३० भदौ २०७० | 15 September 2013

राष्ट्रसंघीय सम्मेलनमा नेपाली युवा

Share:
  
- ङिमा पाख्रिन, अमेरिका
अमेरिकामा रहेका १६ नेपाली तन्नेरीले संयुक्त राष्ट्रसंघको १२औं युवा सम्मेलनमा नेपालको प्रतिनिधित्व गरे ।

तस्वीरहरुः लुइसाङ वाइबा
शिला स्याङतान ।
राष्ट्रसंघीय सहस्राब्दी विकास लक्ष्यको उपलब्धिलाई लिएर न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा २३–२५ साउनमा आयोजित छलफलमा भर्खरै कलेज प्रवेश गरेका नेपाली तन्नेरीहरू सहभागी भए । नेपाली युवाको प्रतिनिधित्व गरेका उनीहरूले सम्मेलनमा आजको परिप्रेक्ष्यमा युवा जगतको भूमिकाबारे छलफल चलाए । सम्मेलनमा न्यूयोर्क, बोस्टन, पेन्सिल्भेनिया लगायतका राज्यमा बसोबास गर्ने नेपाली तन्नेरीहरूले ६५ देशका २००० तन्नेरीसँग आफ्ना अनुभव र सोचहरू आदानप्रदान गरेका थिए ।

सहभागीमध्येकी एक शिला स्याङतान (२२) ले केही नगरी बस्नुभन्दा सकेको कुरा गर्दै जानुपर्ने थाहा भएको बताइन् । पेन्सिल्भेनिया राज्यमा बाबुआमासँगै बस्दै आएकी काभ्रेकी शिला नर्सिङकी विद्यार्थी हुन् । उनी क्याफेमा आंशिक काम गरेर पढाइ खर्च जुटाउ“छिन् । अर्का सहभागी इन्द्रजीत गुरुङ (१८) ले सम्मेलनले आफूमा भएको लज्जालु स्वभाव हटाएको अनुभव सुनाए । कम्प्युटर साइन्सका विद्यार्थी उनी न्यूयोर्कमा प्राविधिक सहायकको काम पनि गर्छन् । आफ्नो विचारलाई सानो सम्झिन नहुने बताउने उनी भन्छन्, “धेरै युवाले आफूले जानेको सानै काम गरेर पनि समाजलाई ठूलो योगदान दिएका रहेछन् ।”

फिलाडेल्फियामा दन्तचिकित्साकी विद्यार्थी वर्षा मोक्तान (२३) ले सम्मेलनबाट आफूले सक्ने काम गर्दै अगाडि बढ्ने प्रेरणा मिलेको बताइन् । तर, सहस्राब्दी विकासको लक्ष्य भेट्ने सवालमा नेपाल निकै पछाडि रहेको अनुभव पनि भएको उनले बताइन् । “अरु देशमा हामीभन्दा कम उमेरकाहरूले पनि धेरै काम गरिसकेका रहेछन्”, मिस नेपाल–अमेरिका २०१२ की प्रतिस्पर्धी वर्षा भन्छिन्, “चूप लागेर बस्न नहुने रहेछ ।”

आजका युवालाई भोलिका नीतिनिर्माता मानेर राष्ट्रसंघले वर्षेनि यस्तो सम्मेलन आयोजना गर्ने गरेको छ । यसपालिको युवा सम्मेलनमा गरीबी उन्मूलन, प्राथमिक शिक्षा, बाल मृत्युदर लगायतका विश्वका ८ मुद्दामा छलफल भएको थियो ।

ङिमा पाख्रिन, न्यूयोर्क

comments powered by Disqus

रमझम