१५-२१ पुस २०७५ | 30 Dec 2018 - 5 Jan 2019

चिठीमा आधा नोट

Share:
  
- भैरव रिसाल
भारतमा बसेकाहरूसँग रकमको व्यवहार गर्दा सिङ्गो नोट नपठाई बीचमा काटेर दुई खेपमा आधा–आधा नोट पठाउनुपर्ने तरिका कम्ता रोचक छैन !

सन् १९४३ ताका चल्तीमा रहेको भारु १०० को नोट ।
नेपालले कागजी नोट चल्तीमा ल्याउनु अघि भारतीय नोटमा निर्भरता थियो । ब्याङ्किङ व्यवस्था नभएको राणाकालीन त्यो समयमा भारतमा पढ्न बसेकालाई र व्यापारिक कारोबारका लागि रकम पठाउनुपर्दा अनौठो तरिका अपनाइन्थ्यो । भारु १०० को नोट दुई टुक्रा पारेर पहिले एक टुक्रा हुलाकबाट पठाउने र त्यो प्राप्त भएको चिठी उताबाट आएपछि अर्को आधा भाग पनि पठाउने गरिन्थ्यो । सिङ्गो नोट पठाउँदा हराउने वा चोरी हुने डरले त्यो जुक्ति अपनाइएको रहेछ । समय अनुसार उपाय निकाल्ने मानव मगजको खेल नै हो ।

भारतमा नोटका दुवै टुक्रा पुगेपछि त्यहाँका ब्याङ्कमा लगी आफूलाई आवश्यक दरका नोट साटेर व्यवहार चलाउने गरिन्थ्यो । यो कुरा मैले नेपालका पहिलो अर्थ सचिव र पहिलो गभर्नर हिमालयशमशेर राणाबाट सुनेको हुँ, रेडियो सगरमाथा को ‘उहिले बाजेका पालामा’ कार्यक्रममा । उनले अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन गर्न भारतको बम्बई (हाल मुम्बई) बस्दाको अनुभव सुनाएका थिए ।

त्यतिबेला नेपालले कागजी नोट चल्तीमा ल्याएको थिएन । नेपाली नोट त श्री ३ जुद्धशमशेरको कार्यकालको अन्ततिर वि.सं. २००२ असोजदेखि प्रचलनमा आएको हो । त्यसअघि धातुका सिक्का मात्र थिए । शुद्ध चाँदी प्रयोग गरी एक तोलाबाट एक रुपैयाँको डबल र आधा तोलबाट पचास पैसाको मोहर तथा अन्य धातुका २० पैसा र १२ पैसासम्मका सिक्का हुन्थे । यस्तै, तामाका पाँच पैसा, दुई पैसा र एक पैसाका ढ्याक टकमरी गरिन्थ्यो । यदाकदा खोटा सिक्काका कारोबारीहरूले चाँदी थोरै हाली अरू सेतो धातु मिसाएर सिक्का बनाएको खबर सुनिन्थ्यो । सिक्का सक्कली हो कि नक्कली भन्ने निक्र्योल गर्न आवाज आउने गरी बजाइन्थ्यो । राम्ररी बजेन भने खोटो ठहरिन्थ्यो ।

भारतमा अध्ययन गर्न बस्दा काटिएको भारु नोट पाएर काम चलाउनेमा राजा महेन्द्रका निजी सचिव लोकदर्शन बज्राचार्य पनि पर्दा रहेछन् । लोकदर्शनले २०७० सालमा प्रकाशन गरेको संस्मरणात्मक पुस्तक जीवनका पानाहरू मा इलाहाबादको के.पी. कलेजमा आईएस्सी अध्ययन गर्दाको अनुभव उल्लेख गरेका छन् । उनले लेखेका छन्, “त्यसबेला भारु १०० पठाउन नहुने भएकोले बीचमा काटेर दुई पटक पठाउने गरिन्थ्यो । उक्त नोट ब्याङ्कमा देखाएपछि त्यहाँबाट सटही भुक्तानी दिइन्थ्यो ।”

औषधिका पुराना व्यापारी पुष्पलाल राजभण्डारीको कथा पनि त्यस्तै रहेछ । औषधि खरीद गरेपछि रकम भुक्तानी गर्न आधा–आधा नोट पठाउने प्रक्रिया अपनाउनुपर्ने रहेछ । उनले काठमाडौंमा औषधिको व्यापार शुरू गर्दा नेपाल–भारत सीमा रक्सौलदेखि नै भरियालाई बोकाएर ल्याउनुपर्दोरहेछ ।

श्री ३ हरूको कमाउने काइदा

राणाका श्री ३ हरूले पैसा कमाउने अनेक उपाय खोज्थे । टकमारी गर्ने अर्थात् सिक्का बनाउने कामबाट उनीहरू धन कमाउँथे । खासगरी चन्द्रशमशेरको पालादेखि त्यस्तो कमाउने काइदा शुरू भएको मानिन्छ । उनीहरू भारतबाट चाँदी ल्याएर एक रुपैयाँको डबल, ५० पैसाको मोहर बनाएर नाफा कमाउँथे । चाँदी सस्तोमा पाइन्थ्यो । तोलाको एक रुपैयाँ पनि नपर्ने, ७०/७५ पैसामै पाइने । डबल र मोहर बनाउँदा तोलाको २५÷३० पैसा नाफा हुने भएकाले कमाउने काइदा खूब जमेको थियो ।

नोटकै अर्को रमाइलो कथा छ । तेञ्जिङ नोर्गे र सर एडमण्ड हिलारीले सगरमाथा आरोहणको प्रयास गर्दा साढे ६ दशकअघिको समयमा आरोहणमा जानेहरूले धातु मुद्रा नै लैजानुपथ्र्यो । हिमाली भेगका बासिन्दाहरूले कामको ज्याला र सामान बिक्रीबापत कागजी नोट लिंदैनथे । त्यसैले अरू सरसामान बोक्न जस्तै डबल र मोहरका सिक्का बोक्न पनि भरिया लैजानुपथ्र्यो । कस्तो जमाना थियो !

comments powered by Disqus

रमझम