८-१४ पुस २०७५ | 23-29 December 2018

‘राजाले ड्रिङ्क नगरे कसले गर्छ ?’

Share:
  
- भैरव रिसाल
राजा वीरेन्द्रले मदिरा पिएको टंकप्रसाद आचार्यलाई चित्ता बुझेनछ। उनले ‘होशपूर्वक शासन गर्नुपर्ने मान्छेले बेहोशीमा पुर्‍याउने पेय खानुहुँदैन’ भनेर राजालाई सुझाएछन्।

टंकप्रसाद आचार्य ।
राजा–महाराजा भन्नेबित्तिकै भोगविलासको पर्यायका रूपमा हेरिन्छ । भोगविलासमा सुरापान अर्थात् मदिरा कतै न कतै जोडिएकै हुन्छ । यसैले होला, राजखलकलाई प्रायः मदिराप्रेमी मानिएको । शाह वंशका कतिपय राजालाई ‘बढी पियक्कड’ भनिन्थ्यो । यस्ता धेरै नाम सुनिए पनि पुष्टि गर्ने आधार छैन । तर, राजा वीरेन्द्रको एउटा प्रसंगले उनको मदिराप्रेमी व्यक्तित्वको परिचय मिल्छ ।

वीरेन्द्रको प्रसंग त्यो बेला सुनाउने व्यक्ति पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्य हुन् । टंकप्रसाद छक्कापञ्जा केही नजानेका गौप्राणी थिए । देखे/लागेका कुरा सीधै भन्ने । राजा वीरेन्द्र यदाकदा उनीसँग पनि राय–सल्लाह माग्दा रहेछन् । त्यस्तो भेट राजदरबारमा साँझ्पख हुँदोरहेछ । त्यस्तै एउटा भेटमा वीरेन्द्रले मदिरा पिएको टंकप्रसादलाई चित्त बुझेनछ र ठाडै भनेछन्, “राजाले धेरै जाँड खानुहुँदैन । राजाले त देश पो चलाउनुपर्छ ।”

रानी ऐश्वर्य पनि त्यहीं रहिछन्, प्रतिवाद गर्दै भनिछन्, “राजाले ड्रिङ्क नगरे कसले गर्छ त ? फेरि यो जाँड होइन, ब्राण्डी हो ।” टंकप्रसादले पनि तत्काल भनिहाले, “ब्राण्डी भने पनि ह्विस्की भने पनि असली नाम त जाँडै हो नि ! यसले पनि नशा दिने त हो ।”

त्यति कुरा भएपछि राजा–रानीलाई दर्शन गरी उनी दरबारबाट निस्केछन् । मलाई थाहा भएसम्म टंकप्रसाद मदिरा पिउँदैनथे । उनी शिष्टाचार त राख्थे, तर आफूलाई चित्त नबुझ्ेका कुरा निर्भीकतासाथ प्रस्तुत गर्न पछिपर्दैनथे ।

राजा–टंकप्रसादः न नजिक न टाढा

राणाशासन विरोधी आन्दोलनकै बेलादेखि सक्रिय प्रजातन्त्रवादी नेता टंकप्रसाद आचार्य राजा वीरेन्द्रअघि महेन्द्रका लागि पनि सम्मानित थिए । राजा महेन्द्रले उनलाई २०१२ माघमा प्रधानमन्त्री बनाए पनि ‘समयमा आम निर्वाचन गर्न नसकेको’ भनी २०१४ असारमा पदबाट हटाए । तर, महेन्द्रले बेलाबेलामा उनको राय लिने गर्थे । राजा र टंकप्रसादको सम्बन्ध अनौठो खालको थियो, कहिले नजिक, कहिले टाढा जस्तो ।

नेपालमा भूमि समस्या पहिल्यैदेखि हो । पञ्चायतकालमा एकातिर राजपरिवारको बिर्ता जग्गाको समस्या थियो भने अर्कातिर रैकर, गुठी, उखडा, किपट, जिरायत आदि कुराले भूमिहीनको समस्या चर्को थियो । यो समस्या समाधानका लागि केही कदम नचाले पञ्चायत शासन नै धरमर हुने ठानिएछ । पहिले प्रधानमन्त्रीबाट हटाइएका टंकप्रसाद त्यस क्रममा उपयुक्त व्यक्ति ठहरिए । राजा महेन्द्रले उनको अध्यक्षतामा २५ जेठ २०१८ मा १३ सदस्यीय भूमिसुधार कमिशन बनाए । कमिशनका सदस्यहरूमा दुर्गानन्दप्रसाद सिंह, अर्थ र कृषि मन्त्रालयका प्रतिनिधि, वासु पासा, टेकबहादुर पन्थी, दयानिधि शर्मा, खड्गबहादुर सिंह, बीबी सुब्बा, पीयूषराज, गजेन्द्रनारायण सिंह, महेशचन्द्र रेग्मी, नरबहादुर थापालगायत थिए । यीमध्ये केही त स्वयं धेरै जग्गा भएका व्यक्ति थिए ।

जुद्धशमशेरको घोडाको मूल्य

टंकप्रसादले भने जस्तै ब्राण्डी, ह्विस्की, रक्सी जे जे नामले सम्बोधन गरे पनि, ‘होली वाइन’ भन्दै ‘पवित्र’ विशेषण लगाए पनि आखिर मदिराकै प्रकार हो । मदिराले लट्ठिएको मान्छे के के भन्छ के के !

उहिले जुद्धशमशेर पाल्पा जाँदा उनी चढेको घोडा देखाउँदै एउटा जँड्याहाले सोधेछ, “यो घोडाको मोल कति ?” श्री ३ जुद्ध रिसाएर जँड्याहालाई थुन्न लगाएछन् । भोलिपल्ट बिहान त्यो व्यक्तिलाई हाजिर गराएर सोधेछन्, “हिजो राति घोडाको मूल्य सोधेको होइन ? किन्ने हो घोडा ?” त्यो जँड्याहाले जुद्धलाई सलाम ठोक्दै भनेछ, “सरकार, घोडा किन्ने मान्छे त राति नै गइसक्यो ।” जुद्धशमशेर हाँसेछन् र आइन्दा बढी रक्सी नखानू भनेर थुनामुक्त गरे रे !

राजा वीरेन्द्रलाई पनि राजा भएपछि राज्य सञ्चालन गर्दा अनेक थोक आइपर्छ, त्यसैले बढी मदिरा नखानू भनेर टंकप्रसाद आचार्यले सम्झएका थिए रे ! अन्ततः पारिवारिक भोजको मादक माहोलमा १९ जेठ २०५८ मा राजा वीरेन्द्र र उनको वंश विनाशै भयो ।

comments powered by Disqus

रमझम