३० भदौ २०७० | 15 September 2013

बढ्दो आकर्षण

Share:
  
- ऋषिराम कट्टेल
युवा कलाकारहरूको आगमनले नेपाली शास्त्रीय संगीतलाई फराकिलो बनाउँदैछ ।

कुनै समय उमेर छिप्पिएका साधकहरूको पेवा जस्तो ठानिएको नेपाली शास्त्रीय संगीतमा युवा कलाकारहरूको आगमन आफैंमा शुभसंकेत भएको छ । वरिष्ठ साधक डा. ध्रुवेशचन्द्र रेग्मी यसलाई कलाकारहरूले शास्त्रीय संगीतको महत्व बुझ्न थालेको परिणाम मान्छन् । डा. रेग्मी भन्छन्, “शास्त्रीय संगीत हरेक किसिमका संगीतको व्याकरण भएको बुझाइ बढेको छ ।” (हे. बक्स)

तस्वीरहरुः ऋषिराम कट्टेल
शास्त्रीय गायिका तेजवती जोशी र मालती आचार्य एक शास्त्रीय संगीत कार्यक्रममा प्रस्तुत हुँदै । साथमा वरिष्ठ तबलावादक होमनाथ उपाध्याय, शास्त्रीय संगीतका गुरु गायक विनय बर्मा लगायत ।
डा. रेग्मीले अहिले शास्त्रीय संगीतमा आइरहेका युवा कलाकारहरूमा समर्पणको पर्याप्त लक्षण देखेका छन् । सबै प्रकारका संगीतको आधार मानिने शास्त्रीय संगीतमा युवा निर्लिप्तता बढेको राजधानीमा भइरहेका यस सम्बन्धी गतिविधिले पनि देखाउँछन् । अहिले एक से एक नयाँ कलाकार देखिन थालेका छन्, जसमा शास्त्रीय संगीतका गुरुहरू धेरै आशावादी छन् । कलाकार मात्र हैन यसका अनुरागी पनि बढेको किराँतेश्वर संगीत आश्रमकी महासचिव सरिता मिश्र बताउँछिन् । उनी भन्छिन्, “मूर्झाए झैं लाग्ने नेपाली शास्त्रीय संगीतमा दुई÷चार वर्षयता पुनर्जागरण आएको छ ।”

शास्त्रीय युवा लहर

अब्बल बाँसुरीवादक नागेन्द्र राई र तबलावादक प्रमोद उपाध्याय वरिष्ठ सितारवादक ध्रुवेशचन्द्रका साथ ।
स्वर्गीय अतुल गौतम सहित आजका चर्चित साधकहरू सरिता मिश्र, विनय बर्मा, शेषनारायण श्रेष्ठ, पंकजप्रकाश नेपाल लगायतले २०४५ सालमा पशुपति क्षेत्रमा रहेको अतुलको घरमा शास्त्रीय संक्रान्ति कार्यक्रम शुरु गरेका थिए । २०४८ मा किराँतेश्वर आश्रममा फुलमून कन्सर्ट नाममा हरेक महीनाको पूर्णिमामा शास्त्रीय संगीत कार्यक्रम शुरु गर्ने पनि यही समूह थियो, जुन निर्विघ्न संचालनमा छ । २०४९ मा पशुपति संगीत कला प्रतिष्ठानले हरेक महीनाको एकादशीमा अर्को शास्त्रीय संगीत कार्यक्रम शुरु ग¥यो । तर, यसबीचमा सीमित कलाकार, प्रचार–प्रसारको कमी र आर्थिक अभावका कारण शास्त्रीय संगीतको सरगर्मी शिथिल हुनपुगेको थियो ।

तर, अहिले यो क्षेत्रमा प्रष्टै अनुभव हुनेगरिको गतिविधि हुन थालेको पद्मकन्या बहुमुखी क्याम्पसका संगीत विभाग प्रमुख धनबहादुर गोपाली बताउँछन् । शास्त्रीय संगीतका वरिष्ठ कलाकर गोपाली नेपाललाई अहिले ज्ञाता भन्दा पनि राम्रो प्रयोक्ता र गायक–गायिका आवश्यक भएको बताउँछन् । अहिले बढेका कलाकार र जनरुचिले त्यस्तो सम्भावनालाई बलियो बनाएको उनको मूल्यांकन छ । नभन्दै अहिले राजधानीमा शास्त्रीय संगीतका १४ वटा नियमित कार्यक्रम भइरहेका छन् । (हे. बक्स) नयाँ कलाकारका लागि यी कार्यक्रमहरू गजबका ‘प्लेटफर्म’ भएका छन् भने कतिपय नयाँले आफैं नयाँ कार्यक्रम शुरु गरेका छन् । मुलुक गणतन्त्र भएपछि बन्द भएको नारायणहिटीको शास्त्रीय संगीत कार्यक्रमलाई युवा कलाकारहरूको संस्था ललित सांस्कृतिक प्रतिष्ठानले पुनर्जीवन दिएको छ । संगीत प्रवीण नरराज ढकाल स्मृति प्रतिष्ठानले शोभा भगवतीमा नियमित शास्त्रीय संगीतको तयारी गर्दैछ ।

