्ध स्वर्गीय राममान तृषितका रेकर्ड भएका/नभएका, पूर्व प्रकाशित/अप्रकाशित गरी २३३ थान गीत, गद्य कविता, मुक्तक र गजलको सँगालो ।

आकाश,धर्ती र सपनाहरु

लेखकः प्रतिमा विवश राई

प्रकाशकः श्रीमती लक्ष्मी राई

पृष्ठः ८८+४

मूल्यः रु.१५०

२०५८ सालमा ‘जूनसित विताएको एक रात’ कवितसंग्रह मार्फत नेपाली साहित्यमा पदार्पण गरेकी धरानकी प्रतिमा विवश राई गीति विधामा पनि सशक्त छिन् भन्ने प्रमाण । संग्रहमा आमा, देश र धरानसँगै प्रेम–पिरती, जीवन अनि आकांक्षाका ७५ गीत छन् ।

दैवी सम्पत्ति एक परिशीलन

लेखकः खेमराज ‘केशवशरण’

प्रकाशकः रत्न पुस्तक भण्डार

पृष्ठः १४६+१८

मूल्यः रु.१९५

श्रीमद्भागवतगीताको सोह्रौं अध्यायमा चर्चित दैवी सम्पत्तिका २६ मर्यादा (श्रेणी) को व्याख्यामा केन्द्रित अध्यात्मदर्शनको पुस्तक । भूमिकाकार वासुदेव त्रिपाठीका भनाइमा, यो पुस्तकको २८ मध्ये बीचका २६ आलेखले गीताको २६ मर्यादाको सरल र क्रमिक व्याख्या गरेको छ ।

comments powered by Disqus

रमझम