किराँतेश्वर संगीत आश्रम पशुपतिमा शास्त्रीय संगीतको आनन्द लिंदै ।
कुनै वेला शम्भुप्रसाद मिश्र, साम्बदेव सापकोटा, होमनाथ उपाध्याय, उमा थापा, नरराज ढकाल, रंगराव कादम्बरी, भवनाथ उपाध्याय, मोहनप्रसाद जोशी, मोहनसुन्दर श्रेष्ठ लगायतले धानेको नेपाली शास्त्रीय संगीतमा अहिले युवापिंढीको लर्को लागेको छ । किराँतेश्वर संगीत आश्रमकी महासचिव मिश्र यो लर्कोमा होनहार र समर्पित कलाकारहरूको संख्या उल्लेख्य रहेको बताउँछिन् । मिश्र लगायतका अहिलेका शास्त्रीय संगीतका गुरुहरूको मूल्यांकनमा यी युवामध्ये गायनमा रमेश पोखरेल, श्री केसी, मनमोहन थपलिया, सीता थापा, मालती आचार्य, तेजवती जोशी, सुजाता बर्मा होनहार हुन् । त्यसैगरी; मनोज गौतम, प्रमोद उपाध्याय, मिलेश तण्डुकार, अनन्त प्रजापति, जगन्नाथ धगौडा, सन्तोष बर्मा तबलाका प्रतिभा हुन् भने दुर्गा खतिवडा, नागेन्द्र राई, धनबहादुर गुरुङ, उमेश पण्डित, अमृता उप्रेती, सरोज अधिकारी बाँसुरीका । डा. अन्जु उप्रेती, रामकुमार अर्याल, डा. श्रवण जोशी, सीतामैया राजचर सितारका सितारा हुँदैछन् । यीमध्ये धेरैजसो भारतमा विम्युज, एमम्युज गरेर आएका प्रतिभा हुन् भने अन्जु उप्रेती र श्रवण जोशी संगीतकै विद्यावारिधि हुन् ।

शिव परियार, मदन गोपाल, राज सिग्देल आदि अहिलेका चर्चित गायकहरूको आधार पनि शास्त्रीय संगीत नै हो । शास्त्रीय गायनमा चर्चित रमेश पोखरेल, श्री केसी, मनमोहन थपलिया, मालती आचार्य, सुजाता बर्मा लगायतका कलाकारले सुगम संगीतमा पनि कमाल देखाउन थालेका छन् । “तर, नेपाली संगीतमा यिनीहरूको प्रभाव देखिन केही समय लाग्नेछ”, शास्त्रीय संगीतका गुरु विनय बर्मा भन्छन्, “किनभने, नेपालमा शास्त्रीय संगीतको राम्रो ज्ञान नभएकाहरूले चलाएको सिक्का चौतर्फी छरिएको छ ।”


बल्ल महत्व बुझ्न थाले

डा. ध्रुवेशचन्द्र रेग्मी,

वरिष्ठ सितारवादक

बूढापाकाले मात्र गाउने÷बजाउने हो शास्त्रीय संगीत भन्ने आम सोचाइ थियो । अहिले शास्त्रीय संगीतको अध्ययन÷साधना सबै कलाकारले गर्नुपर्छ भन्ने बुझाइ देखिएको छ । पहिला सीमित कलाकार थिए भने अहिले यो विधाको गरिमा बढाउन धेरै तन्नेरी आएका छन् । नियमित शास्त्रीय कार्यक्रमसँगै श्रोता पनि उत्तिकै बढेका छन् । शास्त्रीय संगीतको अध्ययन नगरेका कलाकारहरूलाई पनि यो जान्नै पर्ने विद्या रहेछ भन्ने लाग्न थालेको मैले बुझिरहेको छु । तर, २–४ महीना सारेगम रटेर गीत गाउने कलाकार एक–दुई वर्षमा हराइहाल्छन् । कलाकारलाई साधनाबाट आउने कालजयी सिर्जनाले टिकाउने हो । शास्त्रीय संगीत त्यस्तो सिर्जना गर्न सिकाउने व्याकरण हो । यसले पुरातनमा टेकेर नूतन सिर्जना गर्न सिकाउँछ ।


शास्त्रीय कार्यक्रम

  • पाटनढोकाको यलमाया केन्द्रमा हरेक महीनाको २ गते यलमाया क्लासिक

  • गौशालाको नेपाल संगीत विद्यालयमा हरेक अंग्रेजी महीनाको १ तारिखमा शास्त्रीय सुधा

  • बत्तीसपुतलीको राम मन्दिरमा हरेक औंसीमा संगीत सन्ध्या

  • पुल्चोकको कलानिधि संगीत महाविद्यालयमा हरेक महीनाको पहिलो शुक्रबार

  • पशुपतिको पशुपतिनाथ संगीत कला प्रतिष्ठानमा हरेक एकादशीमा

  • ललितपुरको सन्तानेश्वर झरुवारासीमा हरेक महीनाको पहिलो र तेस्रो सोमबार

  • पुल्चोकको उस्ताद गणेशलाल स्मृति प्रतिष्ठानमा हरेक महीनाको शुक्ल चतुर्दशीमा

  • भीमसेनगोलाको शिव मन्दिरमा हरेक महीनाको शुक्ल पञ्चमीमा

  • कपन बगलामुखी मन्दिरमा हरेक महीनाको अन्तिम शनिबार कपन सङ्गीत सरोवर

  • नारायणहिटीमा हरेक एकादशीमा नारायणस्थान भक्ति तथा शास्त्रीय संगीत

  • कुपन्डोलको हरिहर मन्दिरमा हरेक महीनाको अन्तिम शनिबार

  • पशुपति राम मन्दिरमा हरेक महीनाको पहिलो नवमीमा

  • पशुपतिको विश्वरुप मन्दिरमा हरेक नवमीमा

comments powered by Disqus

रमझम